हमासले बन्धक बनाएका ४ इजरायली महिला सैनिक रिहा

गाजा युद्धमा युद्धविराम सम्झौताअन्तर्गत हमासले बन्धक बनाएका चार जना इजरायली महिला सैनिकलाई रिहा गरेको छ।

तस्वीर : एपी

गाजा युद्धमा युद्धविराम सम्झौताअन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गरेको छ। लडाकु समूह हमासले शनिबार गाजा शहरमा चार महिला इजरायली सैनिकलाई रेडक्रसलाई सुम्पिएको हो। यसको बदलामा इजरायलले २०० जना प्यालेस्टिनी कैदी तथा बन्दीलाई रिहा गर्ने तयारी गरेको हो।

इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन्। कैदमा रहँदा अल्बाग १९ वर्षकी थिइन् अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन्।

यो आदानप्रदान इजरायल र हमासबीच गत आइतबारदेखि लागू भएको युद्धविराम सम्झौताअन्तर्गतको एक अंश हो। इजरायलको जेल सेवाका अनुसार रिहा भएका प्यालेस्टिनीमध्ये केही प्यालेस्टिनी गाजा जानेछन् भने बाँकी वेस्ट बैंकमा फर्किनेछन्।

इजरायलमा हमासको घातक आक्रमणपछि गाजामा बन्धक बनाइएका परिवारका सदस्य १५ महिनादेखि आफ्ना प्रियजनको पुनरागमनको पर्खाइमा छन्। बन्धक बनाइएकी कोहेनकी आमा विक्की कोहेनले भन्छिन्, “यो सम्झौता अन्तसम्म कार्यान्वयन नहुने चिन्ता र डरले हामी सबैलाई पिरोलिरहेको छ।”

गाजामा एक वर्षभन्दा लामो युद्धका कारण विस्थापित भएका परिवारहरू घर फर्कन चाहन्छन्। तर धेरैजसोको घर भग्नावशेषमा परिणत भएको छ। विस्थापित महिला थेक्रा कासेमले एएफपीसँग भनिन्, “हामीले फर्किने बारे सोच्यौँ भने पनि विनाशका कारण हामीले पाल टाँग्ने ठाउँ छैन।”

युद्धविराम सम्झौता तीन चरणमा लागू गर्ने सहमति भएको छ। गत आइतबारदेखि शुरू भएको पहिलो ४२ दिनको अवधिमा इजरायली जेलमा रहेका करिब एक हजार ९०० प्यालेस्टिनी कैदीको बदलामा ३३ जना बन्धकलाई फिर्ता गर्ने सम्झौतामा उल्लेख छ।

बन्धक बनाइएका तीन इजरायली एमिली डामारी, रोमी गोनेन र डोरोन स्टेनब्रेचर घर फर्किसकेका छन्। बदलामा अधिकांश महिला र नाबालिकसहित ९० जना प्यालेस्टिनीलाई रिहा गरिएको थियो।

अर्को चरणमा युद्धको थप स्थायी अन्त्यका लागि वार्ता हुनुपर्ने छ, अन्तिम चरणमा गाजाको पुनर्निर्माण र मृत बन्धकको शव वा उनीहरूको अवशेष फिर्ती हुनेछ।

सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ९१ जना गाजामा जीवित अवस्थामा रहेका विश्वास गरिएको छ।

इजरायलको तथ्यांकअनुसार उक्त आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो। इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४७ हजार २८३ जनाको मृत्यु भएको हमासको नियन्त्रण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।