चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको छ।

फाइल तस्वीर

इनरुवा– केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ। 

बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो। चिसोका कारण इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागन्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा छन्। 

दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको स्थानीय मनोज यादवले बताए। अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण मानिसलाई घरबाट बाहिर निस्कनका लागि समस्या हुने गरेको छ। 

दैनिक मजदुरी गरेर गुजारा गर्दै आएकालाई समस्या भएको छ। चिसोलाई मध्य नजर गर्दै सशस्त्र प्रहरी बल–४ नम्बर गण सुनसरीले नागरिकलाई दाउरा वितरण गरेको छ। लौकही, घुस्की, देवानगन्जलगायत गाउँमा दाउरा वितरण गरेको हो।