ट्रम्पको निर्वासन अभियानअन्तर्गत सयौँ आप्रवासी पक्राउ: ह्वाइट हाउस

ह्वाइट हाउसका प्रेससचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले ५३८ जना अवैध आप्रवासी अपराधीलाई पक्राउ गरेको र सयौँलाई सैनिक विमानमार्फत देश निकाला गरिएको बताइन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान थालेसँगै सयौँ आप्रवासीलाई पक्राउ गरी केहीलाई सैनिक विमानमार्फत देशबाहिर पठाइएको ह्वाइट हाउसले जनाएको छ।

राष्ट्रपति ट्रम्पले शुक्रबार क्यालिफोर्निया र नर्थ क्यारोलिनाको आफ्नो पहिलो भ्रमण गर्ने तयारी गरिरहेका बेला आप्रवासीलाई पक्राउ गरिएको खबर सार्वजनिक भएको हो।

ह्वाइट हाउसका प्रेससचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले बिहीबार ५३८ जना अवैध आप्रवासी अपराधीलाई पक्राउ गरेको र सयौँलाई सैनिक विमानमार्फत देश निकाला गरिएको बताइन्। “इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको छ,” उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्।

ट्रम्पले चुनावी अभियानका क्रममा अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने वाचा गरेका थिए। यसै साता आफ्नो दोस्रो कार्यकालको शुरूआत गर्दै संयुक्त राज्य अमेरिका प्रवेशमा सुधार गर्ने उद्देश्यसाथ कार्यकारी निर्णयमा हस्ताक्षर गरेका छन्।

आफ्नो कार्यकालको पहिलो दिन नै राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा ‘राष्ट्रिय आपत्कालीन अवस्था’ घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका थिए। आप्रवासीलाई ‘आपराधिक एलियन’को संज्ञा दिँदै उनीहरूलाई देश निकाला गर्ने वाचासहित त्यस क्षेत्रमा थप सेना तैनाथ गर्ने घोषणा गरेका थिए। संयुक्त राज्य अमेरिकामा अनुमानित एक करोड १० लाख गैरकानूनी आप्रवासी छन्।

बिहीबार न्यूजर्सीको नेवार्क शहरका डेमोक्र्याटिक मेयर रास बाराकाले एक विज्ञप्ति जारी गर्दै भने, “अध्यागमन र भन्सार प्रवर्तन (आईसीई)का एजेन्टहरूले “एक स्थानीय प्रतिष्ठानमा छापा मारेको र बिनाकागजात वा अवैध कागजातवाहक विदेशी निवासीलाई हिरासतमा लिइएको छ।” 

बाराकाका अनुसार छापा मार्ने क्रममा पक्राउ परेकामध्ये एक जना अमेरिकी सेनाका भूतपूर्व सैनिक थिए। आईसीईले एक्समा अद्यावधिक गरेको रिपोर्टमा ‘५३८ जनाको गिरफ्तारी गरी र ३७३ जनालाई हिरासतमा राखिएको’ जानकारी गराइएको छ। आईसीईले आपराधिक अभियोगमा पक्राउ परेका र अमेरिकी कानूनअनुसार निर्वासित गर्न सकिने गैरनागरिकलाई हिरासतमा राख्छ।