नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

मंगलबार नेप्से परिसूचक ५ अंकले बढेर २६१३ को बिन्दुमा कायम भएको छ भने ६ अर्ब १९ करोडको शेयर कारोबार भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ। मंगलबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। यस दिन नेप्से परिसूचक ५.‍०८ अंकले बढेर २६१३.०८ को विन्दुमा उक्लिएको हो।

विभिन्न ३११ कम्पनीका एक करोड १६ लाख २६ हजार २० कित्ता शेयर ६९ हजार ८४० पटक खरिद बिक्री हुँदा ६ अर्ब १९ करोड एक लाख ४१ हजार ८९१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि सोमबार ६ अर्ब ५७ करोड चार लाख ७७ हजार ८८६ रुपैयाँ बराबरको शेयर कारोबार भएका थियो।

यस दिन १२९ वटा कम्पनीको शेयर मूल्य घट्दा १०६ वटाको बढेको छ। आठ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

मंगलबारको कारोबारमा मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सप्तकोशी विकास बैंक ८.०६, न्यादी हाइड्रोपावर ७.५३, सीईडीसी होल्डिङ्स ६.९३ र नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले ५.८२ प्रतिशतले कमाएका छन्।

त्यस्तै, रिभर्स फल्स पावर ८.९६, मानुषी लघुवित्त ६.७५, जानकी फाइनान्सका लगानीकर्ताले ५.६७ प्रतिशतले गुमाएका छन्।

यस दिनको कारोबारमा पाँच वटा समूहको उपसूचक घटेको छ भने अरू सबैको उपसूचक बढेको छ। व्यापार २.१०, वित्त १.०३, जलविद्युत् ०.९२, म्युचुअल फन्ड ०.४८ र बैंकिङ समूहको उपसूचक ०.३५ प्रतिशतले घटेको छ। त्यस्तै, अन्य समूह २.७९, निर्जीवन बीमा १.७८, जीवन बीमा १.१०, उत्पादन तथा प्रशोधन ०.८९, होटल तथा पर्यटन ०.७८, लगानी समूह ०.७४, विकास बैंक ०.१९ र माइक्रो फाइनान्स ०.०३ प्रतिशतले बढेको छ।

यस दिन कारोबार रकमका आधारमा सबैभन्दा बढी सीईडीबी होल्डिङ्सको २३ करोड ७६ लाख ३५ हजार २९२ रुपैयाँ बराबर शेयर किनबेच भएको छ।