भारतको महाराष्ट्रमा ‘जीबीएस’ संक्रमणबाट पहिलो मृत्यु

भारतको महाराष्ट्रमा गुइलेन–ब्यारे सिन्ड्रोम (जीबीएस) संक्रमित एक व्यक्तिको मृत्यु भएको छ।

पश्चिम भारतको महाराष्ट्र राज्यमा गुइलेन–ब्यारे सिन्ड्रोम (जीबीएस) संक्रमित एक व्यक्तिको मृत्यु भएको छ। जीबीएस एक न्यूरोलोजिकल रोग हो, जसको संक्रमणबाट पखाला लाग्नुका साथै अचानक शरीर सुन्निने, कमजोरी र दुखाइ निम्त्याउँछ।

जीबीएस प्रकोप निम्तिएको मुम्बईको १५० किलोमिटर दक्षिण–पूर्व पुणेमा संक्रमितको संख्या १०१ पुगेको छ। स्वास्थ्य विभागको द्रुत प्रतिक्रिया टोली र पुणे नगर निगमका अधिकारीले प्रभावित क्षेत्रमा निगरानीलाई तीव्र पारेका जनाएका छन्।

ब्याक्टेरिया र भाइरल इन्फेक्सनले बिरामीको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले सामान्यतया जीबीएस हुने गरेको चिकित्सक बताउँछन्। यद्यपि यो साना केटाकेटी र युवामा यो संक्रमण प्रचलित छ।

अधिकांश बिरामी उपचारपछि पूर्ण रूपमा निको भएकाले मानिसलाई नडराउन आग्रह गरिएको छ। भारतको संघीय स्वास्थ्य मन्त्रालयले जीबीएस प्रकोप पछिको अवस्था मूल्यांकन गर्न सात सदस्यीय टोली पुणे पठाएको छ।