बागलुङका १० स्थानीय तहमध्ये आठ तहलाई समेटेर ‘अलैँची जोन’ निर्माण गरिएको छ। १२ अलैँची पकेट क्षेत्र र दुईवटा अलैँची ब्लकलाई समेटेर जोन बनाइएको हो।
गलकोट– बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ। क्षेत्र विस्तारका कारण बागलुङमा यस वर्ष ४८ मेट्रिक टन अलैँची उत्पादन भएको छ।
कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा ६ करोड भित्र्याउन सफल भएका छन्। राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका–२ का बलिभद्र सापकोटाले बताए। अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैँचीको मूल्य कम पाएका छन्। यहाँ प्रतिकिलो १ हजार २५० रुपैयाँका दरले अलैँची बिक्री भएको छ।
अलैँचीबाट राम्रो आम्दानी हुने भएकाले यहाँ हरेक वर्ष किसानको आकर्षण बढिरहेको छ। आर्थिक वर्ष ०७८/७९ मा १२८ हेक्टर जमिनमा अलैँचीखेती गरिन्थ्यो। जसमा ४२ मेट्रिक टन उत्पादन भएको थियो। प्रतिकिलो ९५० रुपैयाँका दरले बेच्दा कृषकले ३ करोड ९९ लाखको कारोबार गरेका थिए। आर्थिक वर्ष ०७९/८० मा १३१ हेक्टर जमिनमा खेती विस्तार भयो तर उत्पादन भने घट्यो। त्यस वर्ष ३८ मेट्रिक टन उत्पादन भएको थियो। अलैँचीको फेद कुहिने, पात–डाँठ सुक्ने रोगको संक्रमण भएपछि उत्पादन घटेको कृषक सापकोटाले बताए।
चालु आर्थिक वर्षमा पनि कृषकले कात्तिक महिनामै अलैँची बेचिसकेका पनि कतिको कारोबार भयो भनेर यकिन तथ्यांक संकलनको काम भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। बाली संरक्षण अधिकृत तथा ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले हाल जिल्लाको १४० हेक्टर जमिनमा अलैँचीखेती विस्तार भएको र जसमध्ये ९६ हेक्टरमा लगाएको अलैँचीले उत्पादन दिन थालेको जानकारी दिए।
बागलुङका १० स्थानीय तहमध्ये आठ स्थानीय तहलाई समेटेर ‘अलैँचीजोन’ निर्माण गरिएको छ। चालु आर्थिक वर्षमा जोन स्थापना भएर कार्यान्वयन प्रारम्भ भएको छ। १२ अलैँची पकेट क्षेत्र र दुईवटा अलैँची ब्लकलाई समेटेर जोन स्थापना गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बागलुङका निमित्त वरिष्ठ कृषि अधिकृत नारायण पौडेलले बताए।
यहाँको ताराखोला काठेखोला, बडिगाड गाउँपालिका, बरेङ र निसीखोला गाउँपालिका तथा बागलुङ, जैमिनी र गलकोट नगरपालिकाका विभिन्न स्थानमा अलैँची उत्पादन हुँदै आएको छ।
अलैँचीखेतीको राम्रो व्यवस्थापन गर्न सके एकपटक रोपेपछि १० वर्षसम्म पनि उत्पादन दिने गरेको छ। कृषकले उत्पादन गरेको अलैँची गुणस्तर विभाजन गरेर फरक फरक मूल्यमा बिक्री गर्ने गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
