धनुषाको छेडीपोखरीमा २००७ सालअगावै जंगल फडानी शुरू भएको थियो। फडानी नरोकिएपछि बस्ती उजाड मात्रै भएको छैन। स्थानीय विस्थापित नै भएका छन्।
धनुषा– झट्ट हेर्दा विश्वासै लाग्दैन, कुनै समय यहाँ बस्ती थियो। चुरे विनासका कारण कुनै बेला गुल्जार रहेको बस्तीको नामोनिसान छैन। यो धनुषाको तत्कालिन दिगम्बरपुर–४ छेडीपोखरी बस्ती हो।
यहाँका सम्पूर्ण गाउँले बसाइँ सरेर अन्यत्र गएका छन्। उनीहरु गाउँभन्दा दुई किलोमिटर पर अग्लो जमिनमा बस्न थालेका छन्। क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवा बजारमा रहेको सो ठाउँ ‘नयाँ टोल’ भनेर चिनिन्छ। सामुदायिक वन उपभोक्ता समिति महासंघ प्रदेश–२ का अध्यक्ष सोमप्रसाद शर्मा भन्छन्, “अचानक एक दिन बाढी आयो र बस्ती बगायो। पैँसठ्ठीभन्दा बढी घरपरिवार रहेको बस्तीमा अहिले खाली जमिन छ। ”
ठूलो क्षेत्र बगरमा परिणत भएको छ। २०४५ सालमा नदीले काटेर बगाइदिएपछि सारा गाउँ नै बगरमा परिणत भयो। अहिले यहाँ एउटा इनारको भग्नावशेष बाहेक बस्ती रहेको कुनै प्रमाण भेटिदैन। “यो सबै देख्दादेख्दै पनि हामीले चुरेमाथि खेलबाड गर्न छाडेका छैनौंँ”, अध्यक्ष शर्माले भने। अन्यत्र पनि यस्ता थुप्रै बस्ती विस्थापित बनेका छन्। तराई–मधेसमा चुरे दोहनको फरक–फरक रोचक र टिठलाग्दो दृष्य छन्।
केहीवर्ष अघिसम्म खोलामा नियमित बगिरहने जरुवाको पानी अनियन्त्रित उत्खनन र चुरे दोहनले बिलाएर गएको छ। खानेपानीका मुहान, पोखरी, इनार, बगिरहने पानी र डिप बोरिङ बन्द भएपछि तराई–मधेसका अधिकांश क्षेत्र मानव बसोबास र कृषि उत्पादनका लागि अयोग्य बनेका छन्। क्षीरेश्वरनाथ–८ मा रहेको यो गाउँको इतिहास २०० सय वर्ष पुरानो मानिन्छ। त्यसबेला थारू समुदायका मानिस भारतको मुंगेरबाट आएको बुढापाका बताउँछन्। स्थानीय शोभित चौधरीका बुढा हजुरबुवा अमृत पोद्धार (चौधरी) विर्तावाल थिए। यस भेगमा उनको ठूलो सम्मान थियो। पछि बिस्तारै यिनीहरूको प्रभाव घट्दै गएको देखिन्छ।
२००७ साल पहिले नै यहाँ जंगल फँडानी शुरू भइसकेको थियो। पाल्पाबाट १९९० सालतिर नै आएका डम्बरबहादुर खातीले पाल्पाका बडाहाकिम प्रताप शमशेरको संरक्षणमा जंगल फँडानी गरी हरिहरपुरमा नयाँ बस्ती बसालेका थिए। २००७ सालको क्रान्तिमा अग्रणी भूमिका खेल्ने धनुषा लोहना वभनगामा निवासी दिगम्बर झा क्रान्तिकालमा गठित जनसरकारका प्रभावशाली व्यक्तित्व थिए। आन्दोलनका क्रममा उनको (बलबहादुर खाती, लालबहादुर खाती र वीरबहादुर खातीसँग) निकट सम्पर्क भयो।
हरिहरपुर बस्ती बसेजस्तै जनसरकारका प्रभावशाली व्यक्ति मानिएका दिगम्बरले त्यस भेगमा जंगल फँडानी गरी नयाँ बस्ती विस्तार गरेकाले उनको नामबाटै बस्तीको नाम दिगम्बरपुर राखियो। पछि बलबहादुर खाती गाउँका जमिन्दार र हर्ताकर्ता भए। पहिला दिगम्बरपुरमा जलाद खोलाको चौडाइ ४०० मिटर मात्र रहेकामा अहिले हजार मिटरभन्दा पनि बढी भएको छ। बर्सेनि जलाद खोलाले ५–६ बिघा जग्गा कटान गर्ने गर्दछ। २०४५ सालमा आएको विनाशकारी बाढीले पूरा छेडीपोखरी गाउँ नै बगाएर लग्यो।
७४ वर्षीय ललितबहादुर बुढाथोकी ४५ मिनेट हिँडेर उजाडस्थल हेर्न आउँछन्। “हेर्दाहेर्दै सबैथोक लगिदियो”, बुढाथोकीले भने, “म मात्र होइन गाउँभरिका मानिस एकसाथ बर्बाद भयौँ।” रामेछापको नागदहबाट २०११ सालमा बुबाको काँध चढेर आउँदा ललितबहादुर सानै थिए। “बा आमा मिलेर खेतीपाती सुरु गर्नुहुन्थ्यो”, उनी सम्झन्छन्, “हामी त्यहीँ खेलेर हुर्कियाै।”
आमाबुबाको शेषपछि ललितका दाजुभाइले पनि त्यसै ठाउँमा कृषि कर्म अघि बढाए। जलाद खोलाको छेवैमा भएकाले यहाँ मनग्गे पानी थियो। गज्जबको खेतीपाती हुन्थ्यो। गाउँमै मूल फुटेर निस्केको पानीलाई बाँधेर सिँचाइ गरिएको थियो। त्यो सिँचाइले छेडीपोखरी मात्र नभई छिमेकको इच्छापुरका समेत १५० बिघाभन्दा बढी खेतलाई सिञ्चित गर्न मद्दत गरेको थियो।
“२०४२ ताकाको कुरा हो, सोझो नदी त हेर्दाहेर्दै नागदेबेली परेर बग्न थाल्यो। शुरूमा त गाउँको छेउतिर पेटी कटान गर्दै ल्यायो। २०४४ सालमा गाउँभरि नदी बग्न थाल्यो। अनि यहाँका बासिन्दाको उठिबास भयो ”, उनले भने। खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका उनले जानेको अरू कुनै काम थिएन। बिहे भएर गएकी छोरीले किनिदिएको १० धुर जग्गामा एउटा छाप्रो बनाएर श्रीमान् – श्रीमती बस्दै आएका छन्। “बिहान बेलुका यहीँ चिया बनाएर बेच्ने गर्छु। मुस्किलले जीवन चलिरहेको छ।”
यसरी विस्थापित हुनुपर्दाको समस्या उनलाई मात्र होइन, सम्पूर्ण गाउँलेलाई परेको छ। त्यो गाउँका कसैको पनि जग्गा जमिन अर्को गाउँमा थिएन। चारकिल्ला ठोकिएजस्तो थियो यो ठाउँ। यहाँ पहाडे र मधेसी परिवारको मिश्रित बसोबास थियो। छेडीपोखरीकै छेउमा रहेको इच्छापुरका बासिन्दा लक्ष्मीकुमार यादव भन्छन्, “गाउँ छेउको जलाद नदी एकतिरबाट मात्र बगेको थियो। अहिले त तीन वटा ठाउँमा पाँच सय मिटरभन्दा चौडा भाग नदीले ओगटेको छ।”
छेडीपोखरीमा नदी पसेर जलादले दोस्रो धार बनाएको थियो भने १० वर्षमा छेडीपोखरी र पुरानो नदीको बहावको बीचमा फेरि अर्को धार बनाइदियो। अहिले नदी योबीचकै धारबाट बगिरहेको छ। पछिल्लो समय नदीको तटबन्ध गरिए पनि कटान नरोकिएको समाजिक परिचालक लक्ष्मीकुमार बताउँछन्। राष्ट्रपति चुरे संरक्षण कार्यालयलगायत जिल्ला वन, भूसंरक्षण कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरेनरी अस्पताल तथा पशु सेवा केन्द्र कार्यालय, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन, जनताको तटबन्ध कार्यालयमार्फत चुरे संरक्षणका प्रयास भइरहेका छन्।
चुरे संरक्षणका निम्ति गम्भीर भएर सबै क्षेत्रबाट पहल नभए धनुषाको छेडपोखरी जस्तै धेरै गाउँ मरुभूमिमा परिणत हुने विज्ञहरुले औँल्याएका छन्। वातावरणविद्, चुरेका अनुसन्धानकर्ता डा विजयकुमार सिंह दनुवार भछन्, “जुन मात्रामा चुरेले विनास भोगिरहेको छ, त्यसको अनुपातमा संरक्षणको प्रयास असाध्यै झिनो छ।”
तीन दशकभित्र जलाद नदीले तीन वटा धार परिवर्तन गरेको छ। काठको चोरी निकासीलाई नियन्त्रण गर्न नसक्दा चुरे र त्यसभन्दा मुनिको भावर नांगो भइसकेको दनुवार बताउँछन्। वन फँडानीकै कारण जमिनले पानी परेपछि त्यसलाई सोस्नै छाडेको सिंहको भनाइ छ। वर्षामा आउने भेलले ढुंगा, माटो र बालुवा बोक्दै तल मधेसका खेतमा थुपार्ने क्रम बर्सेनि बढ्दै गएको छ। चुरेभन्दा माथिको महाभारत पर्वत शृंखलामा हुने गतिविधि पनि चुरे र तराई–मधेससँगै जोडिने विज्ञ सिंहको भनाइ छ।
महाभारतका पहाड नै फोरिए पनि अन्तिममा तराई नै मरुभूमिकरण हुनेछ। “महाभारतका पहाड उत्खनन गर्दा २५÷३० प्रतिशत मात्रै निर्यातयोग्य ढुंगा, गिट्टी निस्कन्छ, बाँकी ‘डेमरेज’ नदी–खोलामै मिसिएर तराईमा पुग्छ,” डां सिंह भन्छन्, “दर्जनौँ पहाड त्यसरी खोतलियो भने तराई पुरिन कत्ति पनि समय लाग्दैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
