भ्यालेन्सियालाई बार्सिलोनाको ७ गोल

स्पेनिस ला लिगा अन्तर्गत आइतबार सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ७–१ को विशाल गोलअन्तरले पराजित गरेको छ।

काठमाडौ– स्पेनिस ला लिगा अन्तर्गत आइतबार सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ७–१ को विशाल गोलअन्तरले पराजित गरेको छ।

खेलको सुरूआती २४ मिनेटमै बार्सिलोनाका चार फरक खेलाडीले गोल गरे। फ्रेंकी डे जोङले खेलको तेस्रो मिनेटमा गोल गर्दै सुरूआत गरे। आठौँ मिनेटमा फेरान टोरेसले अग्रता दोब्बर बनाए भने १४औँ मिनेटमा राफिन्हाले तथा २४औँ मिनेटमा फर्मिन लोपेजले अर्को गोल गरे।

पहिलो हाफको इन्जुरी समयमा लोपेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–० को अग्रता दिलाए। भ्यालेन्सियाका लागि ५९औँ मिनेटमा ह्युगो डुरोले सान्त्वना गोल फर्काए। तर खेलको ६६औँ मिनेटमा रोबर्ट लेवान्डोवस्की र ७५औँ मिनेटमा सिजार तारेगाको आत्मघाती गोलमार्फत थप दुई गोल गर्दै बार्सिलोनाले जित पक्का गर्‍यो।

यो जितसँगै तालिकाको तेस्रो स्थानमा रहेको बार्सिलोनाको २१ खेलबाट ४२ अंक भएको छ र यो शीर्षमा रहेको रियल म्याड्रिडसँग सात अंकको दूरी हो। दोस्रोमा रहेको एटलेटिको म्याड्रिडसँग ४५ अंक छ।