त्रिकोणात्मक टी२० शृंखलाका लागि इन्दुको कप्तानीमा टोली घोषणा

नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच घरेलु मैदानमा हुने महिला टी२० शृंखलाका लागि क्यानले इन्दु बर्माको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरेको छ।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा हुन लागेको त्रिकोणात्मक टी२० शृंखलाका लागि महिला राष्ट्रिय टोली घोषणा गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा माघ १७ देखि २५ गतेसम्म नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच महिला टी२०आई शृंखला हुँदै छ। क्यानले यो शृंखलाका लागि आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा कप्तान इन्दुबाहेक कविता कुँवर, राजमती ऐरी, अलिसाकुमारी यादव र सीता राना मगर छन्। त्यस्तै, बिन्दु रावल, ममताकुमारी चौधरी, कविता जोशी, रोमा थापा, ईश्वरी विष्ट, सम्झनाकुमारी खड्‌का, पूजा महतो, रुविना क्षेत्री बेल्वासे, मनीषा उपाध्याय र रेवती धामी पनि टोलीमा समेटिएकी छन्।

तीन टोलीबीच २/२ पटक एक अर्कासँग प्रतिस्पर्धा हुनेछ। नेपालले पहिलो खेल माघ १७ मा नेदरल्यान्ड्ससँग खेल्नेछ। दोस्रो खेल माघ १९ मा थाइल्यान्डविरुद्ध हुनेछ।