ट्विटर प्रयोगकर्तालाई मस्कको आग्रह : लाइभ लोकेसनमा 'डक्सिङ' नगर्नू

मस्कले आधिकारिक ट्विटर ह्यान्डलमा डक्सिङमा संलग्न एकाउन्टहरू, विशेष गरी वास्तविक समय स्थानहरूका सार्वजनिक रूपमा पहिचान–सम्बन्धित जानकारी पोस्ट गर्ने प्रयोगकर्तालाई दण्डित गरिने बताएका छन्।

लाइभ लोकेसनमा ‘डक्सिङ’ गर्नु ‘भौतिक सुरक्षा उल्लंघन’ भएको मानिने बताउँदै ट्विटर प्रयोगकर्तालाई यस संस्थाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले त्यस्तो नगर्न आग्रह गरेका छन्।

सामान्यतया इन्टरनेटमार्फत सार्वजनिक रूपमा एक व्यक्ति वा संस्थाको बारेमा व्यक्तिगत रूपमा पहिचान योग्य जानकारी प्रदान गर्ने कार्य ‘डक्सिङ’ हो। यसबाट 'भौतिक सुरक्षा उल्लंघन’ हुने मस्कले बताएका छन्। उनले ‘माइक्रोब्लगिङ साइट’मा साइबर सुरक्षा बढाउनुपर्ने आफ्नो अडान स्पष्ट पार्दै प्रयोगकर्तासँग उक्त आग्रह गरेका हुन्।

‘माइक्रोब्लग’ भनेको छोटो रूपमा सामाजिक सञ्जालमार्फत सम्प्रेषण हुने सन्देश हो। यसले प्रयोगकर्ताहरूलाई एकल वाक्यहरू, व्यक्तिगत छविहरू वा भिडियो लिंकहरू जस्ता सामग्रीका साना अंशहरू आदानप्रदान गर्न अनुमति दिन्छ।

मस्कले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा डक्सिङमा संलग्न एकाउन्टहरू अर्थात् विशेष गरी वास्तविक समय स्थानहरूका सार्वजनिक रूपमा पहिचान–सम्बन्धित जानकारी पोस्ट गर्ने प्रयोगकर्तालाई दण्डित गरिने बताएका छन्।

“कुनै पनि एकाउन्टले कसैका बारेमा वास्तविक–समय स्थानबारे जानकारी दिएमा उसको एकाउन्टलाई रोक्का गरिनेछ, किनकि यो भौतिक सुरक्षा उल्लंघन हो। यसमा वास्तविक समय र स्थानबारेमा आउने जानकारी भएका साइटहरूको पोस्ट लिंक गर्नु पनि समावेश रहनेछ”, विश्व प्रसिद्ध प्रविधि कम्पनी टेस्लाका प्रमुखसमेत रहेका मस्कले लेखेका छन् “केही ढिला गरी आउने यात्रा गरेको स्थान पोस्ट गर्नु सुरक्षाको समस्या होइन, त्यसैले यो गर्न सकिन्छ।”

उनको सन्देशपछि प्रयोगकर्ताहरूले मस्कको कदमको सहमतिमा जवाफहरू ट्विट गरेका छन्। यसलाई प्लेटफर्ममा थप सुरक्षा उपायको रूपमा उनीहरूले स्वीकारेको देखिन्छ।

मस्को आग्रहप्रति प्रतिक्रिया जनाउँदै एक प्रयोगकर्ताले लेखेका छन्, “कसैको वास्तविक जीवनको स्थानलाई ‘डक्सिङ’ गर्नु अभिव्यक्ति स्वतन्त्रता होइन। त्यो उसलाई वा अरू कसैलाई पछ्याउन गरिएको भए पनि यो ठीक होइन र यो प्रतिबन्धसँग म पूर्णतया सहमत छु।"

‘डक्सिङ’ गर्नु अभिव्यक्ति स्वतन्त्रता नभएको र प्रतिबन्ध आवश्यक रहेको अर्का प्रयोगकर्ताको धारणा आएको छ। उनीहरूलाई पछ्याउँदै अन्य सयौँ प्रयोगकर्ताले यस कदमको सराहना गरेका छन् भने कतिपयले पोस्टप्रति विमति जनाएका छन्। यद्यपि, विमति जनाउनेको संख्या उल्लेख्य छैन।

यसअघि मस्कले तथाकथित ‘ट्विटर फाइल्स’को दोस्रो संस्करणमा कम्पनीले कसरी कालोसूचीमा राख्ने र केही एकाउन्टको दृश्यतालाई सक्रिय रूपमा सीमित गर्ने भन्ने खुलासा गरेपछि ‘माइक्रो ब्लगिङ प्लेटफर्म’मा नयाँ अपडेट ल्याएका थिए।