बाढीको कहरपछि जुरमुराउँदै छन् बेथानचोकका किसान

बाढीपहिरो गएको चार महिना बितिसक्दा पनि यहाँका नागरिकले सरकारबाट पाउनुपर्ने सहयोग पाउन नसकेको गुनासो गरेका छन्।

धुलिखेल– यत्रतत्र छरिएका ढुंगा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ। बाढीले बारीमा थुपारिदिएका यही भग्नावशेष पन्छाउँदै किसान अब आलु रोप्ने तयारीमा छन्।

बेथानचोक गाउँपालिका–२ गेल्ढुङ बजार आसपास गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण पाट्ने खोलामा आएको बाढीले किसानको बारी पुरिदिएको थियो। त्यसपछि समस्यामा रहेका किसान यतिबेला बारी सफा गरेर आलु रोप्ने तरखरमा छन्। बजार मूल्य राम्रो पाउने भएका कारण किसानले हिउँदमा आलुखेती गरेर आम्दानी गर्दै आएका थिए। तर यसपटक भने बाढीले बारी सबै पुरिएका कारण खेती गर्न समस्या भयो। 

बर्खामा बाढी आएर बगाउलाझैँ हुने र हिउँद लागेपछि खानेपानीको समस्या खेप्नुपरेको यहाँका स्थानीय बताउँछन्। बत्ती विस्तार भए पनि खानेपानीको भने समस्या खेपिरहेको स्थानीय विनोद तिमल्सिनाले बताए। उनी पनि क्षतिग्रस्त बारी सफा गरिरहेका छन्। बाढी नियन्त्रण र खानेपानीका लागि दिगो व्यवस्थापन गरिदिन उनले सरकारसँग माग गरे। बाढीले त्यतिखेर लगाएको मकै बाली बगाएर सखाप बनाएको थियो।

विशेषगरी नगदे बालीका रूपमा आलुखेती गरेर आम्दानी गर्दै आएका बेथानचोकका किसानका लागि यसपटकको बाढीले धेरै नोक्सान पुर्‍याएको अर्का स्थानीय अर्जुनप्रसाद तिमल्सिनाले बताए। माघमा लगाएको आलु जेठमा खनेर बेच्ने गरेका किसानलाई अहिले आलु रोप्न बारी सफा गर्दैमा दिन बित्ने गरेको छ। डोजर लगाएर पनि सफा गर्न नसक्ने अवस्था छ। 

बारीमा भरिएका ढुंगा खोलामा लगेर फाल्दै पुनः खेतीयोग्य बारी बनाउन किसानलाई सकस परेको छ। कतिपय त गाडीको सहायताले अरू ठाउँमा लगेर थुपार्ने गरिरहेका छन्। स्थानीय रुपा भण्डारीले खेतीपाती र तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्नुपर्ने बारीमा बाढीले क्षति पुर्‍याएपछि झन् समस्यामा परेको बताइन्। जस्तोसुकै कष्ट र पीडा खेप्नुपरे पनि जीवन निर्वाहका लागि बारी बनाउनुको विकल्प नभएको उनले सुनाइन्। 

अर्का किसान सीता तिमल्सिनाले छाडेर जाने ठाउँ नभएपछि डोजर लगाएर भए पनि बारी सम्म्याएर खेती गर्ने तरखर गरेको बताइन्। “भएको सम्पत्ति संरक्षण गरेर खेती कमाइ त गर्नैपर्‍यो,” उनले भनिन्, “अहिलेसम्म राहत कतैबाट पाएकी छैन।”

बाढीपहिरो गएको चार महिना बितिसक्दा पनि यहाँका नागरिकले सरकारबाट पाउनुपर्ने सहयोग पाउन नसकेको गुनासो गरेका छन्। सो वडामा मात्रै बाढीले ४९ घरमा पूर्ण क्षति गरेको थियो। बाढीपहिरोबाट समस्या झेल्दै आएका नागरिकले समय बितेसँगै आफ्नै बलबुतामा भएको पाखोबारी खनजोत गर्दै जीवन गुजारा गर्ने तरखर गरेका छन्।