संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

काठमाडौँ– संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ।

उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। “प्रधानमन्त्रीले पहिलो दिन संसद्मा सम्बोधन गर्नुहुनेछ। आजै प्रधानमन्त्री र सभामुखको भेट भएको थियो। भेटमा प्रधानमन्त्रीले सम्बोधन गर्नेबारे छलफल भएको हामीलाई सभामुखले बैठकमा जानकारी गराउनुभयो,” उनले भने।

हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए।संसद्को हिउँदे अधिवेशनको तयारी स्वरूप सभामुख घिमिरेले बैठक बोलाएका हुन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा उपसभामुख इन्दिरा रानासहित एमालेका मुख्य सचेक बर्तौला तथा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे उपस्थित रहेका थिए। 

बैठक पुनः सोमबार बस्ने गरी सकिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए। “प्रमुख र मुख्य सचेतकहरूलाई पुनः  सोमबारलाई बोलाइएको छ। आज खासगरी बैठकले गर्ने भौतिक तयारीका विषयमा छलफल भयो” उनले भने।