म्याग्दीबाट ३३ करोड ४६ लाखको सुन्तला बिक्री

जिल्लाका अधिकांश ठाउँका सुन्तला बोटबाटै बिक्री भइसकेको छ। अहिले बेनी नगरपालिकाको मरेक, अन्नपूर्ण गाउँपालिकाको दोसल्लेलगायत ठाउँमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ। 

बेनी– म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन वृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन्। कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा ३३ करोड ४६ लाख रुपैयाँको सुन्तला बिक्री भइसकेको छ।

यस वर्ष जिल्लाका ६ वटै स्थानीय तहमा चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत वर्ष तीन हजार ६०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने सुन्तला बिक्रीबाट २४ करोड रुपैयाँ भित्रिएको थियो।

जिल्लामा ८२० हेक्टर जमिनमा  सुन्तलाखेती हुँदै आएको छ। त्यसमा ४२५ हेक्टर जमिनको सुन्तलाका बोटले फल दिने गर्छ। बेनी नगरपालिका–३ र ४ नम्बर वडाबाट मात्र ६ करोड बढीको सुन्तला बिक्री भएको केन्द्रले जनाएको छ। जिल्लाका अधिकांश ठाउँका सुन्तला बोटबाटै बिक्री भइसकेको छ। अहिले बेनी नगरपालिकाको मरेक, अन्नपूर्ण गाउँपालिकाको दोसल्लेलगायत ठाउँमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ। 

किसानको बगैँचाबाट प्रतिकिलो ६० देखि १२० मूल्यमा व्यापारीले सुन्तला खरिद गरेका छन्। दोसल्ले व्यावसायिक सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले गाउँमा उत्पादन भएको सुन्तला धमाधम बिक्री भइरहेको र उत्पादन बढेकाले किसान उत्साहित बनेको बताए। 

जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढलगायत बजारमा निकासी हुँदै आएको छ।