ओखलढुंगामा जिप दुर्घटना: एकै परिवारका ३ जनाको मृत्यु

बिरामी माया गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौँ लिएर हिँडेका थिए। तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको हो।

काठमाडौँ– ओखलढुंगामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

खोटाङबाट काठमाडौँ आउँदै गरेको ना१ज ६४२१ नम्बरको जिप ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा करिब १०० मिटर तल खसेको हो। 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार बिहीबार बिहान साढे ६ बजे जिप दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।  

दुर्घटनामा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको हो। 

तीन जनाको घटनास्थलमा नै मृत्यु भएको हो। बिरामी मायालाई उपचारका लागि छोरा र बहिनीले काठमाडौँ लिएर हिँडेका थिए।

जिपमा चालकसहित ४ जना सवार थिए। चालक २२ वर्षीय अनिल पण्डित फरार रहेको  र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।