ठाउँ–ठाउँमा भत्किएर ग्रामीण सडक जीर्ण बन्दै गएपछि अहिले पहाडी क्षेत्रमा जोखिमपूर्ण अवस्थामा यातायातका साधन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायीको गुनासो छ।
उदयपुर– पहाडी क्षेत्रका ग्रामीण सडक ग्राभेलिङ तथा कालोपत्रे नहुँदा यातायात व्यवस्था जोखिमपूर्ण बन्दै गएको छ। विशेषगरी जिल्लाका चार गाउँपालिकाका विभिन्न क्षेत्रमा सञ्चालन हुने यातायात व्यवस्था जोखिमपूर्ण रहेको हो।
रौतामाई गाउँपालिकाको मुर्कुची, पुवाँरे, डिल्लीबर माझखर्क सडक र लिम्चीङबुङ गाउँपालिकाको बासबोटे, माझखर्क, बलाम्ता र ताम्लिछा सडक ग्रामीण सडकको अवस्था नाजुक भएका कारण यातायात सञ्चालनसमेत जोखिमपूर्ण भएको यातायात व्यवसायी एवं चालकहरूले गुनासो गर्दै आएका छन्।
जिल्लाको उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा तथा ताप्ली गाउँपालिकाको नुनथला पिपलभञ्ज्याङ, रूपाटार ठानागाउँ सडकखण्ड अहिलेसम्म पनि कालोपत्रे हुन नसक्दा सडक भत्किएको तथा ठूला खाल्डा परेको कारण यातायात सञ्चालन जोखिमपूर्ण रहेको यातायात व्यवसायी कुमार राउतले बताए।
रौता, मुर्कुची पुवाँरे डिल्लीबर सडकखण्डको २७ किलोमिटर २०६६ सालमा नै कच्ची सडक निर्माण भएको भए पनि त्यसपछिका दिनमा सडकमा खाल्डा परेको र ठाउँ–ठाउँमा भत्किएको र जीर्ण अवस्थामा रहेको कारण यातायात सञ्चालन जोखिमपूर्ण बन्दै गएको मुर्कचीका यातायात व्यवसायी रूद्रबहादुर मगरले बताए। उनका अनुसार ग्रामीण सडकमा सामान्य लोड गाडी सञ्चालन गर्दा पनि धेरै जोखिम छ। ज्यान नै माया मारेर यातायात सञ्चालन गर्न बाध्य हुन परेको छ।
यस्तै रूपाटार, नुनथला पिलभञ्ज्याङ ग्रामीण सडकको २५ किलोमिटर सडक पनि जोखिमपूर्ण अवस्थामा रहेको ताप्लीका यातायात व्यवसायी जीवन तामाङ बताउँछन्। उनका अनुसार १५ वर्षअघिनै निर्माण भएको यस क्षेत्रका कच्ची सडकमा अहिलेसम्म पनि ग्राभेलिङ र कालोपत्रे भएको छैन।
वर्षौंदेखि यी सडकखण्डमा ठूला खाल्डा परेको, कतिपय सडकखण्ड भत्किएको र यसको पुनर्निर्माणसमेत नभएको कारण यातायात व्यवसायीले ज्यान जोखिम मोलेर यातायात सञ्चालन गर्न बाध्य हुनुपरेको अर्का यातायात व्यवसायी जीतबहादुर मगर बताए।
उदयपुर गढी गाउँपालिकाका अध्यक्ष मानबहादुर मगरका अनुसार जिल्लाको पहाडी क्षेत्रका चार गाउँपालिकाको झन्डै २५० किलोमिटर हाराहारीका कच्ची सडकमा ग्राभेलिङ र कालोपत्रेका लागि प्रदेश सरकारसँग पनि पटक–पटक अनुरोध गरिसकिएको छ।
रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगर भन्छन्, “प्रदेश सरकारसँग ग्रामीण सडक व्यवस्थापनका लागि पटक–पटक बजेट विनियोजनको लाग अनुरोध गरिएको तर अझै समय लाग्ने कारण ग्रामीण सडक व्यवस्थित हुन सकिरहेको छैन।”
गाउँपालिकाको बजेटले मात्र ग्रामीण सडक व्यवस्थापन हुन सम्भव नहुने भएकाले प्रदेश सरकारसँग बजेट सहयोगका लागि माग गरिएको तर प्रदेशले एकैचोटि बजेट व्यवस्थापन गर्न नसकेको कारण ग्रामीण सडक ओझेलमा परिरहेको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विक बताउँछन्।
विसं २०६५ देखि २०६७ सम्ममा उदयपुरको पहाडी गाउँपालिकामा झन्डै ३०० किलोमिटर ग्रामीण सडकखण्ड निर्माण भए पनि अहिले १५ वर्ष बितिसक्दा पनि ग्राभेलिङ तथा कालोपत्रे हुन सकेको छैन।
जसले जोखिमपूर्ण अवस्थामा रहेको ग्रामीण सडक जीर्ण बन्दै गएको छ। अहिले पहाडी क्षेत्रमा सञ्चालन हुने अधिकांश यातायात साधन जोखिमपूर्ण अवस्थामा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायीको गुनासो छ।
ग्रामीण भेगमा बिरामी लिन जान पर्दा एम्बुलेन्स सञ्चालनमा अवरोध हुने गरेको छ। एम्बुलेन्स चालकसमेत ज्यानको जोखिमका कारण पहाडी क्षेत्रमा जान नमान्ने गरेको मदन भण्डारी आँखा अस्पताल गाईघाटका अध्यक्ष तथा नेकपा (एमाले) उदयपुरका अध्यक्ष भागवत राउत बताउँछन्। रासस
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
