साढे ३३ किलो सुन काण्डः भित्र, बाहिर जे भयो

सात वर्ष अघिको साढे ३३ किलो सुन काण्डमा भएको ठूलो तामझामसहितको धरपकड र अनुसन्धान ‘हात्ती आयो फुस्सा’ यत्तिकै बनेको होइन। काण्डभित्रका नखुलेका पाटो र बाटो बिराएको अनुसन्धानको फेहरिस्तः

काठमाडौँ– २०७४ फागुन १९ गते बिहानको ३ बजे। धरानको भानु चोक प्रहरी घेरामा छ, प्रहरीहरू पेस्तोलसहित तम्तयार छन्। सबै सादा पोशाकमा भएकाले कसैको नजर परिहाले पनि प्रहरी भनिहाल्ने अवस्था छैन।

हुइकिँदै आएको बा १२ च ५९६३ नम्बरको ‘स्करपियो’ घ्याच्च रोकिन्छ।
डीएसपी (हाल एसपी) प्रजित केसी सोध्छन्, ‘गोरे (चूडामणी उप्रेती) हो?’
‘दाइ एकछिन बाहिर जानुभाको छ,’ चालक (टेकराज मल्ल) जवाफ दिन्छन्।
अवस्थालाई असामान्य हुन नदिन प्रजित चुरोट सल्काएर कुराकानी शुरू गर्छन्, ‘लास कहाँ छ त भाइ?’
‘गाडीमै,’ चालक सहजै जवाफ दिन्छन्।

चालकले सहज भावमा शव गाडीमै छ भन्दा डीएसपी प्रजित हल्का चकित पर्छन्। मनमनै पुलकित पनि– साँझ काठमाडौँबाट शुरू भएको अपरेशन मिर्मिरे नहुँदै सफल भएको छाँट जो देखिएको छ। डीएसपीको कमान्डमा प्रहरी टोली छ भन्ने ज्ञात हुँदाहुँदै गाडीमा शवसहित हाजिर छ भनेपछि सकिइहाल्यो।

“त्यसको कन्फिडेन्स चै गज्जब लाग्या हो,” प्रजितले सुनाए, “ए ठिक छ नि भनेँ, हेरौँ त पनि भनिएन, अविश्वास गरेको देखिएला भनेर।”

त्यसको अघिल्लो दिन (फागुन १८ गते) दुई बजेतिर दरबारमार्गमा बरालिइरहेका सई बालकृष्ण सञ्जेललाई ‘मान्छे मर्‍यो’ भनेर फोन आएको थियो। फोन गर्ने चिनजानकै गोरे थिए। ‘मामा, लेनदेनको लफडा थियो, इन्डियनहरू आएर भाइलाई मार्दिए,” फोनमा गोरे रुँदै थिए, “मेरै  थाप्लोमा पर्ने भो, जोगाइदिनुपर्‍यो मामा।”

शुरूमा बालकृष्णलाई अलि अपत्यारिलो नलागेको होइन, फेरि खारेज गरिहाल्ने अवस्था पनि त थिएन। गोरेसँग त्यसको दुई वर्ष अघिदेखि उठबस गरेका बालकृष्णका अनुसार गोरेको यसरी जिस्किने न बानी थियो, न पुलिससँग जिस्किनपर्ने कारण नै। बालकृष्ण तुफान अपराध महाशाखा (अहिले उपत्यका अपराध अनुसन्धान कार्यालय), टेकू पुग्छन्।

अड्डा प्रमुख (त्यतिवेला एसएसपी) दिवेश लोहनीलाई फोनमा गोरेसँग भएको वार्तालाप ब्रिफिङ गर्छन्। “ह्या, मान्छे मारेपछि कसैले पुलिसलाई फोन गर्छ,” दिवेशले शुरूमा सिरियस्ली लिँदैनन्।

अब बालकृष्णले गोरेलाई फोन डायल गरी स्पिकर अन गर्छन्। ‘अँ भान्जा के भो रे, भन त फेरि’ भनेर सोधेपछि गोरेले उही एकछिन अघिकै कुरा दोहोर्‍याउँछन्। लोकेसन सोध्दा जवाफ दिन्छन्– उर्लाबारी। मोबाइलको लोकेसन ‘ट्रेस’ गर्दा ठ्याक्कै मिलेपछि दिवेश पनि तातिहाले।

उनले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालको नम्बर डायल गर्छन्। अर्याल बिदामा बसेर फोन डाइभर्ट गरिदिएका कारण निमित्त आईजीपी बमबहादुर भण्डारीले रिसिभ गर्छन्। दिवेशले भण्डारीसँग सल्लाह गर्छन्। गोरेको पृष्ठभूमि र घटनाको गाम्भीर्य मूल्यांकन गरी महाशाखाकै टोली जाने फाइनल हुन्छ। प्रजित र बालकृष्णका साथै हवल्दार भेषबहादुर राना र गाडीचालक प्रहरी जवान सुरेन्द्र कार्कीको टिम बन्छ। गोरे ‘एयरपोर्टमा  भन्दिन्छु, हेलिकप्टरमै आउँनू’ भन्दै थिए, महाशाखाको टोली गाडीमै रवाना भयो।

यो पनि: सुनकाण्ड बाहिर आउँदा जहिल्यै विवादमा किन पर्छ प्रहरी?

अपराध महाशाखामा जघन्य अपराध हेर्ने (पिलर १) युनिट प्रमुख डीएसपी रविन कार्की थिए। प्रजितका अनुसार यस्तो अपरेशनको लागि उपयुक्त ठहर्‍याई गुण्डागर्दी हेर्ने (पिलर ४) का प्रमुख उनलाई परिचालन गरिएको थियो। उनी नेतृत्वकै टोलीले तीन दिनअघि मात्र महाराजगञ्जमा ८८ किलो सुन बरामद गरेको थियो। गाडीमा सुन रहेको भरपर्दो सुराक भए पनि महाराजगञ्ज, सोह्रखुट्टे र बालाजुका प्रहरी युनिटले फेला पार्न नसकेपछि प्रजित जानुपरेको थियो।

“दीपक मनाङ्गेलाई खोज्न हेटौँडा गई राति फर्केर झमक्क निदाएको मात्रै थिएँ,” प्रजित ८८ किलो सुन बरामद गर्दाको घटना सम्झिन्छन्, “दिवेश सरले अब तिमी नै नगई भएन भनेपछि राति २ बजे उठेर सुन खोज्न निस्केको थिएँ।”

बेलुकी ६ बजेतिर निस्केका उनीहरू राति साढे १२ मा त धरान नै पुगिसकेका थिए। बाटोमा मोबाइलमा गोरेसँग कुराकानी गर्दै गए। उनीहरूले शव व्यवस्थापन गर्न ५ करोडको माग राखे। त्यसपछि गोरेसँग पैसाको ‘बार्गेनिङ’ शुरू भयो।

गोरे, ‘५० लाखले हुन्छ?’
प्रजितले भने, ‘जागिर धरापमा पारेर ५० लाखमै मान्नु?’

“यस्तै कुराकानीमा भुल्याउँदै पुगेर गोरेलाई कर्‍यापझ्याप पार्ने योजना थियो,” प्रजित भन्छन्, “दुई करोड लेनदेन गरी लास व्यवस्थापन गर्ने सहमति पनि भयो।”

यस्तो ‘बार्गेनिङ’ गर्दै धरानतिर अघि बढिरहेका प्रजित सबै संवाद मोबाइलमा रेकर्ड पनि गरिरहेका थिए। प्रजितका अनुसार अपरेशन सफल भएपछि यसको डिटेल मेमोरीमा राख्ने हुटहुटी जागेको थियो। भोलि पुलिसहरूलाई तालिम दिँदा संवाद सुनाउँदै ‘यसरी अपरेशन सफल पारिएको थियो’ भनेर अनुभव साझा गर्ने योजना दिमागमा घुमिरहेको थियो। यसैले प्रजितले बालकृष्णको सिम आफ्नो मोबाइलमा राखेर कुराकानी गरिरहेका थिए।

फेरि भानुचोकमै फर्कौं।
प्रजित शवसहितको गाडी लिएर आएका टेकराजसँग कुराकानी अघि बढाउँछन्।  
‘गोरे खोई त भाइ?’ 
टेकराजले भने, ‘दाइ त एकछिन बाहिर।’
प्रजितले उनलाई भने, ‘फोन गरेर बोलाउ न त।’

टेकराजले मोबाइलमा भारतीय नम्बरमा डायल गरेको प्रजितले देखिहाले र ‘मुख्य शिकार’ सिमापार पुगिसकेको पत्तो पाइहाले। यसबारे सूचित गरेपछि दिवेशले काठमाडौँबाटै भारततिर ‘ट्रेस’ गर्न थाले।

प्रजितका अनुसार आफ्नै अनुरोधमा बालकृष्णसहितको टोली हिँडेको थाहा पाएपछि प्रहरीमा बलियो सम्पर्क रहेका गोरेले थप सोधीखोजी गरेका रहेछन्। टोलीमा प्रजित पनि भएकाले ‘इन्काउन्टर’ गर्नेगरी टोली परिचालन गरिएको हुनसक्छ भनेर प्रहरीभित्रका उनका ‘मुखबिर’ ले सचेत गराएपछि गोरे सम्पर्कविहीन हुन थालेका रहेछन्।

हत्या हुँदा घटनास्थलमा उपस्थित मोहन काफ्ले र नरेन्द्र कार्की इटहरीमा रहेको टेकराजबाटै थाहा हुन्छ। शवसहितको गाडी र प्रहरीको गाडी विराटनगरतिर लाग्छ। ‘सबै कुरा मिलिसकेको छ, सहीछाप गर्न तयार बस्नू’ भनेर विश्वास दिलाई काफ्ले र कार्कीलाई इटहरीमा पक्रिएर टोली विराटनगरतिर बढ्छ। उनीहरूलाई पक्रिनुअघि बालकृष्ण सञ्जेलले पेस्तोल नचाउँदै ‘सञ्जेल मामा भनिने इन्काउन्टर स्पेशलिस्ट मै हुँ, दुईचार जना ढालिसक्या छु, दायाँबायाँ गर्ने होइन केटा हो’ भनेर तर्साउन खोज्छन् (काफ्ले र कार्कीले प्रहरीलाई दिएको बयान)

प्रजितका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङमै कानूनी रीत पुरा गर्ने सहमति भएबमोजिम मोरङका प्रहरी प्रमुख, एसपी अरुण बिसीले एकजना प्रहरी निरीक्षक खटाइदिएका थिए। प्रहरी प्रतिवेदनसहित मल्ल, काफ्ले र कार्की अनि सनम शाक्यको शव जिम्मा लगाइयो। प्रहरी प्रतिवेदनमा मुख्य आरोपी गोरेको नामै समावेश गरिएन। 
फकाईफुल्याई गोरेलाई नेपाल सरहदभित्र बोलाएर पक्रिने योजनासाथ प्रहरी प्रतिवेदनमा गोरेको नाम नराखिएको प्रजितको दावी छ। “मुद्दामा तिम्रो नाम राखेका पनि छैनौँ, आइहाल/भेटिहाल भन्दै फकाउँदै थियौँ,” प्रजित भन्छन्।

गोरे उम्किए पनि चतुर्‍याईंपूर्वक शवसहित तीनजनालाई पक्रेकोमा आईजीपी आर्यालले टोलीलाई स्याबासी दिए। आईजीपी अर्यालले सई बालकृष्ण सञ्जेललाई त ठाउँको ठाउँ बढुवा गरी पुरस्कृत नै गर्न खोजेका थिए, इन्सपेक्टरमा बढुवा गर्ने उनको अधिकार नभएकाले भएन।

सनमको शव पुर्न खाल्टोसमेत खनिसकेको अवस्थामा गोरेले सञ्जेललाई फोन गरेका थिए। मुद्दाको मिसिलमा संलग्न बयानकागज अनुसार सञ्जेलअघि तत्कालीन डीआईजी गोविन्द निरौला र एसपी विकासराज खनाललाई फोन गर्दा गाडीसहित शव त्रिशुलीमा फाल्दिनू भनेका थिए (प्रहरी अधिकारीद्वयले भने त्यस्तो केही नभनेको बयान दिएका थिए)।

साढे ३३ किलो सुन तस्करीको यो काण्ड हुनुभन्दा ५–६ महिनाअघि गोरेले कार्गो अघिल्तिर आउनू, २० किलो सुन पक्राइदिन्छु भनेर सञ्जेललाई नै फोन गरेपछि डीएसपी अजय केसीको नेतृत्वमा महाशाखाको टोली परिचालन भएको थियो। गोरेको सूचना पछ्याउँदा डेढ किलो सुन बरामद भएको पनि थियो। सिन्धुली कटेपछि प्रजित कुरा गर्न थालेकाले गोरे संशकित भई शव टेकराज मल्ललाई जिम्मा लगाई भारततिर लागेको रहेछन्। सञ्जेलसँग सम्पर्क भएकाले विश्वास गरे पनि प्रजित गोरेका लागि अन्जान थिए।

सनम शाक्यको हत्या र सानु तथा प्रेमलाल चौधरीको आत्महत्या
थाई एयरवेजमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०७४ माघ ९ गते भित्रिएको साढे ३३ किलो सुन सानु वन र ‘तक्ले’ भनिने पुण्यप्रसाद लामाले मोटरसाइकलमा लिएर गन्तव्यतर्फ लैजाने क्रममा लुटिएको थियो। फल्स बटममा सुन लुकाएको मोटरसाइकल सानुले चलाई तक्लेले स्कर्टिङ गरेर गइरहेका बेला अनामनगरमा सुन लुटिएको भनिएको थियो।

टेकराज र रोहित आचार्यले दुबईबाट थाई एयरवेजबाट सुन ल्याई वनलाई जिम्मा लगाएका थिए। भरियाले सुन ल्याएको विमान अवतरण भएपछि विमानदेखि गन्तव्यसम्म पुर्‍याउन थाई एयरवेजमा कार्यरत वनसहितको टिम नै परिचालित हुने गर्थ्यो। सुन ल्याउने ‘सिन्डिकेट’का गोरेले सुन पास गर्न सघाउने थाई एयरवेजको टिमले नै घटना घटाएको आशंकामा कहिले कसैलाई त कहिले कसैलाई बोलाउँदै यातना दिँदै आएका थिए।

यही क्रममा सानुको विमानस्थलमै माघ २२ गते एआर–२७ नम्बरको पेट्रोलियम ट्यांकरले किचिएर मृत्यु भएको थियो। सीसीटीभी फुटेजमा उनी आफै ट्यांकरको पांग्रामा घुसेको देखिएको भन्दै आत्महत्या ठहर्‍याइएको थियो। सुन हराएपछि गोरे र उसका ‘गुर्गा’हरूबाट वनले बारम्बार यातना पाएका थिए। गोरेका गुर्गाहरू एयरपोर्टबाहिर कुरेर बाहिर निस्किन तारन्तार खबर पठाइराखेका वेला वन गुडिरहेको ट्यांकरको पांग्रामुनि घुसेको मानिएको थियो। सानुका छोराले ‘घटनाको केही दिन अघिदेखि बुवा घरमा झोक्राएर बस्ने गरेको, टर्चर पाएको सुनिएको’ बयान दिएका थिए।

यही कडीमा सनमको हत्यासमेत भएपछि सरकारले चैत २० गते गृह मन्त्रालयका तत्कालीन सहसचिव इश्वरराज पौडेल संयोजक रहेको नौ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेको थियो। टोलीलाई साढे ३३ किलो सुनसँग जोडिएका अपराधहरूको अनुसन्धान गरी संलग्नलाई कारबाहीको सिफारिस गर्ने कार्यादेश थियो।

टोलीले सुन तस्करीमा सघाउने नेपाल एयरलाइन्सका प्रेमलाल चौधरी र राजन थापालाई चैत २८ गते पक्रेर पहिले गृह मन्त्रालय लगी थुन्न प्रहरीको सिंहदरबार वृत्तमा पठायो। भोलिपल्ट गृहमै सोधुपछ गरी त्यसको भोलिपल्ट ३० गते विराटनगर लैजान टिकट बन्दोवस्त भइसकेको सूचित गरियो। बिहान चार बजे चौधरी वृत्तकै शौचालयमा झुण्डिएर अचेत अवस्थामा फेला परे।

“नाइकेले उठाएपछि पिसाब फेर्न जाँदा ढोका खुलेन, चेपबाट हेर्दा प्रेमलाल लडिरहेका थिए,” राजनले बयानमा भनेका छन्, “लगाएको ट्राउजरले घाँटीमा पासो बाँधिएको थियो।”

दुई वटा आत्महत्या र एउटा हत्याले गर्दा साढे ३३ किलो सुन काण्ड झन्–झन् रहस्यमय बन्दै गयो, घटनाक्रम ‘सस्पेन्स क्राइम थ्रिलर’ जसरी अघि बढिरहेको थियो।  

‘सुवर्णभूमि’ एयरपोर्टमा सुन तस्करी   
विशेष अनुसन्धान टोलीको सिफारिसमा अभियुक्त बनाइएका व्यवसायी भुजुङ गुरुङ तथा थाई एयरवेजका कर्मचारी गोपालकुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठको बयानले उनीहरूले २०४० सालको छेउछाउमै सुन तस्करीको धन्दा शुरू गरेको देखाउँछ।

भुजुङले पहिलोचोटी भेट्दा थाईका कर्मचारीद्वय बसन्तमान विजुक्छे र गोपाल ग्राण्ड होटलका साहु गोयलजीसँग मिलेर सुन तस्करी गरिरहेका थिए। गोयलसँग मनमुटावपछि उनीहरूले मिलेर काम गर्न प्रस्ताव गरे। उनीहरूले हङकङमा सुन किनेर बैंकक हुँदै काठमाडौँ भित्र्याउँथे। सुन पसलहरूलाई खुद्रा बेचे, मोहन अग्रवाल (एमके), पवन अग्रवाललाई थोकमा बेचे।

“हङकङ बस्ने नेपालीका परिवार/आफन्तलाई यहाँ नेपाली रुपैयाँ दिई उता हङकङ डलर लिएर सुन किनिन्थ्यो,” बयानमा भुजुङ भन्छन्, “२०४८ तिर बिजुक्छेले थाई एयरवेजबाट अवकाश पाएपछि धन्दा बन्द भयो।”

४० वर्षअघि गोयलजी र बिजुक्छेसँग मिलेर सुन ल्याई एमकेलाई दिने गरेकामा बिजुक्छे रिटायर्ड भएपछि सुन तस्करीमा आफू संलग्न थिइनँ भन्ने गोपालको बयान छ। एकैचोटी २०६९ सालमा उनले भुजुङसँगै जोडिएर सुन तस्करी शुरू गरेका थिए। भुजुङले मगाएको सुन विमान अवतरण गरेदेखि ‘डेलिभरी’सम्मका लागि किलोको ३५ हजार पाउने सौदा भएको थियो। वीरेन्द्रमानले पनि बिजुक्छे थाईबाट बिदा भएसँगै बन्द भएको धन्दामा आफू २०७२ सालमा पुनः जोडिएको बयान दिएका छन्।

उनीहरूले भनेअनुसार हप्ताको दुईदेखि तीनचोटी सुन आउँथ्यो। भागमा सामान्यतया खेपको ४८ हजार रुपैयाँ पर्ने गरेकोमा एकचोटी २ लाख ७५ हजार रुपैयाँ पाएका थिए। भुईंचालो (२०७२ वैशाख) आएपछि बन्द भई पुस १३ गते पूर्ववत् सेटिङमा सुन तस्करी सुचारु भएको थियो।

भुजुङका अनुसार २०६९ मा गोरे, डेविट/डाक्टर भनिने छिरिङ वाङगेल घले, एमकेसमेतबीच योजना बनेपछि गोपालसँग सल्लाह भएको थियो। तस्करीमा राजेन्द्र शाक्य (आरके ज्वेलर्स), एमकेका तीनैजना दाजुभाइका साथै पवन अग्रवाल पनि जोडिएका थिए। दुबई र बैंककमा सुन किन्न उही पुरानै (उता बस्ने) नेपालीका परिवारलाई यता पैसा दिने, उताबाट स्थानीय करेन्सी लिने तरिका अपनाइएको थियो। विमानमा सुन झिकेर पास गराई तस्करले भनेको ठाउँमा डेलिभर गर्न गोपालले वीरेन्द्रमानसहित थाई एयरवेजका सानु वन, कपिलराज पुरी, दोराम खत्री, हेमन्त गौतम, लालबहादुर मगर (एलबी), तक्ले, बालकृष्ण श्रेष्ठ, सम्बिरमान तोलाङ्गेको टिम बनाएका थिए।

“मेरो लगानीको सुन म लिन्थेँ, गोरेको लगानीको उसैले, एमकेको लगानीको सुन गोरेमार्फत् उसकहाँ पुग्थ्यो,” भुजुङ बयानमा भन्छन्, “एमकेको सुनको हकमा उसले कमिसन एकमुष्ठ गोरेलाई दिने, गोरेले उसको भाग कटाएर मेरो सालो डेविटलाई दिने, उनीहरूले आफ्नो भाग कटाएर मेरो भागमा किलोको ४० हजार आइपुग्थ्यो। मैले फेरी किलोको ५ हजारको दरले आफूसँग राखेर बाँकी गोपाललाई दिन्थेँ।”

शुरूमा भुजुङको घरमै डेलिभरी गरिराखिएकोमा पछि उनले भाञ्जा फाल्दुङ गुरुङलाई जिम्मा लगाउन भने। फाल्दुङले सुन बुझ्न कहिले अनामनगर त कहिले हाडीगाउँ अनि कहिले नयाँ बानेश्वरको ‘लोकेसन’ भन्ने गरेकाले उनीहरूले जोखिम बढेको महसुस गरी धन्दा बन्द गरेका थिए।

“यसरी घरघरै सुन पुर्‍याउन त सकिन्न भनेर बन्द गरेपछि छ महिना जति हाम्रो टिममार्फत् सुन आएन,” वीरेन्द्रमान बयानमा भन्छन्।

भुजुङको घरमा गोपालले ९०/१०० चोटी र गोरेको अफिस (अनामनगर) मा २०–२५ चोटी सुन पुर्‍याउँदा सबैभन्दा बेसी १२ पिस (साढे ३३ किलो) पुर्‍याउँदा ११ लाख ५५ हजार बुझेका थिए।

२०६९ सालमा भुजुङ–गोरे–एमकेको सेटिङमा सुन तस्करी हँ“दा थाईको विमान काठमाडौँमा अवतरण भएपछि यात्रु ओर्लिने भर्‍याङ एलबीले लिएर जान्थे, सफाइमा खटिने दोराम खत्री यात्रु ओर्लिएपछि शौचालयमा छिरेर सुन झिक्थे। सुनको पोका डस्टविन वा यस्तै कतै लुकाइएको हुन्थ्यो। उनले पहिलोचोटी सुन पास गर्दा ‘कम्बोडको कभरभित्र टेपले बेरेर राखेको चार पिस थियो,’ भनेका छन्।

सुन हाल्न भर्‍याङमा प्वाल पारिएको थियो, दोरामले सुन त्यहीँ हाल्थे। भर्‍याङको प्वालमा सुन राख्दा अरुले नदेखोस् भनेर कभर गर्ने काम हेमन्त र बालकृष्णको हुन्थ्यो। गोपाल र वीरेन्द्रमानको यात्रुको आवतजावत व्यवस्थापन गर्नेगरी जिम्मेवारी तोकिएको हुन्थ्यो। काम सकिएपछि भर्‍याङलाई पार्किङ/ग्यारेजमा ल्याई सुन झिक्ने र गन्तव्यमा पुर्‍याउने काम हुन्थ्यो। सुन आउने दिन तदनुरुप ड्यूटी मिलाउने काम थाई एयरवेजकै अफिसर कपिलराज (सानु वनका सालो) ले गर्थे।

दोरामका अनुसार महिनामा ४–६ हँदै १०–१२ पटकसम्म सुन आयो। शुरूमा ६–७ किलोबाट ८–१०, १५–१६ हुँदै साढे ३३ किलोसम्म आउन थाल्यो। शुरूमा ५० हजार रुपैयाँ पाएका दोरामले २ लाख ५० हजारसम्म पाए। एयरपोर्ट भित्रिएपछि सुन कहिले थाई एयरको टिमले नै घरसम्म पुर्‍याइदिन्थ्यो भने कहिलेकाहीँ विमानस्थल सुरक्षामा तैनाथ एसएसपी श्याम खत्रीको कोठामा लगेर राखिन्थ्यो (मोहन काफ्लेको बयान)। एकचोटी त २३ किलो सुन खत्रीकै कोठमा राखियो। खत्रीले गोरेसँग समन्वय गरी सो सुन बडीगार्ड र चालकमार्फत् एयरपोर्ट बाहिर पुर्‍याउँथे।

यो पनि: १०० किलो सुन प्रकरणले किन ‘हायलकायल’ देखिँदैछ एमाले?

अब घरघरै सुन पुर्‍याउन सकिन्न भन्दै गोपालले हात उठाएको केही महिनापछि सानु वनले जिम्मा लिई ‘धन्दा’ सुचारु भएको थियो। यसपटक फ्लाइ दुबईबाट आउने सुन नेपाल एयरलाइन्सको ‘ग्राउन्ड ह्यान्डलिङ’ स्टाफहरूलाई मिलाई पास गराउने काम भयो। नेपाल एयरलाइन्सका राजु महर्जन, प्रेमलाल, तुलाराम थारु, अमरमान डंगोल संलग्न थिए। राजन थापा तीन चारपटक सघाएर ५० हजारका दरले कमिसन लिएपछि पछाडि हटे।

पहिलोचोटी फ्लाइ दुबईको विमान राति १० बजे अवतरण गरेपछि राजु आफै बस चलाएर गई यात्रु लिएर फर्केका थिए। यात्रु ओर्लिएपछि आएका वनले कुनै यात्रुले बसमै छाडी गएको सुनको झोला लिई गएका थिए। यसरी नै दोहोर्‍याई–तेहर्‍याई सुन पास गरिएको थियो। कहिले प्रेमलाल र राजन थापाले बाहिर कुरिबसेको गाडीसम्म पुर्‍याइदिए। कहिलेकाहीँ गाडीमै छाडिएको सुन राखेको झोला थाईको अफिसमै दिने गरेका थिए।

टेकराजले राजुलाई शोभा भगवतीमा भेटेर कमिसनवापत ३६ लाखसम्म दिएका थिए भने तीनचोटी १५ देखि २० लाखको दरले पनि बुझेका थिए। नरेन्द्र कार्कीबाट त एक पटकमा १५ देखि १८ लाखको दरले २० चोटी बुझेको राजुको बयानमा पनि दर्ज छ। “त्यो पैसा एक्लै राखेको होइन, नेपाल एयरलाइन्सका साथै थाईको टिमलाई पनि भाग लगाइएको हो,” बयानमा राजु भन्छन्, “एक पटकको ८० हजारदेखि २ लाखसम्म मेरो भागमा पर्‍यो।”

सुन घरघरै डेलिभरी गर्ने जिम्मा सानुले लिएपछि फेरि थाईबाटै तस्करी सुचारु भएको थियो। माघ ६ र ७ गते भित्रिएका सुन सुरक्षित गन्तव्यमा पुर्‍याए पनि ९ गते आएको सुन चाहिँ ‘लुटिएपछि’ काण्ड बनेको थियो। 

लुटिएपछि गोरेको यातनासहितको केरकार
पाँच वर्षदेखि चलिरहेको सुन तस्करीको यो सिन्डिकेटमा कहिले भुजुङको सुन हुन्थ्यो त कहिले गोरेको अनि कहिले एमकेको। लुटिएको सुन चाहिँ एमकेले गोरेमार्फत् मगाएका थिए। पत्ता लगाउने जिम्मा गोरेकै थाप्लोमा थियो। सुन लुटिएको बेला गोरे भारततिर थिए।

“सुन भारतीय व्यापारीको हुन्थ्यो,” पछि अदालतको बयानमा गोरे भन्छन्, “म त सुन बोकेर ल्याउने भरियाहरूको व्यवस्थापन गरी तस्करीमा सघाउने तल्लो लेवलको मान्छे हुँ।”

भारततिरै हुँदा पनि गोरेका गुर्गाहरूले थाई एयरवेजको टिमलाई एयरपोर्टनेरका होटलमा बोलाएर भिडियो कलमा गोरेसँग कुराकानी गराउँथे। कहिले एक्लाएक्लै त कहिले थाईको टिमलाई समूहमा राखेर भिडियो कलमा गोरेले थर्काउँथे। फर्केपछि चाहिँ होटलको कोठामा राखेर केरकार गर्नुका साथै पाइपै पाइपले पिट्ने क्रम शुरू भयो।

“ऊ बाघजसरी गर्जिदै मतिर बढ्यो र मुख ताकेर किक हान्यो,” दोराम गोरेसँग सामना भएको पहिलो घटना सम्झन्छन्, “हातले छेकेर मुख जोगाउन खोज्दा माझी औँला भाँच्चियो, म पिडाले रोएँ।” त्यसपछि गोरे ‘निर्दोष भए माफ पाउँछस्, दोषी होस् भने चाहिँ बाँच्दैनस्’ भनेर अरुतिर लागेका थिए।

गोरेले थाईको टिमका अरुलाई पनि छुट्टाछुट्टै केरकार गर्दै कुटे। उनीहरूको बाहिरी वस्त्र खोल्न लगाई गञ्जी/कट्टुमा हात बाँधेर केरकार र कुटाइ गरिएको थियो।

“त्यसअघि कहिल्यै नदेखेको गोरेले केरकार गर्‍यो, पेस्तोलमा गोली लोड गरेको जस्तो गरी कञ्चटमा लगाएर भनिनस् भने मार्दिन्छु भन्यो,” सम्बिरप्रसाद तोलाङ्गे बयानमा भन्छन्।

त्यही दिन थाई एयरवेजका एलबी, तक्ले, गोपाल र सानुलाई रातारात सिन्धुली पुर्‍याएर होटलको कोठामा राखी गोरेले फेरी यातना दिएका थिए। गोपालको खुट्टै छिनाल्दिन्छु भन्दै खुकुरी खुट्टातिर उज्याइएको थियो। थाई टिमका सदस्यहरूले ‘अब यसले मार्ने भयो, भुजुङले नै सुन लुटाएको हो भन्दिउँ’ भन्ने सल्लाह गरी त्यही भनेर मुक्त भएका थिए। भुजुङकै मान्छेले सुन लुटेको भनेपछि गोरेले चारैजनालाई एउटा जीपमा चढाएर काठमाडौ फर्काइदिए।

“सुन लुटिएपछि ड्युटीमै रहेका साथीहरू कहिले आउँदैनथे,” हेमन्त गौतम बयानमा भन्छन्, “कहिले शरीरमा घाउचोट लिएर आउँथे।”

यसैबीच सुन खोज्न ४–५ करोड चलाइदिनू भनेपछि तस्करीमा संलग्न थाई एयरवेजको टिमले दुई करोड रुपैयाँ उठाएर गोरेलाई दिएका थिए। जसमा गोपालले ९० लाख, एलबीले ४० लाख, दोराम ३० लाख, सम्बिर १५ लाख ८० हजार, तक्ले ९ लाख, बालकृष्णलाई ४ लाख रुपैयाँ समावेश थियो। साथै, अब एक महिना कमिसन नलिइकन गोरेलाई ‘सेवा’ दिने सहमति पनि भएको थियो।

वनको ट्यांकरमा किचिएर मृत्यु भएपछि एयरपोर्टबाहिर बसेर बोलाउने टिम पूर्वतिर लाग्दा सनम शाक्य र मोहन काफ्ले आसामतिर हानिए। त्यो कुरा थाहा पाएपछि गोरेले अब आफ्नै गुर्गाहरूउपर शंका गर्न थाले। सनम र मोहनलाई सिलिगुडीमा बोलाएर कुटपिट गरे। वनसँग केरकार गर्दा रुस्तम मियाँ (गोरेकै गुर्गा) ले ‘मैले भनेबमोजिम गोरेलाई सुनाइदे’ भनेको अडियो रेकर्ड गोरेकहाँ पुग्यो। त्यतिवेला मोहन र सनम पनि रहेको थाहा पाएपछि गोरेको शंका गहिरियो। अब यत्रो काण्ड हुँदा पनि सनम र मोहन उर्लाबारी घरमै ढुक्क बसेकोलाई जोडेर गोरेले उनीहरू नै चोरीमा संलग्न रहेको ठाने।

नरेन्द्र कार्की पनि शंकाको घेरामा परे। फागुन १४ गते गोरेले उर्लाबारीनेर जंगलमा लगेर रुस्तम, मोहन, नरेन्द्र र सनमलाई पालैपालो पिटेर थिलथिलो पारेपछि प्याक गरी लगेको खाना सँगै खाइवरी ‘तिमीहरूलाई चोट लागेको छ, उपचार गर्नू’ भनि जनही २५ हजार दिई पठाएका थिए।

फागुन १६ गते चाहिँ गोरेसहितको टिमले थाईका एलबी र तक्लेलाई काठमाडौँबाट उठाई सिन्धुलीको बाटो सिराहको धनगढीदेखि उत्तरतिरको जंगलमा पुर्‍याएर गाडीमै सुत्न लगाएको थियो। “भोलिपल्ट विभिन्न व्यक्तिलाई करेन्ट लगाएको, पिटेको भिडियो देखाएर तिमीहरूको पनि यस्तै हालत गर्दिन्छु भन्यो,” तक्ले बयानमा भन्छन्, “गोरेले पेस्तोल नचायो, अचेत हुनेगरी पिट्यो।” कुटपिटमा तक्ले बेहोस भएपछि पानी छम्केर बिउँझाइएको थियो।

“अपहरण र शरीरबन्धक बनाई यातना दिने, पीडा भोग्ने शृंखला माघ १० गतेदेखि फागुन १८ गतेसम्मै घटित भइरहेको संकलित तथ्य एवम प्रमाणहरूबाट देखिन्छ,”  अभियोगपत्रमा उल्लेख छ।

सनमको मृत्यु भएको दिन पनि गोरेले गुर्गाहरूलाई उर्लाबारी–१ मा पर्ने जंगलमा बिहानै भेला गराई सनमका साथै मोहन र नरेन्द्रलाई रुखमा बाँधेर मुखमा कपडाको बुजो कोच्याएर केरकार गर्दै कुटिएको थियो। नजिकै खोलातिर मान्छेको आवतजावत बढ्न थालेपछि थाहा पाउँछन भनेर सनमलाई गाडीमा बसाएर करेन्टमार्फत् यातना दिइएको थियो। टेकराज र सुरेन्द्र गौतमले करेन्ट दिने क्रममै सनमको सास गएको थियो। सनमको मृत्युपछि अर्को गाडीमा करेन्टको यातना भोगिरहेका नरेन्द्र चाहिँ बाँचे। पहिले सनमलाई गाड्न खाल्टोसमेत खनिएको बेला गोरे–बालकृष्ण सञ्जेल वार्तालापपछि उनीहरू शवसहित धरानतिर लागे।

विशेष टोली गठन
फागुन २१ गते काठमाडौँ फर्किएको अपराध महाशाखाको टोली प्रहरी नेतृत्वबाट स्याबासी पाए पनि विवादमुक्त रहेन। न घटना नै सामसुम भयो। दुईजनाको ज्यान लिइसकेको साढे ३३ किलो सुन काण्डको विस्तृत र निष्पक्ष छानविनको दबाव पर्न थाल्यो। त्यो समय केपी शर्मा ओली भर्खरै प्रधानमन्त्री भएका थिए। मृतक सनम शाक्य झापा सीमा उर्लाबारीकै थिए भने हत्यामा संलग्न गोरेसहित उसका गुर्गाहरू झापा छेउछाउकै केटाहरू थिए। प्रधानमन्त्री नजिकका झापातिरकै मान्छेहरूले ठूलै काण्ड भए पनि प्रहरी मिलेमतोमा सबै दबाइएको ‘ब्रिफिङ’ गरे। गोरेलाई बचाउने क्रममा निर्दोषहरू फँसाएको भनेर प्रधानमन्त्री विश्वस्त हुनेगरी सूचना प्रवाह भयो। त्यसपछि प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान टोली बन्यो।

त्यसपछि खेला पल्टियो। सनम शाक्यको हत्यासमेत भएको साढे ३३ किलो सुन काण्डको कारण गठन गरिए पनि टोलीले सुन तस्करीको जालो नै उत्खनन गर्न थाल्यो। विशेष अनुसन्धान टोलीले गृह मन्त्रालयमा बयान रेकर्ड गर्ने क्यामेरासहित विविध उपकरणसहितको अफिस खोलेर काम शुरू गरेको थियो। बयान दिएका केहीले बताएअनुसार विशेष टोलीको कक्ष र बयान लिने शैली सिनेमाको दृश्य सम्झाउनेखाले थियो। सोझै प्रधानमन्त्रीलाई रिपोर्ट गर्ने आदेश पाएको आयोग गृहमन्त्री/गृहसचिवलाई रिपोर्ट गर्न बाध्य थिएन। सुरक्षा/अपराधबारे रिपोर्टिङ गर्ने पत्रकारहरूका लागि आयोगको कुनै सूत्रसँग एकछिन गफिन पाउनु नै हेडलाइन बन्ने समाचार पाउनु हुन्थ्यो। यतिसम्म कि ‘विशेष टोली दूधले नुहाएका व्यावसायिक राष्ट्रसेवकहरूको समूह हो, यसले अब सुन तस्करीका सारा पोल खोल्दिन्छ र संलग्नजतिलाई कारागारको कालकोठरीमा पुर्‍याइदिन्छ’ जस्तो ठानिएको थियो। विशेष टोलीउपर प्रश्न गर्ने कोही थिएन।

कतिसम्म भने टोलीले फरार आरोपी चेतनाथ (चेतन) भण्डारी स्वामित्वको ‘बाजेको सेकुवा’ रेष्टुरेन्टहरू सिल गराउँदै हिँड्यो। बाजेको सेकुवाका ‘फ्रेन्चाइज’ चलाउनेहरूले रेष्टुरेन्टको स्वामित्व चाहिँ भण्डारीको होइन भनेर प्रतिवाद गरेपछि नाम परिवर्तन गरेरमात्रै सञ्चालन गर्न ‘फर्मान’ जारी गरिएको थियो। आरोपी फरार हुँदा उसका व्यवसाय नै बन्द गर्न पाइन्छ र भनेर प्रश्न गर्ने कोही थिएन। उच्चपदस्थ प्रहरी अधिकारीहरू नै अनुसन्धानको फ्रेममा परिरहेकाले विशेष टोलीको जयजयकार भइरहेको थियो।

डीआईजीपी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकास खनाल, डीएसपी सञ्जयबहादुर राउत थुनामै पुगे। एमके–भुजुङ–गोरे सिन्डिकेटका लागि काम गर्ने भनिएका थाई एयरवेज र नेपाल एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङमा कार्यरत एमके–भुजुङ–गोरे सिन्डिकेटका लागि काम गर्ने टिमै अनुसन्धानमा तानियो। त्यो टोली नै थुनामा पुग्यो। अन्त्यमा अपराध महाशाखाको टोली पनि थुनामा पुर्‍याइयो।

प्रहरी प्रतिवेदनमा गोरेको नाम नराखिनुलाई विशेष टोलीले बदनियत ठम्यायो, गोरेलाई जोगाउन खोजेको भनेर अर्थ्याइयो। गोरेलाई समात्न बार्गेनिङ गरिएका अडियो अब उनीहरू खिलाफ प्रयोग गरियो।

“साँच्चिकै बार्गेनिङ गरेको भए आफैले बार्गेनिङ गरेको कुरा कसैले आफैले रेकर्ड गरी–गरी अरुलाई दिँदो हो?,” प्रजित जिकिर गर्छन्।

यो पनि: ५ वर्षमा ३८ क्विन्टल सुन तस्करी गर्ने एमके अग्रवालः को हुन्, कसरी उम्किन्छन्?

गोरे उम्किए पनि सनम शाक्य हत्याको गुत्थी सुल्झाई संलग्न तीन जना अभियुक्त पक्रिने टोलीलाई फँसाइने आभास पाएपछि जागिर सकिने अन्तिम दिनहरू गनिरहेका आईजीपी प्रकाश अर्यालले प्रधानमन्त्रीलाई भेटेरै विशेष टोलीको अनुसन्धान ‘डिरेल’ भइरहेको बताउँदै त्यस्तो भए ‘डिजास्टर’ हुने भनेर सचेत गराए।

एसएसपी दिवेश र डीएसपी प्रजितलाई नजिकैको उर्लाबारी इलाका प्रहरी कार्यालयलाई सुइँकोसमेत नदिई आफनै तर्फबाट अपराधी पक्रिने प्रयास गरी गोरेलाई उम्किने अवसर मिलाइदिएको भन्दै संगठित अपराधविरुद्धकै कसुर गरेको मागदाबीसहित प्रतिवादी बनाइयो।

सई बालकृष्ण सञ्जेललाई त साढे ३३ किलो सुनकाण्ड अघिदेखि चिनजान/उठबस भएको, सनम हत्याकै दिन बिहानै (हत्याअघि नै) गोरेसँग मोबाइलमा तीनचोटी सम्पर्क भएको कल डिटेलका आधारमा ज्यान मुद्दाकै प्रतिवादी बनाइयो। सनमको शवको फोटो गोरेको मोबाइलबाट सञ्जेलको मोबाइलमा फरवार्ड भएको हुनाले उसको समेत सल्लाहमै हत्या भएको दावी लिइएको थियो।

त्यतिमात्र होइन, अपराध महाशाखाको क्षेत्राधिकारमै प्रश्न उठाइयो। “प्रजित र गोरेबीच लास बेपत्ता पारी केश डिसमिस पार्न ५ करोडको प्रस्ताव गरी दुई करोडमा डिल गरेको स्वीकारेको,” अभियोगपत्रमा उल्लेख छ, “अभियुक्त पक्राउ गर्न डिल गरेको भन्ने निजहरूको जिकिर अन्य प्रमाण र परिस्थितिले पुष्टि गरेन।”

हात्ती आयो/हात्ती आयो–फुस्सा
विशेष टोलीको प्रतिवेदन र सिफारिसको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले २०७५ वैशाख १९ गते ६३ जनाविरुद्ध, २० गते सातजना विरुद्ध, ३० गते दुईजना विरुद्ध र भदौ ७ गते सातैजना विरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो। तीनजनाको ज्यान लिइसकेको साढे ३३ किलो सुनकान्ड राष्ट्रको सीमा नाघेर अन्तर्राष्ट्रिय (नेपालीमाझ) चर्चाको मुद्दा भइसकेको थियो। अदालतले पनि दायाँबायाँ नहेरी ‘होलसेल’ मा सबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो।

सनम शाक्यको हत्यापछि अपरेशनमा गएको टोलीका प्रजित र सञ्जेल अनि आदेश दिने दिवेशलाई अभियुक्त बनाएपछि सेवाकालमा व्यावसायिक मानिएका पूर्वउच्चपदस्थ प्रहरी अधिकारीहरू नै बचाउमा खुलेर सार्वजनिक मञ्चमार्फत् आए। उनीहरूले एयरपोर्टमै कार्यरत रहँदा सुन तस्करी गर्न सघाएको भनी अभियुक्त बनाइएका गोविन्द निरौला, श्याम खत्री, विकासराज खनाल, सञ्जयबहादुर राउत आदिको बचाउ गरेका थिएनन्। तर प्रहरीले गोप्यरुपमा बेलाबखत गरिरहने विशेष अपरेशनमै क्षेत्राधिकारको प्रश्न अभियोगमा उठाइएपछि अपराध अनुसन्धान थप जटिल हुनेतर्फ सचेत गराए। खासगरीकन ‘ट्रयाक रेकर्ड’का कारण दिवेश लोहनीप्रति प्रहरीभित्र र अवकाशप्राप्तहरूबीच सहानुभूतिको लहर देखियो।

उनीहरूले विशेष टोलीमा रहेका केही व्यक्तिले पुरानो रिसइवी साँध्न एकदमै हचुवा पारामा अभियुक्त बनाएको र यसले प्रहरीका विशेष अपरेशनहरू नै प्रभावित हुने तर्क गरे। उच्च अदालतले प्रहरी अधिकृतत्रय दिवेश, प्रजित र सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश दियो।

२०७८ साल असोज १९ गते अदालतले कसुर निर्धारण गर्दा धेरैजसोलाई सफाइ नै पाए।

गोरेका साथै घटनास्थलमा उपस्थित टेकराज, लाक्पा शेर्पालाई जन्मकैदको सजाय भयो। सनम मारिएको दिन चरम यातना पाए पनि अघिअघि यातना दिनुका साथै गोरेका यावत अपराधकर्ममा सघाएबापत मोहन, नरेन्द्र र भोजराजलाई पनि जन्मकैदकै सजाय सुनाइयो। यातनामा संलग्न नभए पनि घटनास्थलमा उपस्थित राजनकुमारले तीन वर्ष र मदन घिमिरेलाई छ महिना कैद सजाय पाए। बाँकी सबैले सफाई पाए। संगठित तस्करी र सुन तस्करीको मुद्दामा त गोरेसमेतले सफाइ पाए।

गोरेको अफिस, मोहनको घरबाट बरामद रजिष्टर/डायरी आदिमा उल्लिखित विवरणकै आधारमा २०६९–२०७४ सम्म ३७ क्वीन्टल सुन अवैध पैठारी गरी निकासी गरिएको सुन मुद्दा अधिकांशलाई लगाइएको थियो। रजिष्टरमा उल्लिखित नामकै आधारमा गोलमटोल रुपमा सबै वारदातमा सबैलाई समान दोषी मानेर मागदावी गरेकामा अदालतले अनुसन्धानलाई फौजदारी न्याय प्रणालीकै सिद्धान्तको खिलाफ ठान्यो।

“फौजदारी न्याय प्रणालीमा सरकारी पक्षको कर्तव्य वारदातबारे बयान गराउनु, म्याद थप्नु, अभियोगपत्र दायर गर्नु र बहस पैरवी गर्नुमा सीमित हुँदैन, अभियुक्त दावी गरिएका व्यक्ति के कुन तरिकाले संलग्न छ, घटनामा के भूमिका थियो, पुष्टि हुने दशी प्रमाण के कस्ता छन्, यथार्थ विवरण मिसिलमा देखिनुपर्दछ,” फैसलामा भनिएको छ, “अनुमान र आशंकाको भरमा अभियोग लगाएको देखिन्छ।”

२०४० सालदेखि सुन तस्करीमा संलग्न भनिएका गोपालदेखि तीनचार पटक सघाएपछि ‘धन्दा’बाट बाहिरिएका नेपाल एयरलाइन्सका राजन थापाविरुद्ध समान अभियोग र मागदावी थियो।

सनमको हत्यापछि भएको अपरेशनलाई अन्यथा ठम्याई अभियुक्त बनाइएका प्रहरी अधिकृतत्रयका हकमा गोरेसँग निरन्तर सम्पर्कमार्फत् उनलाई ललाई–फकाई पक्राउ गरी फरार हुन नदिन नै अधिकतम प्रयास गरेको अदालतले मान्यो।

“मोरङ, सुनसरीका जिल्लाका प्रहरी प्रमुख तथा धरान इलाकाका प्रमुखलाई जानकारी गराएको भनिसकेपछि पनि अनुसन्धानका क्रममा ती अधिकारीहरूसँग बुझ्नसमेत आवश्यक नठान्नुले यी प्रहरी कर्मचारीहरूलाई बिना आधार प्रमाण अभियोग लगाएको भन्ने देखिन आउँछ,” फैसलामा भनिएको छ।

३७ क्वीन्टल सुन तस्करीको मुद्दा भनेर मिडियामार्फत् हल्लीखल्ली मच्चाइएको त थियो, त्यो परिमाणको तस्करी भएको दावी फितला थिए। गोरेको अफिससमेतबाट प्राप्त डायरीहरूमा उल्लिखित आधाअधुरो, अपुष्ट र अनेकन् अर्थ लाग्ने विवरण नै मुख्य आधार थिए। त्यसैलाई सघाउनेगरी लिइएका बयानहरू थिए।

अदालतमा सबै बयान उल्टिए। ‘डीआईजी गोविन्द निरौला, श्याम खत्री र विकासराज खनाल संलग्न थिए, सुन बोकी विमानबाट ओर्लिनेलाई स्कर्ट गरी सोझै निरौला वा खत्रीको कार्यकक्षसम्म ल्याउँथे। विकासराज खनाललाई प्रधान कार्यालय तानिएपछि उनले गरिआएको काम डीएसपी सञ्जयबहादुर राउतले गरे’ भनेर शुरूमा बयान दिने प्रहरी जवान (श्याम खत्रीको बडीगार्ड) विष्णु खड्काले अदालतमा ‘पुलिसकै हाकिमले पेस्तोल तेर्स्याइ कुटपिटसमेत गरी विशेष टोलीसमक्ष जबर्जस्ती भन्न लाएका हुन्’ भनेर बयान दिए। जबकि खड्काका साथै थाई एयरवेजको टिमका सम्बिर तोलाङ्गेलाई अनुसन्धानमा सघाएको भन्दै आधा सजाय मागदावी गरी अभियोग लगाइएको थियो।

गोरेले चाहिँ अदालतको बयानमा ‘रजिष्टरमा उल्लिखित प्रहरीले सुन बाहिर निकालेवापत रकम बुझेको रजिष्टर हो’ भनेका थिए। बरामद रजिष्टर सुनको एकिन विवरण राख्न नै खडा गरिएको उनले लेखाएका थिए। “अकाट्य प्रमाण मानेको रजिष्टरमा उल्लिखित विवरण नै स्पष्ट र शंकारहित देखिदैनन्,” फैसलमा उल्लेख छ, “सुन मगाउने भनिएका व्यक्तिको थर, ठेगाना पनि खुल्दैन।”

यो पनि: राजनीतिक ‘कनेक्सन’ देखिन थालेपछि रोकिएको थियो साढे ३३ किलो सुन–काण्डको अनुसन्धान

जेठ ५ गते पक्राउ गरिएका गोरेले गोविन्द, विकासराज, सञ्जयलाई ‘क्लिनचिट’ दिने बयान अदालतमा गरे। सुन तस्करी गरेको स्वीकारेका उनले सघाउने दोष श्याम खत्रीउपर नै खन्याइदिए। “फ्लाइ दुबईमा भरियामार्फत् झोलामा सुन आउँथ्यो, भरियालाई पुलिसले पास दिन्थे। कुनै चेकजाँच नभई भरिया सोझै तत्कालीन एसएसपी श्याम खत्रीके कोठामा जान्थ्यो। निजले ड्राइभर र बडीगार्डमार्फत् सुन पास गराइदिएवापत किलोको ५० हजार लिन्थे,” अदालतमा गोरेले गरेको बयानमा उल्लेख छ।

दिवेश र प्रजितलाई नचिनेको बयान दिएका गोरेले सञ्जेलसँग राम्रै हिमचिम हुनुका साथै घर बनाउँदा ३५ लाख सापट लिएकोमा १० लाखमात्रै फिर्ता पाएको बकेका थिए।

दुई जनाको ज्यान गइसकेको र प्रहरी नै विवादमा परेका बेला टोली गठन गरिएको थियो। बयानका क्रममा २०४० सालदेखि सुन तस्करीका कथाहरू आएपछि टोलीले पञ्चायतकालदेखिका सुन तस्करीका पात्रहरूलाई (जसमा धन्दामा कतिपय अवकाश लिइसकेकाहरू पनि थिए) पनि अनुसन्धानको राडारमा राख्यो, बयान पनि लियो। तदनुरुप तीनसय जनाको विवरणसहित तयार पारेको भनिएको प्रतिवेदन अहिलेसम्म गोप्य नै छ। संयोजक पौडेलसहित अरु सदस्यहरू पनि यसबारे कुरा गर्न चाहँदैनन्।

टोलीमै रहेका केहीले पुरानो निजी ‘हिसाब–किताब’ बराबर गर्नेगरी अनुसन्धानलाई डोर्‍याउँदा अनुसन्धान विवादमा परेको ठानिन्छ। यस्तै, त्यतिवेला शक्तिमा रहेका प्रतीक थापा र दिपेश पुन (तत्कालीन गृहमन्त्री रामबहादुर थापा र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा) को स्वार्थमा पनि अनुसन्धानले लिक छाडेको मानिन्छ।

गोरेको समूह भेला हुने, खानपान हुने थलो बाजेको सेकुवा (बत्तिसपुतली) भएको हुँदा त्यसका सञ्चालक चेतन अनुसन्धानको राडारमा पर्नु स्वाभाविक थियो। गोरेको नजिकका मामा नाता पर्ने उनीसँग आर्थिक कारोबार भएपछि अनुसन्धान गहिराईमा पुग्नु अनिवार्य पनि थियो। तर सनम शाक्यको हत्यामै संलग्नताको कतै केही नदेखिँदा पनि उनलाई हत्याकै अभियोग लगाइयो। सुन लुटिएपछि तस्करीमा संलग्न समूहको बैठकमा सहभागी भएको भन्दै उनलाई अभियुक्त करार गरिएको थियो। अभियोगपत्रमा बैठकमा सहभागी भएको भनिएको मितिमा उनी मलेसियामा रहेको उनकै पासपोर्टले देखाएपछि विशेष टोलीको नियतमा प्रश्न उठ्ने नै भयो। अनुसन्धानको राडारमा पर्दा अमेरिकामा रहेका भण्डारी त्यसपछि नेपाल आएनन्। ‘राजकुमारद्वय’ थापा र पुनले भेट्नका लागि नेपालमै उपलब्ध भण्डारीको परिवारलाई तारन्तार खबर पठाउँदा भेट्न नचाहनुले दुःख पाएको दाबी परिवारको छ।

घटनाको प्रस्थानविन्दु (साढे ३३ किलो सुन हराउनु) भन्दा झण्डै १५ महिनाअघि (२०७३ कात्तिक २८) मा दुबई गई उतै रहेका हरिशरण खड्कालाई पनि सुन तस्करीदेखि हत्या, अपहरण–शरीर बन्धक, संगठित अपराधसम्मकै अभियुक्त बनाइएको थियो।

ठूलो तामझामसहितको धरपकड, मुद्दामामिलाले लुटिएको भनिएको साढे ३३ किलो सुन कसले कहाँ पुर्‍यायो केही भन्न सकेन। तत्पश्चात एयरपोर्टबाट सुन तस्करी पुनः सुचारु भएको त्यसपछि बेलाबखतका बरामदीले देखाएकै हुन्। अहिले चाहिँ यहाँभन्दा भारतमै सस्तो भएकाले बन्द भएको हुनसक्छ।

अदालतमा ‘म सुन तस्करीमा सघाउने तल्लो लेबलको मान्छे हुँ’ भन्ने गोरेले ‘सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूल्ठूला मानिसहरूको मिलेमतोमा हुने गर्छ’ भनेका थिए। नेपालभन्दा भारतमा महँगो भई नाफा हुने देखिए सुन तस्करी पुनः सुचारु हुने नै छ।