हामी महिनावारी तथा छाउ नबार्दा देउता रिसाउनेमा सतर्क छौँ। पूँजीवादी बजारवादले तय गरिदिएका सौन्दर्य मापनमा आफूलाई समाहित गराउने सवालमा पनि हतारमा छौँ।
महिलाहरूको हकमा नेपालमा अहिले के भइरहेको छ भनेर कसैले सोध्यो भने आउने धेरै उत्तरमध्ये एउटा उत्तर यो पनि हुनसक्छ: 'मिस नेपाल' प्रतियोगिताको तयारी भइरहेको छ। गत चैत १ गतेसम्म आवेदन म्याद रहेको सो प्रतियोगिताका लागि अहिले सम्भवतः छनौटका कामहरू भइरहेका होलान्।
मिस नेपालको लागि निश्चित योग्यता तोकिएका छन्: नेपाली नागरिकता या पासपोर्ट वाहक न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षको अविवाहित महिला। प्रतियोगितामा उल्लेखित 'योग्यता' भएकाले धेरै अन्य 'योग्य'सँग लड्नु/भिड्नु पर्नेछ। प्रतियोगितामा भाग लिने उत्कट लालसा हुँदाहुँदै यो ठाउँसम्म पहुँच नपाउनेहरू पनि प्रशस्तै होलान्।
मिस नेपाल केबल 'मिस नेपाल' चुन्न मात्र नभएर आयोजक र विज्ञापनदाता चुन्ने प्रतियोगिता पनि हो। प्रतियोगिताका सहभागीहरू रोबोटझैँ आयोजकको रिमोटमा हिँड्ने, खाने, लाउने, बोल्ने गरेबाट पनि त्यो सहजै प्रस्ट हुन्छ। निकै सकसपूर्ण परिधानमा सहभागीहरू देखिनुले महिलालाई 'आधुनिक पहिरन'मार्फत फेशन-व्यापारीले कज्याई राखेका छन् भन्ने बुझिन्छ।
प्रतियोगिताका आयोजकहरू यसलाई 'बौद्धिकताको परीक्षण गर्ने प्रतियोगिता'का रूपमा व्याख्यासमेत गर्छन्, तर युवतीहरूलाई चाहिनेभन्दा बढी 'डेन्टिङ पेन्टिङ' गर्दै 'जिरो फिगर' या 'सुगठित शरीर'मा नै हिँडाएबाट त्यो कुरा झुटो ठहर्छ। सोचनीय प्रश्न छ कि सहभागीले सामान्य र आरामदायी पहिरन लगाउन किन छुट छैन? प्रतियोगितामा महिलाले आफ्ना हाउभाउ पश्चिमा/बजारिया स्ट्यान्डर्ड अनुसार सीमित मान्छे सामु किन पस्कनुपर्छ?
हाम्रा लागि आन्तरिक प्रतियोगिता हुँदै 'विश्व सुन्दरी'सम्म पुर्याउनै पर्ने स्तरको गम्भीर महत्त्वपूर्ण प्रतियोगिता हो सौन्दर्य प्रतियोगिता? भन्नेले त यस्ता प्रतियोगिताले देशको नाम संसारमा चिनिन्छ, पर्यटक बढ्छन् र देश समृद्ध हुन मद्दत पुग्छ पनि भन्लान्। तर नेपालले युवतीहरूलाई र्याम्पमा हिँडाउँदै सौन्दर्य प्रतियोगितामा सहभागी गराउन थालेको तिसौँ वर्ष पुग्न थाल्यो, तर सोही कारण नेपालको पर्यटनमा योगदान भएको पुष्टि गर्ने खालका कुनै तथ्यांक अहिलेसम्म अहिलेसम्म प्राप्त भएको छैन। मिस नेपालमा सहभागी केही युवतीले आफ्नो आर्थिक-सामाजिक स्थितिमा सुधार गरे पनि उनीहरूले दाबी गर्ने गरेजस्तो नेपाली महिलाको अवस्था सुध्रनमा यसले भूमिका खेलेको छैन।
कहिलेकाहीँ लाग्छ यी आयोजक र सहभागीले यस देशका दलित, गरिब, किसान र भरिया महिलाहरूको विषयमा केही सोच्छन् कि सोच्दैनन् होला? गर्भमा छोरी भएको पत्ता लागेपछि हुने गरेको भ्रूणहत्याबारे के ठान्छन् होला?
राष्ट्रिय स्तरको मिस इङल्यान्ड नामक सुन्दरी प्रतियोगितामा भाग लिन सन २०१९ मा एक युवती आफ्नो प्राकृतिक छाला र सादा अनुहारका साथ पुगिन्। २० वर्षीय मेलिसा राउफ इङल्यान्ड जस्तो देशमा विना 'मेकअप' भाग लिन जाने कुरालाई धेरैले तारिफ पनि गरे। मेलिसा राजनीति विषयकी छात्रा थिइन्। इङल्यान्डको सुन्दरी प्रतियोगिताको ९४ वर्षे इतिहासमा पहिलो पटक कोही युवती विना मेकअप पुगेको थियो। नेपालमा पनि केही वर्ष पहिले एक सौन्दर्य प्रतियोगितामा भाग लिन सामान्य पोशाक र मेकअपमा आएकी युवतीलाई 'जज्'हरूले प्रतियोगिताको 'मर्यादा'को पाठ पढाएर फर्काएको खबर बाहिरिएको थियो।
सुन्दरी प्रतियोगिता आयोजकहरूका अनुसार प्रतियोगीहरूको व्यक्तित्व, बुद्धि, प्रतिभा र सवाल जवाफको समेत जाँच गरेर सुन्दरताको मापन गरिन्छ। सौन्दर्य प्रतियोगिताको विजेतालाई 'सुन्दरी' भनिन्छ। सुन्दरताभित्र पनि कपालको सुन्दरता, हाँसोको सुन्दरता, क्याटवाकको सुन्दरतालगायत शारीरिक विशेषता र चालढालजस्ता पक्ष जोडिएका हुन्छन्। महिलाको वक्षस्थल, कम्मर, नितम्बको नाप लिएर सुन्दरताको मुल्यांकन गर्छ, तर शारीरिक अपाङ्गता भएका तर प्रशस्त योग्यता भएका स्वाभिमान महिलालाई सुन्दरीमा छनौट गरेको हामीले अहिलेसम्म थाहा पाएका छैनौँ।
सन् १९५१ म बेलायतबाट सुरु भएको यस्तो प्रतियोगिता अहिले विश्वभर अनेक रूपमा सञ्चालनमा छ। विश्वव्यापी बजारीकरणको सिको गर्दै नेपालमा पनि सन् १९९४ देखि हिडन ट्रेजर नामक संस्थाले प्रत्येक वर्ष मिस नेपाल प्रतियोगिताको आयोजना गर्दै आएको छ। मिस नेपालकै सेरोफेरोमा क्षेत्रीय, जिल्ला स्तरीय, कलेज स्तरीय, जाति केन्द्रित प्रतियोगिताहरू सञ्चालन हुने गरेका छन्। कतिसम्म अनेक नाममा यस्ता खालका आयोजनाहरू दुधे बालक पढ्ने 'किन्डरगार्टन'सम्म पुगेका छन्।
सुन्दरी प्रतियोगिता महिलाको सौन्दर्य एवं चमकधमकपूर्ण शरीरमा नै केन्द्रित हुने गरेका छन्। केही गुनासा र विरोधको स्वर पनि आउन थालेपछि केही आयोजकले 'प्लस साइज मोडल प्रतियोगिता' तथा ट्यालेन्ट सोका नाममा सुन्दरी प्रतियोगितालाई निरन्तरता दिई राखेका छन्। यी प्रतियोगिताले अन्ततः सुन्दरताका नाममा 'ब्युटी प्रडक्ट' बेच्ने काम गरिरहेका छन् या सुन्दरताको कस्मेटिक भाष्यलाई प्रवर्द्धन गरिराखेका छन्।
पूँजीवादी विश्व अर्थतन्त्रले अन्धाधुन्ध रूपमा प्रकृति तथा जीव नष्ट गरेर बनाएका महिला लक्षित सौन्दर्य सामाग्रीहरूको भरमार उत्पादन गर्छ। ती उत्पादनको लक्षित बजारमा हाम्रोजस्तो गरिब देशका महिलासमेत पर्छन्। त्यसै पनि महिलाको आर्थिक अवस्था कमजोर छ, तर 'सुन्दर हुनुपर्ने' सांस्कृतिक दबाब छ संसारभर महिलालाई। महिला केन्द्रित हाम्रा मौलिक सौन्दर्य मान्यताले पहिलेदेखि नै हामीलाई गाँजेकै छ। महिलाको सुन्दरता र शृङ्गार पटार हाम्रा संस्कृतिसँग जोडिँदै आएका विषय हुन्।
हाम्रा संस्कृतिले हाम्रा जीवनशैलीबारे बताउँछन्। मानिसको जनजीवन, खानपान, चाडपर्व, नैतिक मूल्य, ज्ञान, अनुभव, विश्वास, व्यवहार र धर्मजस्ता कुरा संस्कृतिभित्र पर्दछन्। समय क्रममा यी कुरा परिवर्तन, परिमार्जन पनि हुँदै आएका छन्। हाम्रोमा सुन्दरतालाई झन्डै स्त्रीकै पर्यायवाचीका रूपमा बुझिन्छ। जस्तो कि, 'सुन्दर महिला सिडिओ भइन्, सुन्दरी महिलाले बन्दुक बोकिन्, उनको सुन्दरतामा मोहित नहुने कोही छैन' आदि आदि। कतिपय महिलाले स्वतन्त्रता र मानव गरिमाको निर्भीक र छुट्टै उडान भरेको भए पनि आम रूपमा तिनको परिचय सुकोमल, सुन्दर, दयालु र घरायसी सेवकका रूपमा अझै सीमित देखिन्छ।
पुँजीवाद र उपभोक्तावादको चर्को फ्युजनले संसारभर बस्तु उत्पादन र उपभोग बढिरहेको छ। पुँजीवादले विज्ञानको सहायताले अनेकौँ आकर्षक 'प्याकेजिङ'मा चाहिने-नचाहिने वस्तु बजारमा भित्र्याइरहेको छ। यस्तो अवस्थामा, मान्छे स्वस्थ भएर आफ्नो दैनिक कार्यमा डट्नु मात्र उसको सौन्दर्यभित्र पर्दैन। उसले बजारको लय समात्नुपर्छ, बजारका नयाँ ट्रेन्ड समात्नुपर्छ। भर्खरै आएका नयाँ मोडेलका डिभाइस र पहिरन किन्नुपर्छ। महिलाको लागि त 'मेन्टेन' यति आवश्यक छ कि शरीरको बाहिरी 'फिगर' मात्रै होइन, सौन्दर्य प्रसाधन, वस्त्र, आभूषण र ट्रेन्डको मेन्टेन। एकातिर यावत् विषय यस्ता प्रतियोगिताको लागि आवश्यक छन् भने अर्कातिर पुराना र हानिकारक मानिएका प्रथा पनि हामी सँगसँगै लिएर हिँडिरहेका छौँ।
हामी महिनावारी तथा छाउ नबार्दा देउता रिसाउनेमा सतर्क छौँ। असहाय, एकल या निमुखा महिलालाई बोक्सी भनेर दिसा पिसाब कोच्याउँदा हामी हत्तपत्त तरंगित हुँदैनौँ। तर पूँजीवादी बजारवादले तय गरिदिएका सौन्दर्य मापनमा पनि आफूलाई समाहित गराउन त्यत्तिकै हतारमा छौँ। कतिपय जड बनेर बसेका कुरीतिजन्य अभ्यासहरूलाई निरन्तरता दिँदै आधुनिकताको रंगमा पनि रंगिरहेका छौँ।
हाम्रो समाजमा गरिबी छ, जात व्यवस्था छ, बलात्कारजन्य अपराध दिनदिनै भइरहेका छन्। समुदायमा सचेतना छैन। बालिकाहरू भोग्न या भोग चढाउन पनि पछि पर्दैनन् अपराधी मानसिकताका अन्धविश्वासीहरू। दैनिक समाचारकै कुरा गर्ने हो भने एकातिर माताले कुटेकी १४ वर्षीय बालिकाको मृत्युको पनि समाचार छ भने अर्कोतिर यति जना युवतीहरू सुन्दरी प्रतियोगितामा सहभागी हुँदै भन्ने खबर पनि छ।
यस्तो परिस्थितिमा मिस नेपालको आयोजना र प्रतियोगिताले के साँच्चै नेपालका किशोरी, युवती अनि सम्पूर्ण महिलाहरूको प्रतिनिधित्व गर्ला? यस विषयमा मिस नेपाल आयोजना गर्नेले या सहभागी युवतीहरूले गहिरिएर सोचेका छन् कि छैनन् होला? जबकि, प्रदेश प्रदेशबाट मिस नेपालहरू खोजेर र्याम्पमा प्रस्तुत गरेझैँ गाउँ गाउँबाट गरिबी, अपराध, विभेद र सबै खालका हिंसाका कारण खोजेर त्यसको निवारणका लागि काम गर्ने जुझारु युवा युवती पनि हामीलाई चाहिएको छ।
भर्खरै जीवनको स्वच्छन्द उडान भर्न लागेका युवतीले कुनै पनि उपायले चर्चा र प्रसिद्धि खोज्नु स्वाभाविक नै हो तर यस्ता प्रतियोगितामा भाग लिइरहँदा तिनले पनि कतै आफू कुनै कोरा उत्पादनका लागि प्रयोग पो भइराखिएको छ कि भनेर सोच्नुपर्छ। 'सुन्दरी' हुन या यसमा भाग लिने हैसियतमा नपुगेका युवतीका निराशाबारे पनि तिनले सोच्नुपर्छ।
बजारले तोकिदिएको सौन्दर्य मानकका कारण, त्यो मानक अनुरूप खडा हुन नसक्नेहरू उल्टै मानसिक तनाव झेल्नु पो परेको छ कि? अर्को कुरा, सौन्दर्य प्रतियोगिताले महिलाले छोड्न चाहेको तर नसकेको पितृ सत्ता र चरम पुँजीवादलाई उल्टै मलजल पो थपिएको छ कि? यस्ता प्रतियोगिताहरूले 'कन्स्ट्रक्ट' गर्ने सुन्दरताको परिभाषाभित्र नपर्ने तर न्याय र समताका लागि लागिपर्ने महिलाहरूले उल्टै अपमानित पो हुनुपरेको छ कि?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
