रुपन्देहीमा नेपाल र भारतका सैनिकको संयुक्त अभ्यास

नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ शुरू भएको छ। अभ्यासमा विपद् व्यवस्थापन, उपचार, प्रतिविद्रोह तथा प्रतिआतंकवादजस्ता विषय समावेश हुनेछन्।

काठमाडौँ- नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास शुक्रबार (आज) देखि रुपन्देहीको सालझण्डीमा शुरू भएको छ।

‘सूर्य किरण-१६’ नाम दिइएको संयुक्त सैन्य अभ्यास सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा शुरू भएको हो। 

नेपाली सेनाले एक विज्ञप्ति प्रकाशित गर्दै मध्यपश्चिम पृतनाका पृतनापति उपरथी याम प्रसाद ढकालले एक विशेष कार्यक्रमका बीच दुई देशका सेनाबीचको संयुक्त अभ्यासको शुभारम्भ गरेको जानकारी दिएको हो। 
 

नेपाली सेना र भारतीय सेनाबीच हरेक वर्ष हुने संयुक्त सैन्य अभ्यासको यो १६ औँ संस्करण हो। 

यसअघि ‘सूर्य किरण’को पन्ध्रौँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो।

संयुक्त अभ्यासमा विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरू समावेश हुने सेनाले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “संयुक्त अभ्यासमा फौजहरूले प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा अभ्यास गर्ने छन्।” 

यसका साथै अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरूको आदानप्रदानसमेत हुने सेनाले जनाएको छ। 

सैनिक अभ्यासले दुई देश बीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने तथा दुवै देशका सेनाहरू बीच आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ। 

अभ्यासमा नेपाली सेनाका तर्फबाट प्रमुख सेनानी विमल कुमार वाग्लेको नेतृत्वमा ३३४ जना तथा भारतीय सेनाको तर्फबाट कर्णेल हिमांशु बाहुगुणाको नेतृत्वमा ३३४ जना सहभागी रहेका छन्। अभ्यास आगामी पुस १४ गतेसम्म चल्नेछ। 

दुई देशका सेनाहरूले २०६७ बाट वार्षिकरूपमा आलोपालो गरी यस्तो अभ्यास गर्दै आएका छन्। हालसम्म दुवै देशमा गरी १५ पटक संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ।