काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिएका छन्।
पौडेलले सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिएका हुन्।
फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलले एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका थिए।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।
समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष, पूर्वराष्ट्रपति डा रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सहभागी थिए।
त्यस्तै, समारोहमा उपप्रधानमन्त्री, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुखहरू, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरू, सञ्चारकर्मीलगायत सहभागी थिए।
राष्ट्रपति पौडेलको शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्रीहरु लगायतले बधाई दिएका थिए। राष्ट्रपति पौडेलको सम्मानमा राष्ट्रपतिको कार्यालयले दिवाभोजको आयोजना गरेको छ।
सोही समारोहमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरेका थिए। त्यस अवसरमा नेपाली सेनाले विशेष सम्मान अर्पण गरेको थियो।
नेपालको संविधानमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ।
को हुन् पौडेल?
नेपाली कांग्रेसबाट झण्डै ६ दशक लामो सक्रिय राजनीति गरेपछि पौडेल नेपालको तेस्रो राष्ट्रपति बनेका हुन्। २००१ सालमा तनहुँ साविकको मिर्लुङ, बाहुनपोखरा र हालको व्यास नगरपालिका–८ मा जन्मिएका पौडेलको सक्रियतामा २०१६ सालमा पोखरामा हिमालयन छात्र संघ स्थापना भएको थियो। तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते दलहरूमाथि प्रतिबन्ध लगाउँदै पञ्चायती व्यवस्था लादेपछि पौडेल राजनीतिमा आएका थिए।
कांग्रेसमा रहेर सक्रिय राजनीति गरेकै कारण पञ्चायतकालमा उनले पटकपटक जेल जीवन बिताएका थिए। पार्टीका नेताहरूबीच विवाद हुँदा उनी मध्यमार्गी र समन्वयकारी भूमिमा देखा पर्थे।
पौडेल चारपटक प्रतिनिधिसभामा निर्वाचित भएका छन् भने दुईवटै संविधानसभा निर्वाचनमा विजयी भएका थिए। उनले सभामुखदेखि शान्ति समितिको संयोजकसम्मको भूमिका निभाए।
कुनै बेला कांग्रेस सभापति शेरबहादुर देउवाको विरोधीको रूपमा चिनिने पौडेल कांग्रेसको १३औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर देउवाको प्रतिस्पर्धी भएका थिए। तर पराजित भए।
१४औँ महाधिवेशनमा संस्थापनइतर समूहबाट सभापतिको उम्मेदवार बन्न नपाएपछि उनी देउवासँग निकट भए। गएको मंसिर ४ गतेको आमनिर्वाचनपछि संसदीय दलको नेताको चुनावमा उनी देउवाको प्रस्तावक बने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
