शीर्षमा लिभरपुलको ६ अंकको अग्रता, म्यानचेस्टर सिटीको पुनरागमन जित

चेल्सीलाई ३–१ ले हराउँदै म्यानचेस्टर सिटी चौथो स्थानमा उक्लिएको छ। खेलमा अग्रता भने तेस्रो मिनेटमा नोनी माडुकेको गोलमा चेल्सीले लिएको थियो।

काठमाडौँ– लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार इपस्विच टाउनलाई हराएको छ। कोडी गाक्पोले दुई गोल गरेपछि लिग लिडर लिभरपुलले ४–१ को सहज जित दर्ता गरेको हो। 

उनका लागि डोमिनि सबोसलाई र मोहमद सलाहले समान १ गोल गरे। यससँगै लिभरपुलले शीर्ष स्थानमा आफ्नो ६ अंकको अग्रतालाई कायम राखेको छ। लिभरपुलको २२ खेलमा ५३ अंक छ।

अर्को खेलमा चेल्सीलाई ३–१ ले हराउँदै म्यानचेस्टर सिटी चौथो स्थानमा उक्लिएको छ। खेलमा अग्रता भने तेस्रो मिनेटमा नोनी माडुकेको गोलमा चेल्सीले लिएको थियो। 

सिटीका लागि जोस्को ग्यार्डिओल, एर्लिङ हालान्ड र फिल फोडेनले गोल गरे। सिटीको २३ खेलमा ४१ अंक भएको छ। समान खेलमा ४० अंक रहेको चेल्सी छैटौँ स्थानमा झरेको छ।

यस्तै, दोस्रो स्थानमा रहेको आर्सनलले उल्भ्सलाई १–० ले पराजित गर्‍यो। आर्सनलको २३ खेलमा ४७ अंक भएको छ। अन्य खेलमा बर्नमाउथले नटिङघम फरेस्टलाई ५–०, एभर्टनले ब्राइटनलाई १–० र न्युकासल युनाइटेडले साउथह्याम्पटनलाई ३–१ ले हरायो।