सुन्तलाखेतीमा जलवायु परिवर्तनको प्रभाव: घट्यो उत्पादन

तनहुँको म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोकमा केही वर्ष अघिसम्म सुन्तला उत्पादन प्रशस्त हुने गरेको थियो। पछिल्लो समय पानी कम पर्न थालेसँगै सुन्तला पनि कम फल्न थालेको किसानले बताएका छन्।

डुम्रे– तनहुँको म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका–२ र ३ नम्बर वडा सुन्तलाखेतीको पकेट क्षेत्रका रूपमा मानिन्छन्। गुञ्जार उमाचोकमा केही वर्षअघि सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको किसान निरे विकले बताए। 

“दुई/तीन वर्ष अघिसम्म यहाँ प्रशस्त सुन्तला उत्पादन हुन्थ्यो, आम्दानी पनि मनग्ये हुन्थ्यो। अहिले के भयो भयो, फल नै लाग्दैन, सुन्तलाको बोटमा विभिन्न रोग देखापर्ने समस्या आएको छ,” उनले भने। आम्दानीको स्रोत यही भएका किसान मारमा परेका उनको भनाइ छ। 

“पहिले समयमा आकाशे पानी पर्थ्यो, अहिले सुन्तलाले फूल खेल्ने बेलासम्म पनि पानी पर्दैन,” विकले भने, “करिब १५० सुन्तलाको बोटमा रोग देखिएको छ, फल पनि लाग्दैन, के भएको हो? कृषि ज्ञान केन्द्रका प्राविधिकसँग सोधपुछ गरिरहेका छौँ।” यसको समाधान केही नभएको प्राविधिकबाट जवाफ पाएको उनले जानकारी दिए। 

विगतमा एउटा बोटको सुन्तला एक क्रेट हुने भए पनि अहिले एक किलो पुग्नसमेत मुस्किल हुने गरेको विकको अनुभव छ। गत वर्ष २ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका सुनाउँदै उनले यस वर्ष आधा पनि नहुने उल्लेख गरे। 

“सुन्तलाले फूल खेल्ने बेलामा पानी पर्नै छोडेको छ, अचेल मौसम फेरिएको जस्तो पो लाग्छ, पानीको अभावले सुन्तला उत्पादनमा कमी आउन थालेको छ,” किसान रामबहादुर अधिकारीले भने। फूल खेल्ने बेलामा पानी नपरेर फल लाग्नै नसकेको तथा सिँचाइका लागि पानी नहुँदा उत्पादनमा कमी आएको उनको बुझाइ छ। 

“यहाँ सिँचाइका लागि पानीको मुहान पर्याप्त छैनन्, एकमात्र कुवाको पानी गाउँलेले पिउनुपर्ने र पशुचौपायालाई खुलाउनुपर्ने बाध्यता छ,” अधिकारीले भने, “त्यही मुहानबाहेक अरू छैन, सिँचाइका लागि पानी अभाव छ।” आकाशे पानीको भर पर्नुपर्ने भए पनि आजकाल पानी पर्ने समय फेरिएको उनले बताए। 

सुन्तला उत्पादन वृद्धि गर्न फूल खेल्ने बेलामा कृत्रिम परागसेचन गराउन प्रविधि प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। केन्द्रका सूचना अधिकारी किरण परियार भन्छन्, “प्राकृतिक रूपमा हुने उत्पादन जैविक र सेवनका लागि उपयुक्त मानिन्छ। कृषिप्रधान देशमा यस्ता कृत्रिम प्रविधि कम प्रयोग हुन्छन्, वा प्रयोग नै हुँदैनन्। प्रकृतिमा परिवर्तन आउँदा किसान मारमा परेका छन्।”

सुन्तलामा लाग्ने रोगको उपचार केन्द्रले गर्न नसक्ने परियारले बताए। सामान्य रूपमा संक्रमण न्यूनीकरणका लागि उपाय अपनाउने र किसानलाई सिकाउने गरिएको, सिँचाइलाई बढी प्राथमिकता दिन सुझाव दिने गरिएको छ।  

केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले बढ्दो तापक्रमका कारण सुन्तला उत्पादन हुने क्षेत्र पनि परिवर्तन हुन लागेको बताए। “९०० मिटर उचाइभन्दा तलका क्षेत्रमा सुन्तला उत्पादन कम भएका छन्,” उनले भने, “सुन्तला उत्पादनका लागि मौसम चिसो आवश्यक पर्छ। पहिला उपयुक्त मौसम थियो, अहिले यहाँको तापक्रम बढ्दो छ, जसले उत्पादन कम हुँदै गएको छ। कतिपय ठाउँमा उत्पादन हुनै छाडेका छन्।”

९०० मिटर उचाइभन्दा माथिका स्थानमा सुन्तला उत्पादन राम्रो भएको पाइएको प्रमुख लामिछानेले बताए। जिल्लाका सुन्तला पकेट क्षेत्रमध्ये ९०० मिटर उचाइ माथिका म्याग्दे गाउँपालिका–२ उमाचोक, देवघाट गाउँपालिका–२, ३ नम्बर वडामा सुन्तलाखेती प्रशस्त भइरहेको छ। 

त्यस्तै ऋषिङ गाउँपालिका, घिरिङ, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका क्षेत्रका सुन्तला उत्पादनका लागि उपयुक्त छन्।