गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पतालको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्बन्धित जिल्ला समन्वय समिति प्रमुखलाई दिएको छ।
गण्डकी– गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पतालको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्बन्धित जिल्ला समन्वय समिति प्रमुखलाई दिएको छ।
समितिको संरचनागत सुधारका लागि प्रदेश सरकारले गत वर्ष जारी गरेको अस्पताल व्यवस्थापन समिति गठन आदेश–२०८० अनुसार नयाँ समिति गठन भएका हुन्।
यसअघि सरकारमा रहेका दल निकटका व्यक्ति समितिको पदाधिकारी र सदस्यमा नियुक्त हुँदै आएका थिए। मुस्ताङ, तनहुँ र बागलुङमा जिसस प्रमुखको अध्यक्षतामा समिति गठन भइसकेको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए।
“नयाँ गठन आदेशअनुसार बनेका समितिले अस्पताल सुधारमा तटस्थ र प्रभावकारी ढंगले काम गर्नेछन्”, उनले भने, “यसले राजनीतिक आधारमा हुने नियुक्तिको प्रक्रियालाई ताडेको छ।”
पुरानो समितिको कार्यकाल सकिनासाथ प्रदेश सरकार मातहतका अन्य अस्पतालहरूको व्यवस्थापन समिति पनि नयाँ प्रावधानअनुसार गठन हुने मन्त्री पाठकले बताए।
नवगठित समितिमा जिसस प्रमुखको अध्यक्षतामा सात सदस्य रहने व्यवस्था छ। समितिको सदस्यमा अस्पताल रहेको सम्बन्धित स्थानीय तहको प्रमुख/अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष तथा लेखा नियन्त्रक, उद्योग वाणिज्य संघको अध्यक्ष र सामाजिक क्षेत्रमा क्रियाशील स्नातक उत्तीर्ण एक महिला रहने व्यवस्था छ।
समितिको सदस्य सचिवमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रहने छन् । अस्पताल व्यवस्थापन समितिलाई चुस्त र प्रभावकारी बनाउन संरचनागत सुधार थालिएको मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बताए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलगायत सरोकार भएका पक्षको सुझावका आधारमा प्रदेश सरकारले नयाँ गठन आदेश जारी गरेको थियो।
यसअघि गठित कतिपय समितिका पदाधिकारी र सदस्यको मर्यादाक्रममा देखिएको असहजताले समितिको बैठक बस्नसमेत नसक्ने स्थिति देखिएको थियो। जिसस प्रमुख अस्पतालको अध्यक्ष हुँदा जिल्लाका अरू निकायसँग समन्वय गर्न पनि सहज हुने र मर्यादाक्रमको समस्या पनि हट्ने जनाइएको छ।
अस्पताल व्यवस्थापन समितिमा अहिले रहेका पदाधिकारी/सदस्यलाई लक्षित गरेर नभई अस्पतालको दीर्घकालीन हित गरेर सरकारले समिति गठनको नयाँ प्रावधान ल्याएको मन्त्री पाठकले बताए।
प्रदेश सरकारअन्तर्गतका अस्पतालबाट प्रवाह हुने सेवाको व्यवस्थापन तथा अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन समिति गठन हुने सो आदेशमा उल्लेख छ। गण्डकी प्रदेश विकास समिति ऐन, २०७७ को दफा ३ ले दिएको अधिकार प्रयोग गरेर सरकारले गठन आदेश जारी गरेको थियो। सोही गठन आदेशअनुसार बनेको बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पतालको व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले मंगलबार पदभार ग्रहण गरेका छन्।
नवगठित समितिका अध्यक्ष एवं जिसस प्रमुख अम्मरबहादुर थापाले अस्पतालको सेवा विस्तारलगायत व्यवस्थापकीय पक्षमा प्रतिबद्ध भएर काम गर्ने बताए। समितिको सदस्यमा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेललगायत रहेका छन्। उक्त पदस्थापन कार्यक्रममा मन्त्री पाठकले एउटै जिल्लामा एकभन्दा धेरै अस्पताल रहेको खण्डमा छुट्टै गठन आदेशबाट समिति बन्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
