मोरङको रंगेली, सुनवर्षी, ग्रामथान, रतुवामाई र कटहरीका निम्नवर्गका परिवारले खाना पकाउने दाउराका रूपमा गुइँठा प्रयोग गर्ने गर्छन्। गुइँठा बाल्दा निस्किएको धुवाँले स्वास्थ्यमा समस्या निम्तिने गरेको छ।
मोरङ– जिल्लाको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ। माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालोधुवाँसँगै उडेको छ सीताको दिनचर्या। बिहानीको झिसमिसेसँगै गाईबस्तुको गोबर उठाउनुपर्ने बाध्यता छ दक्षिणी मोरङका महिलाहरूको।
सीता चौधरीको पाँच जनाको परिवार छ। उक्त परिवारका लागि खाना पकाउनुपर्ने बाध्यता छ सीतालाई। श्रीमान्को सामान्य कमाइले ग्यास र दाउरा किन्न पुग्दैन । “ग्यास चलाउन सकिँदैन, जंगल पनि टाढा छ, वन समितिले संरक्षण गर्न थालेपछि दाउरा पनि पाइँदैन, गुइँठाको विकल्प नगरे आफैँलाई गाह्रो हुन्छ”, चौधरीले भनिन्, “ग्यास चलाउन नसक्नेले दाउराको विकल्प गुइँठा तयार गर्नु परेको छ।”
ग्रामथान–५ कि सीता चौधरीको जस्तै व्यथा छ रङ्गेली आमगाछीकी ललिता नुनियाको। नुनिया हिउँद शुरू भएसँगै गोठको गोबर जम्मा गरेर गुइँठा बनाउन थाल्छिन्। काँचो गोबरलाई सनपाटको सुन्टीमा टाँसेर सुकाएपछि गुइँठा बन्ने गरेको छ। दक्षिणी मोरङमा यसैलाई दाउराको विकल्पका रूपमा प्रयोग गर्ने गरिन्छ। तराईको समतल उब्जाउयोग्य खेतबालीमा हाल्नुपर्ने गोबर गुइँठा बनाएपछि दक्षिणी मोरङका किसान खेतमा रासायनिक मल हाल्न बाध्य छन्। गोबरलाई मलका लागि खेतमा हाले दाउराको समस्या हुने उनको भनाइ छ।
दक्षिणी मोरङको रङ्गेली, सुनवर्षी, ग्रामथान, रतुवामाई र कटहरी क्षेत्रका निम्न वर्गका परिवारका महिलाले खाना पकाउने दाउराका रूपमा गुइँठा नै प्रयोग गर्ने गरेका छन्। गुइँठा बाल्दा निस्किएको धुवाँले आँखा र स्वास्थ्यमा समस्या देखिएको छ।
ग्रामथान–५ कि सीता चौधरी र आमगाछी कि नुनिया जस्तै यस क्षेत्रका गृहिणीको दिनचर्या हो गोठबाट गोबर संकलन गरेर गुइँठाको दाउरा बनाउनु। दक्षिणी मोरङका अधिकांश बासिन्दा गोबर संकलन गरी सुन्ठी, बाँस, परालका टुक्रा मिसाएर गुइँठा बनाउने गर्दछन्। यो सुकाएर खाना बनाउन प्रयोग गरिने स्थानीय बासिन्दा बताउँछन्।
मोरङको उत्तरी क्षेत्रमा घना जंगल भए पनि दक्षिणी मोरङमा भने दाउराकै लागि गोबर प्रयोग गर्नुपर्ने बाध्यता बनेको छ। दाउराको अभावमा गोबरलाई मलका रूपमा नभई दाउरा बनाएर खाना पकाउनुपर्ने बाध्यता रहेको स्थानीय परमेश्वर नुनियाले बताइन्। खेतमा प्रयोग गर्नुपर्ने गोबर मल दाउराका रूपमा प्रयोग हुँदा खेतमा मलको अभाव भएको छ भने स्वास्थ्यसम्बन्धी समस्यासमेत मानिसमा देखिन थालेको छ।
गोबर मल खाना बनाउन प्रयोग गर्नुपर्ने भएपछि यस क्षेत्रका किसानले रासायनिक मलको प्रयोगमा जोड दिँदै आएका छन्। कृषकले बारीमा लगाउने गोबरलाई गुइँठा बनाउन प्रयोग गर्नाले ५० प्रतिशत मलको अभाव र रासायनिक मलको प्रयोगले थप ५० प्रतिशत माटो बिग्रिएको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताए। उक्त क्षेत्रमा दाउराको सहजता मात्र हुने हो र रासायनिक मलको ठाउँमा आफ्नै बारीमा उत्पादन हुने प्राङ्गारिक मल प्रयोग गरे उत्पादनमा वृद्धि हुने उनको भनाइ छ।
खेतको उत्पादनमा ह्रास आएको कृषि विज्ञहरू बताउँछन्। स्वास्थ्यकर्मीका अनुसार दाउराका रूपमा गोबर प्रयोग गर्नु स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ। यसले भान्सामा काम गर्नेलाई श्वासप्रश्वास, दम र अन्य फोक्सोसम्बन्धी रोग लाग्न मोरङ हस्पिटलका डा.उमेश गुरागाईंले बताए।
प्राङ्गारिक मलका लागि प्रयोग हुने गोबरलाई गुइँठा बनाएर दाउराका रूपमा प्रयोग गर्नुभन्दा वैकल्पिक साधन प्रयोग गरेर खाना बनाउन विज्ञहरूको सुझाव छ। मोरङका दक्षिणी भेगका स्थानीय बासिन्दालाई वन पैदावारको हकदार बनाउन सामुदायिक वनले प्रयास थाले पनि सरकारी नीतिकै कारण समस्या आएको सामुदायिक वन उपभोक्ता समिति प्रदेश नं १ का सचिव अग्नि पौडेलले बताए।
सामुदायिक वनको क्षेत्रबाहिर रहेका जनतालाई समेट्न साझेदारी वन गठन भए पनि साझेदारी वनमा सरकारी नीतिका कारण दाउराका रूपमा भएका वन पैदावार बिक्री वितरण गर्न सकिएको छैन। गरिबको पहुँचमा वन पैदावार नहुँदा स्थानीय खाना पकाउन गुइँठा बाल्न बाध्य छन्। सरकारी नीतिअनुसार वन पैदावार डाक बढाबढमा बिक्री हुने गर्दछ। यसरी बिक्री भएको वन पैदावार पहुँचवालाले नै लिने हुँदा विपन्नमा दाउराको समस्या भएको वनसम्बन्धी सरोकार भएकाहरू बताउँछन्
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
