कञ्चनपुरमा पेस्तोलसहित ४ भारतीय नागरिक पक्राउ

कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट पेस्तोलसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रतीकात्मक तस्वीर

काठमाडौँ– पेस्तोलसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गए राति भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतीय यूके ०६ एआर ०८४६ नम्बरको कारलाई प्रहरीको टोलीले जाँच गर्दा पेस्तोल फेला पारेको हो।

कारको चालकको सिटपछाडिको भागको खल्तीमा पेस्तोल लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए। उनका अनुसार पेस्तोल फेला परेपछि कारमा सवार भारतको उत्तराखण्ड प्रदेशको उधमसिंह नगर जिल्ला प्रेमनगर खटिमा बस्ने वर्ष ३२ का सञ्जय जेठी, वर्ष ३४ का जीवन सिंह, वर्ष ३२ का कोमल विष्ट र वर्ष ३४ का उमेद सिंह अधिकारीलाई पक्राउ गरी अनुसन्धानको कार्य अगाडि बढाइएको हो।

कारमा भारतीय नागरिक हतियारसहित गइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले राति चारै जनालाई हतियारसहित पक्राउ गरेको हो।

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति पक्राउ
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका एक फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका–२ घर भई काठमाडौँको टोखा नगरपालिका–३ बस्ने विनोद पौडेल रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। 

“एनसीबी अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ गरेर निजलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ हिजो नेपाल फिर्ता ल्याइएको छ,” उनले भने। 

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका पौडेलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत पुस १२ गते पौडेलविरुद्ध रेड नोटिस जारी भएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

पौडेललाई सम्बन्धित कसुरबमोजिम कानूनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिआएका प्रहरीलाई बुझाइएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक आचार्यले बताए।