नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित

त्रिकोणात्मक टी२० शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ।

काठमाडौँ– महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी२० शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ। बिहीबार नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि ओपनर सीता रानामगरले सर्वाधिक २८ रन जोडिन्। उनले ४५ बलमा तीन चौकासहित २८ रन जोडेकी हुन्।त्यस्तै, कविता जोशीले २७, पूजा महतोले २४ र रुविना क्षेत्रीले ११ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेदरल्यान्ड्सका इभा लेन्च र क्यारोलिन डे लन्जले २/२ तथा आईरिस जेविलिङ र फेडेरिक ओभरडिजले १/१ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको  नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५७ रन बनायो। नेदरल्यान्ड्सका लागि रोविन रिकेले अर्घशतकीय इनिङ्स खेलिन्। उनले ४८ बलमा आठ चौकासहित ५९ रन बनाएकी हुन्। 

आइरिस विलिङले १३ बलमा ३१ रन बनाइन्। स्ट्रि कालिसले ३५ बलमा २९ रन जोडिन् भने र हेटर सिगेसर्ले १९ बलमा २३ रन जोड्दै आउट भइन्।

नेपालका लागि कविता कुँवर, पूजा महतो, सीता राना मगर र ईश्वरी विष्टले १/१ विकेट लिए।

यो शृंखलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित छन्। नेपालले अब दोस्रो खेल शनिबार थाइल्यान्डसँग खेल्नेछ।