१० रुपैयाँ जरिबाना तोकिएका १० फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसला कार्यान्वयनका क्रममा १० रुपैयाँ जरिबाना तोकिएका १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटले १० रुपैयाँ जरिबाना तोकिएका १० सहित १८ फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले अदालतको फैसला कार्यान्वयनअन्तर्गत कैद तथा जरिबाना सजाय तोकिएका १८ फरार प्रतिवादीलाई पक्राउ गरेको हो।

रौतहटका प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार पक्राउ पर्नेहरू १८ प्रतिवादीमध्ये सबैभन्दा बढी जलसाजी मुद्दामा सजाय तोकिएका रहेका छन्। पक्राउ पर्नेमा शेख वहिद, नेक महम्मद, मिर अलि हुसन, शेख तैयव, शेख जमिर अख्तर, शेख दमिअख्तर, अख्तर शाहिद, शेख मेराज, इस्लाम अन्सारी र जुमन देवन रहेका छन्। उनीहरू जालसाजी मुद्दामा सजाय तोकिएका प्रतिवादी हुन्। उनीहरूलाई १० रुपैयाँ जरिबाना तोकिएको उनले जानकारी दिए।

पक्राउ परेका प्रतिवादीमध्ये सिकेन्द्र राय यादवलाई बिगो मुद्दामा दुई वर्ष कैद सजाय, रामबालक मुख्या १ महिना ११ दिन र नबल किशोर मुखियालाई हातहतियार तथा खरखजानामा आठ महिना पाँच दिन कैद सजाय तोकिएको छ। त्यस्तै, शेख जकिरलाई लुटपाट गाली बेइज्जतीमा ७३ रुपैयाँ, वीरबहादुर राय यादव कुटपिटमा ५० रुपैयाँ र जगरनाथ राय यादवलाई किर्ते जलसाजीमा  १०० रुपैयाँ जरिबाना तोकिएको छ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको टोलीले खोजतलास गरी जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको बताएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि रौतहट जिल्ला अदालतमा पठाइदिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।