‘यूएसएआईडी’ले स्रोत बेहोर्ने ४ परियोजना रोक्न अर्थको निर्देशन

यूएसएआईडी र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ।

काठमाडौँ– अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ।

अर्थ मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यूएसएआईडीको सहवित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी काम नगर्न निर्देशन दिइएको जनाएको छ।

“यूएसएआईडी र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षर भएको डेभलपमेन्ट अब्जेक्टिभ अग्रिमेन्टमार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायतामध्ये बजेट प्रणालीमार्फत सञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका चार वटा आयोजनामा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थगित भएको यूएसएआईडी नेपालले पत्रमार्फत जानकारी गराएको छ”, विज्ञप्तिमा भनिएको छ, “यस  अवधिमा स्थगित भएका आयोजनाअन्तर्गत यूएसएआईडी स्रोततर्फ कुनै दायित्व सिर्जना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरूलाई जानकारी गराइएको छ।”

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा परेका ‘यूएसएआईडी  हेल्थ डिरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘यूएसएआईडी एग्रिकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘यूएसएआईडी एजुकेसन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ र ‘यूएसएआईडी इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’मा यूएसएआईडीले सहवित्तीय लगानी गरेको छ। 

यूएसएआईडीले यी आयोजनामा आउने अनुदान ९० दिनका लागि रोकिएको जानकारी अर्थ मन्त्रालयलाई गराएकाले उसको स्रोतबाट हुने खर्चअन्तर्गतका काम रोक्न निर्देशन दिइएको मन्त्रालयका सहसचिव महेश भट्टराईले जानकारी दिए। ती आयोजनामा नेपाल सरकारबाट स्रोत बेहोर्ने गरी तय भएका कामहरू भने रोकिने छैनन्।