नाम्चेमा हावाहुरीले उडायो घरको छाना

सोलुखुम्बुको नाम्चेबजारमा बिहीबार हावाहुरीले घरको छाना उडाएको छ।

काठमाडौँ– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चेबजारमा हावाहुरीले घरको छाना उडाएको छ।

बिहीबार बिहानदेखि लगातार चलेको हावाहुरीका कारण नाम्चे बजारका विभिन्न घरको छाना र सोलार प्यानलमा क्षति पुगेको हो।

इलाका प्रहरी कार्यालय नाम्चेका अनुसार बिहीबार दुई बजेतिर चलेको हावाहुरीका कारण दुई जनाको घरको टिनको छाना उडाएको छ। त्यस्तै दुई वटा होटल गरी चार जनाको सोलार प्यानलमा क्षति पुगेको छ।

नाम्चे बजारका पासाङ ल्हामु शेर्पाको ढुंगामाटोले बनेको टिनको छानो भएको दुईतले घरको र लामा काजी शेर्पाको भुईंतले घरको टिनको छाना उडाएको प्रहरीले जनाएको छ।

त्यस्तै, निमा नुरु शेर्पा, सोनाम दावा शेर्पा, दोर्जे लामाको खङ्ग्री होटल एन्ड लज र आङ नुरु शेर्पाको होली डे होटल एन्ड लजको सोलार प्यानलमा क्षति पुगेको छ।