गाजाबाट प्यालेस्टिनीलाई स्थानान्तरण गर्ने ट्रम्पको योजनाको आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाबाट प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डन स्थानान्तरण गर्ने योजनाको हमास र यसको सहयोगी इस्लामिक जिहादले आलोचना गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजालाई ‘सफा’ गर्ने योजनाको हमास र यसको सहयोगी इस्लामिक जिहादले आलोचना गरेको छ।

युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने उद्देश्यसाथ शुरू भएको युद्धविराम दोस्रो हप्तामा प्रवेश गरेको बेला आइतबार अमेरिकी राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीलाई गाजाबाट इजिप्ट र जोर्डन स्थानान्तरण गर्न चाहेको बताएका थिए।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको तत्काल कुनै प्रतिक्रिया आएको छन्। तर इजरायलका एक जना अति दक्षिणपन्थी मन्त्रीले ट्रम्पको विचारलाई ‘राम्रो’ भन्दै स्वागत गरेका छन्। 

सम्झौताअन्तर्गत शनिबार चार इजरायली महिला बन्धक र २०० प्यालेस्टिनी कैदीलाई हर्षोल्लासपूर्ण दृश्यमा रिहा गरिएको देखियो। पछिल्लो सम्झौताअन्तर्गत यस्तो आदान–प्रदान दोस्रो पटक भएको हो।

१५ महिनाको युद्धपछि ट्रम्पले गाजा ‘विध्वंसस्थल’ बनेको बताए। उनले जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग प्यालेस्टिनीलाई गाजा क्षेत्रबाट बाहिर निकाल्नेबारेमा कुरा गरेको बताए। “म इजिप्ट र जोर्डनले मानिसलाई लैजाओस् भन्ने चाहन्छु”, ट्रम्पले पत्रकारहरूलाई भने। उनले आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग कुरा गर्ने अपेक्षा गरेका छन्।

अधिकांश गाजावासीहरू प्यालेस्टिनी शरणार्थी या तिनका सन्तान हुन्। उनीहरूलाई गाजाबाट सार्ने प्रयासले अरब विश्वलाई ‘नकबा’ या विनाश–७५ वर्षपहिले इजरायल निर्माणका क्रममा प्यालेस्टिनीको सामूहिक विस्थापनको इतिहास स्मरण गराउनसक्छ।

इजिप्टले पहिले गाजाबाट सिनाई मरुभूमिमा प्यालेस्टिनीको ‘जबरजस्ती विस्थापन’विरुद्ध चेतावनी दिएको थियो। यसलाई राष्ट्रपति सिसीले सन् १९७९ मा इजिप्टले इजरायलसँग हस्ताक्षर गरेको शान्ति सम्झौतालाई जोखिममा पार्न सक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार जोर्डनमा २३ लाख दर्ता भएका प्यालेस्टिनी शरणार्थी छन्।

“तपाईं सायद १५ लाख मानिसका बारेमा कुरा गर्दै हुनुहुन्छ र हामी त्यो सबै ठाउँलाई सफा गर्नुपर्छ”, ट्रम्पले गाजाको बारेमा भने। गाजाको जनसंख्या लगभग २४ लाख छ। “म केही अरब राष्ट्रहरूसँग संलग्न हुन र फरक स्थानमा आवास निर्माण गर्न चाहन्छु जहाँ तिनीहरू शान्तिले बस्न सक्नेछन्”, उनले भने। साथै उनले गाजाका बासिन्दालाई ‘अस्थायी वा दीर्घकालीन रूपमा’ सार्न सकिने बताए।

हमासको राजनीतिक ब्युरोका सदस्य बसीम नइमले एएफपीलाई ‘उनीहरूले दशकौँदेखि विस्थापन र वैकल्पिक मातृभूमिका लागि’ यस्तै योजना अगाडि सारेको उल्लेख गर्दै प्यालेस्टिनीले ‘त्यस्ता परियोजना विफल पार्ने’ बताए। 

“अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित पुनर्निर्माणको ब्यानरमा उनीहरूको स्पष्ट अभिप्राय राम्रो भए तापनि गाजाका मानिसहरूले कुनै पनि प्रस्ताव वा समाधान स्वीकार गर्दैनन्”, उनले भने।

गाजामा हमासको साथमा लडेको इस्लामिक जिहादले ट्रम्पको विचारलाई ‘निन्दनीय’ भनेको छ। यसले ‘हाम्रा जनतालाई आफ्नो भूमि छोड्न बाध्य पार्दै युद्धअपराध र मानवताविरुद्धको अपराध’लाई प्रोत्साहित गरेको बताएको छ। 

तर गाजा सम्झौताविरोधी अतिवादी दक्षिणपन्थी इजरायली वित्तमन्त्री बेजलेल स्मोट्रिचले ट्रम्पको सुझावलाई ‘उनीहरूलाई अर्को राम्रो जीवन शुरू गर्न मद्दत गर्ने’ राम्रो विचार भन्दै स्वागत गरेका छन्। “केवल नयाँ समाधानसहितको सोच–विचारले शान्ति र सुरक्षाको समाधान ल्याउन सक्छ”, उनले भने। 

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणपछि शुरू भएको युद्धबाट लगभग सबै गाजावासी विस्थापित भएका छन्। राष्ट्रसंघले गाजाका करिब ७० प्रतिशत भवन क्षतिग्रस्त या नष्ट भएको बताएको छ।

इजरायलले अवरुद्ध गरेको नेटजारिम कोरिडोर नजिकैको सडकमा आइतबार सामानले भरिएका गाडा र ठेलाको भीड जम्मा भएको थियो। गाजाको नागरिक सुरक्षा एजेन्सीले ‘दशौँ हजार’ उत्तरतिर जानका लागि त्यस क्षेत्रमा पर्खिरहेका थिए भनी हवाई फुटेजमा तीन दिशामा सयौँ मिटरसम्म फैलिएको भीड देखाएको छ।

इजरायलले शनिबार ‘रिहा हुने भनिएको नागरिक महिला बन्धक अर्बेल येहुदको रिहाइ नभएसम्म’ प्यालेस्टिनीलाई उत्तर जान नदिइने घोषणा गरेको थियो।

आइतबार नेतान्याहुको कार्यालयले शनिबार उनलाई रिहा नगरेर हामासले युद्धविराम उल्लंघन गरेको बताएको छ। उनीहरूले ‘सबै बन्धकको स्थितिको विस्तृतसूची’ प्रदान नगरी सम्झौता उल्लंघन गरेको पनि कार्यालयले जनाएको छ। हमासले पछि उत्तर फर्कने बाटो रोक्नु पनि सम्झौता उल्लंघन हो र उनीहरूले येहुदको मुक्तिका लागि ‘सबै आवश्यक प्रत्याभूतिहरू’ प्रदान गरेको बताएको थियो।

इजरायलले लेबनानमा इरानसमर्थित हिजबुल्लाहसँग पनि युद्धविराम गरेको छ। त्यहाँ स्वास्थ्य मन्त्रालय र सेनाले आइतबार इजरायली सेनाले तीन स्थानीय बासिन्दा र एक लेबनानी सैनिकको हत्या गरेको र सयौँ मानिसहरूले आफ्नो घर फर्कने प्रयास गरेको बताएको छ।

गाजा सम्झौताको पहिलो चरणमा ६ हप्तामा चरणबद्ध तरिकाले ३३ बन्दी मुक्त हुनुपर्ने छ। त्यसको बदलामा इजरायली जेलमा रहेका करिब एक हजार ९०० प्यालेस्टिनी बन्दी मुक्त हुनेछन्। यो युद्धविरामसँगै भग्नावशेषले ढाकिएको गाजामा खाद्यान्न, इन्धन औषधि र अन्य सहायता बढेको छ तर संयुक्त राष्ट्रसंघले ‘मानवीय अवस्था गम्भीर रहेको’ बताएको छ।

हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणका क्रममा कब्जा गरिएका २५१ बन्धकमध्ये ८७ जना गाजामा रहेका छन्। तिनमा ३४ जनाको मृत्यु भएको सेनाले बताएको छ।

एएफपीको आधिकारिक इजरायली आँकडामा आधारित गणनाअनुसार हमासको हमलाले अधिकांश नागरिकसहित एक हजार २१० मानिसको मृत्यु भएको थियो। संयुक्त राष्ट्रसंघले भरपर्दो ठानेको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार इजरायलको जवाफी आक्रमणले गाजामा कम्तिमा ४७ हजार २८३ जनाको ज्यान लिएको छ।