हात्ती आतंक: दिगो समाधानको प्रतीक्षामा रौतहटका किसान

हरेक वर्ष धान पाक्ने बेला आउने जंगली हात्तीको झुन्ड धान काटिसकेपछि जाने गरेको थियो, तर यसपालि अहिलेसम्म फर्केन नजाँदा स्थानीय असुरक्षित महसुस गरिरहेको छन्।

रौतहट– जंगली हात्तीको विध्वंसले रौतहटका किसानहरू प्रताडित छन्। गत असार महिनादेखि जंगली हात्ती रौतहटको चन्द्रपुर, वृन्दावन, गुजारा र फतुवा विजयपुर नगरपालिकाको जंगलनजिकैको गाउँमा बसिरहेका छन्। हात्तीको उपद्रोले रौतहटमा–२ दर्जनभन्दा बढी घर भत्किसकेको छ भने लाखौँ मूल्य बराबरको अन्न, तरकारी र फलफूल नष्ट भएको छ।

हात्तीको आक्रमणले रौतहटमा एक महिलाले ज्यान गुमाउनु परेको छ भने एक घाइते भएका छन्। कात्तिक १६ गते फतुवा विजयपुर–११ रागीबुटुवा बस्ने ७० वर्षीया पातलीमाया तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको थियो। तामाङको घर हात्तीले पूर्ण रूपमा क्षति पुर्‍याएको थियो। जंगली हात्तीले एक्कासि घरमा आक्रमण गर्दा उनका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका थिए।

हात्तीले गत कात्तिकयता चन्द्रपुर–२ जुडिबेलामा मात्रै एक दर्जनभन्दा बढी घर भत्काएको छ। “बस्न नहुने गरी घर भत्कायो तर हामी भने भागेर बाँच्न सक्यौँ,” स्थानीय खिकप्रसाद पन्त भने। पुलामीटोलका राजेन्द्र ठाकुरको पनि घर हात्तीको आक्रमणले पूर्ण रूपमा क्षति भएको थियो। राति सुतिरहेको बेलामा हात्तीले घर भत्काएको ठाकुरले बताए। बलमपाखी टोलका तारजन मगरको घर पनि हात्तीले पूर्णरूपमा भत्काएको छ।

यस्तै, चन्द्रपुर–३ गैँडाटारमा हात्तीले एकैरात सात घर भत्कायो। हात्तीले रौतहटमा दर्जनभन्दा बढी घर भत्काएको छ। फतुवा विजयपुर नगरपालिकामा—११ का भैसही र बुटवा बस्तीमा चार घर भत्काएको स्थानीय अजय तिमलसिनाले जानकारी दिए।

हरेक वर्ष धान पाक्ने बेला आउने हात्ती धान काटिसकेपछि जाने गरेको थियो तर यसपालि गाउँमै बस्नाले यहाँका मानिसहरू असुरक्षित महसुस गरिरहेको छन्। हात्तीले घर भत्काइसकेपछि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार काफ्ले पीडितहरूका घरमै पुगेर जस्तापातासहित खाद्यान्न सहयोग गरेका थिए।

जंगली हात्तीले खासगरी केराखेतीमा धेरै क्षति पुर्‍याएको छ। रौतहटको चन्द्रपुर—३ गैँडाटार र जुडिबेलामा लगाइएको केराखेतीमा क्षति पुर्‍याएको छ। हात्तीले पटक–पटक गरेर करिब एक बिगाहामा लगाएको केराखेती नष्ट गरेको चन्द्रपुर–३ गैँडाटारका किसान लालबहादुर दोङले जानकारी दिए। फल्ने बेला भएको करिब ७०० केराको बोट हात्तीले नष्ट गरेको उनको गुनासो छ। केराखेतीमा बीमा नहुँदा पनि समस्या भएको उनको भनाइ छ।

वृन्दावन नगरपालिका–१ बलरीखोरमा पनि हात्तीले हरेक राति विध्वंस मच्चाइरहेको स्थानीय सुरेन्द्र पटेलले जानकारी दिए। केही दिनयता गाउँका बासिन्दा हात्तीका कारण रातभर जाग्राम गर्न बाध्य भएका पटेल बताउँछन्।

हात्ती आउने तथा प्रभावित क्षेत्रमा पोल–पोलमा बत्ती र चोक–चोकमा आगोको व्यवस्था, हात्ती नियन्त्रणका लागि नियमित गस्ती र गस्तीका लागि इन्धनको व्यवस्था, हात्तीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने, क्षति पुगेका घर तथा किसानलाई राहतको व्यवस्था गर्ने, घाइते भएकालाई तत्काल उद्धारका लागि एम्बुलेन्स खरिद गर्ने लगायतका निर्णय गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तकुमार साहले जानकारी दिए।

संघीय सांसद देवप्रसाद तिमल्सिना र प्रदेशसभा सदस्य युवराज भट्टराईले हात्ती व्यवस्थापनका लागि संघीय तथा प्रदेशस्तरबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। प्रभावित क्षेत्रका किसान र स्थानीय बासिन्दालाई राहत तथा उद्धारमा सरकारका तर्फबाट भरपर्दो सहयोग पुर्‍याउने उनीहरूले आश्वासन दिएका छन्। 

बर्सेनि हात्तीको झुन्ड रौतहटको गैँडाटार, जुडिबेला, पौराई, चन्द्रनिगाहपुर, गुजराको चोचा, मैरा, जंगलसहिया गाउँहरू, वृन्दावनको बलरी, फतुवा विजयपुर नपाको रागी बुटुवालगायत गाउँमा पस्ने गरेको छ। गत वर्ष मात्रै हात्तीको आक्रमणबाट चन्द्रपुरका घाँस, दाउरा गर्न गएका दुई महिलाले ज्यान गुमाएका थिए। हात्ती आतंकले गर्दा यहाँका बासिन्दा घाँस दाउरा गर्न जंगल जानसमेत छाडेका छन्।

यसैबीच रौतहटको दक्षिणी भेगतर्फ नीलगाई र बँदेलले किसानको बालीमा क्षति पुर्‍याएको छ। केही वर्षदेखि जिल्लाको कटहरिया, देबाही, लालबकैया, विजयपुर, मौलापुरका किसानका नदी किनारका खेतमा लगाइएको मकै, धान, उखु, आलु, गहुँ, केरा, धनियाँलगायत बालीमा नीलगाईले क्षति पुर्‍याउँदै आएको छ।

लालबकैया नदीको दुवै किनारमा रहेका खरघारी र उखुबारीको आडमा लुकेर ठूलो संख्यामा नीलगाई र बँदेल बस्छन्। दिउँसो बाहिर निस्केर बालीमा चर्छन्। स्थानीय वन्यजन्तुबाट बाली जोगाउन खेतनजिक र नदीछेउमा मचान बनाएर बस्न थालेका छन्। वन्यजन्तु नियन्त्रण गर्न कसैले पनि चासो नदिँदा आफूहरूको बाली जोखिममा परेको किसानहरूको गुनासो छ।