वासिंटन विमान दुर्घटना: कम्तीमा १८ जनाको शव फेला

विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। 

अमेरिकाको वासिंटन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर ठोक्किएर भएको दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ। 

अहिलेसम्म १८ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले प्रहरी अधिकारीलाई उद्धृत गरी जनाएका छन्। बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिंटनतर्फ जाँदै थियो। 

विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्य तथा हेलिकप्टरमा तीन सैनिक सवार थिए। विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। 

नदीमा खोजी तथा उद्धार कार्य जारी छ। दुर्घटनापछि ठूलो संख्यामा आकस्मिक बलका सदस्य विमानस्थलमा पुगेका छन्। घटनास्थलमा १० भन्दा बढी एम्बुलेन्स र ट्रक पनि रहेका छन् ।