काभ्रेको महाभारत जंगलमा ३ दिनदेखि डढेलो

खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित महाभारत सामुदायिक वनमा मंगलबार दिउँसोदेखि डढेलो लागिरहेको छ। 

काभ्रेपलान्चोक– काभ्रेपलान्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन। खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मंगलबार दिउँसोदेखि डढेलो लागिरहेको हो। 

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीको टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको जानकारी दिए। “सुरक्षाकर्मीलाई आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी बस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ,” उनले भने।

नियन्त्रणका लागि अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रजिअ ढकालले बताए। आगलागी भएको स्थानबाट बस्ती करिब तीन किलोमिटर दूरीमा छ। 

तत्काल आगलागी नियन्त्रण गर्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। हालसम्म कुनै मानवीय एवं पशुमा क्षति पुगेको खबर नआएको प्रहरीको भनाइ छ।