एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि

यो खेलसँगै नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाले घरेलु फुटबलबाट पनि सन्न्यास लिएकी छन्।

काठमाडाैँ– एन्फा महिला लिगको उपाधि सशस्त्र प्रहरीको विभागीय टोली एपीएफ क्लबले जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो। जारी लिगका १९ खेलमा १८ जित र एक बराबरीको नतिजा हात पार्दै एपीएफ अपराजित रह्यो।

एपीएफको जितमा सविता रानामगरले दुई गोल गरिन्। यस्तै, सरू लिम्बू र अनु लामाले समान एक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफको ६४औँ मिनेटमा सविताको गोलमार्फत एपीएफले शुरूआती अग्रता लियो। त्यसको ६ मिनेटपछि नै सरू लिम्बूले गोल गर्दै अग्रता दोब्बर बनाइन्।

यस्तै, ८४औँ मिनेटमा सविताले अर्को गोल गरिन्। इन्जुरी समयमा वैकल्पिक खेलाडी अनुले गरेको गोलसँगै  एपीएफको ४–० को जित पक्का गर्‍यो।

यो खेलसँगै नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाले घरेलु फुटबलबाट पनि सन्न्यास लिएकी छन्। ३७ वर्षीया अनुले अन्तर्राष्ट्रिय खेल जीवनबाट ६ वर्षअघि नै सन्न्यास लिइसकेकी थिइन्।