नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार शपथ लिँदै

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार (आज) कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ लिँदैछन्।

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार (आज) पद तथा गोपनीयताको शप लिँदै छन्। 

राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्दैछ। 

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्थाअनुरूप उनले शपथ लिँदै छन्। राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्। उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन्। पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए।