शुरू भयो शहीद सप्ताह, विभिन्न कार्यक्रम गरेर मनाइँदै

प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ। पहिलो दिन शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थान टेकुस्थित उनको सालिकमा माल्यार्पण गरिएको छ।

फाइल तस्वीर

काठमाडौँ– मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा बिहीबारदेखि शहीद सप्ताह शुरू भएको छ। प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ।  

बुहीबार शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थान टेकुस्थित उनको सालिकमा काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोललगायत स्थानीयले माल्यार्पणका साथ श्रद्धाञ्जली अर्पण गरेका छन्। 

माघ १३ गते सिफल उकालो र १५ गते शोभा भगवतीमा कार्यक्रम हुनेछ। यस्तै, माघ १६ गते शान्ति बाटिकाबाट प्रभातफेरी गर्दै लैनचौरमा पुगेर शहीद स्तम्भमा सभा हुने महानगरले जनाएको छ।

१९५० सालमा बनारसमा जन्मिएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय थिए। उनलाई काठमाडौँको इन्द्रचोकबाट पक्राउ गरी जेलमा राखिएको थियो। राणा सरकारले १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो। 

शास्त्रीलाई मृत्युदण्ड दिएको उक्त स्थानलाई २०३५ सालमा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण गरेको हो।