सुप्रिम सहकारी ठगी प्रकरण : लम्बियो रवि लामिछानेको थुनछेक बहस

शुक्रबार थुनछेक बहस नसकिएपछि आइतबार बिहान उपस्थित हुने गरी रवि लामिछानेलाई परिवार र कानून व्यवसायीको जिम्मामा पठाइएको रुपन्देही जिल्ला अदालतले जनाएको छ।

रुपन्देही– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहस आइतबारसम्म लम्बिएको छ।

उक्त मुद्दाको थुनछेक बहस बिहीबार बिहानदेखि शुरू भएको थियो। जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा भएको थुनछेक बहस शुक्रबार पनि नसकिएपछि आइतबार १०ः३० बजे उपस्थित हुने गरी लामिछानेलाई परिवार र कानून व्यवसायीको जिम्मामा पठाइएको जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए।

लामिछाने बुधबार अदालतमा हाजिर भएका थिए। त्यस दिन लामिछानेको बयान सकिएपछि उनलाई परिवार र कानून व्यवसायीको जिम्मामा छाडिएको थियो।

शुक्रबार भएको बहसमा वादीका तर्फबाट तीन र प्रतिवादीका तर्फबाट तीन कानून व्यवसायीले बहस गरेको ज्ञवालीले बताए। उनका अनुसार आइतबार बहस सकिएमा थुनछेकको आदेश आउन सक्ने छ।

माघ ६ गते रूपन्देही जिल्ला अदालतमा लामिछानेसहितका व्यक्तिविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो। कार्यालयले सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाइएको छ। उनी यसअघि काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका मुद्दामा धरौटीमा रिहा भएका थिए।