महाभारत पर्वत शृंखलाको डढेलो हेलिकप्टरमार्फत नियन्त्रण प्रयास

जिल्लास्थित सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार भएका निकायले जनशक्ति परिचालन गर्दा पनि आगो नियन्त्रणमा ल्याउन नसकेपछि हेलिकप्टर मगाई निभाउने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए।

काभ्रेपलान्चोक– जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि लागेको आगो नियन्त्रण बाहिर गएपछि शुक्रबार हेलिकप्टरमार्फत निभाउने प्रयास गरिएको छ। गृह मन्त्रालयमार्फत उपलब्ध भएको सिम्रिक एयरको हेलिकप्टरले शुक्रबार बेथानचोक गाउँपालिकाको बस्ती नजिकिएको आगो नियन्त्रण गरेको हो।

खानीखोला गाउँपालिका–१ स्थित थामलेकडाँडास्थित महाभारत जंगलमा चार दिनअघि आगलागी शुरू भएको थियो। जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार भएका निकायले जनशक्ति परिचालन गर्दा पनि आगो नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले मन्त्रालयमार्फत हेलिकप्टर मगाई निभाउने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए।

हेलिकप्टरबाट गरिएको प्रयासले बस्ती नजिकको आगो निभाउन सकिएको हो। आगलागी बिहीबार साँझसम्ममा बेथानचोक–५, ३, १ र २ को सीमा क्षेत्रमा आइपुगेको थियो।

बस्ती नजिकको आगो नियन्त्रणमा आए पनि आगलागी शुरू भएको स्थान र आगो फैलिएका अन्य स्थानमा अझै नियन्त्रण गर्न नसकिएको अधिकारीले जानकारी दिए। उनका अनुसार हेलिकप्टरले आज २४ पटकमा उक्त क्षेत्रको आगो नियन्त्रणमा ल्याएको हो। यसअघि जिल्ला प्रहरी कार्यालय धुलिखेलले आगलागी नियन्त्रणभन्दा बाहिर गएको जनाउँदै आएको थियो।

अध्यक्ष अधिकारीले महाभारतको घना जंगलमा डढेलो लागेकाले यसको नियन्त्रण गर्न कठिनाइ भएकाले मन्त्रालयबाट हेलिकप्टरको सहायता मागिएको बताए। उनका अनुसार २ नं वडास्थित गुवाभन्ज्याङ पार्कमा निर्माण गरिएको पोखरीबाट पानी बोकेर हेलिकप्टरले महाभारतको सेतीभिर क्षेत्रको जंगलमा लागेको डढेलो निभाएको हो।

जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार १०० हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ। कार्यालय प्रमुख कृष्णबहादुर थापाले महाभारत सामुदायिक वनको दक्षिण भेगबाट शुरू भएको आगलागी बिहीबार साँझदेखि उत्तरी भेगतर्फ आइपुगेको जानकारी दिए।

उत्तरी भेग अलि चिसो र ओसिलो भएकाले वनमा आगो कम भएको भन्ने घटनास्थलमा रहेका कर्मचारी जानकारी दिएका उनले बताए। “हुरी बतास चलिरहेकाले आगो फैलन सक्ने जोखिम पनि उत्तिकै देखिन्छ”, उनले भने। उनका अनुसार आगलागीबाट के–कति क्षति भयो भन्नेबारे यकिन गर्न सकिएको छैन।

जिल्लाको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थामलेकडाँडामा आगलागीका कारण फैलिएको आगोले अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेपलान्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान बेथानचोक गाउँपालिकाले बिहीबार सूचनामार्फत आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई रोक लगाएको छ।

डढेलो नियन्त्रण गर्ने उद्देश्यले बिहीबार वन कार्यालयमा बसेको सुरक्षा प्रमुखको बैठकले वैकल्पिक सम्पूर्ण जनशक्ति परिचालन गर्ने निर्णय गरेको थियो। प्रजिअ ढकालका अनुसार बुधबार साँझदेखि स्थानीय सरकार, प्रहरी, नेपाली सेनालगायत स्थानीय आगो नियन्त्रण गर्न लागिरहेका छन्। 

जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट वन डढेलो नियन्त्रण सामग्री भएसम्म सुरक्षाकर्मीलाई उपलब्ध गराउने, वन कार्यालयको संयोजकत्वमा १३ वटै स्थानीय तह सुरक्षा निकाय, वन उपभोक्ता महासंघसँग समन्वयमा डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानूनी कारबाही गर्न सबडिभिजन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ।

आगलागी भएको स्थानबाट मानव बस्ती करिब चार किलोमिटरको दूरीमा रहेको जनाइएको छ। प्रहरीले भने आगलागीबाट हालसम्म कुनै मानवीय र वन्यजन्तुको क्षति नभएको जनाएको छ।