प्यालेस्टिनी लडाकु समूहका पूर्वनेता जकरिया जुबेदी इजरायल र हमासबीचको गाजा युद्धविराम सम्झौताअन्तर्गत रिहा भएका छन्।
धेरै इजरायलीको ज्यान जाने गरी भएको आक्रमणका लागि जेल परेका प्यालेस्टिनी लडाकु समूहका पूर्वनेता जकरिया जुबेदी बिहीबार इजरायल र हमासबीचको गाजा युद्धविराम सम्झौताअन्तर्गत रिहा भएका छन्।
दोस्रो इन्तिफादा (प्यालेस्टिनी विद्रोह)को समयमा सन् २००० को दशकको शुरूमा ४९ वर्षीय जुबेदी प्रख्यात भए। कब्जा गरिएको वेस्ट बैंकको जेनिन र यसको शरणार्थी शिविरका सबैभन्दा चर्चित लडाकु नेताहरूमध्ये एक मानिन्थे।
यही विद्रोहका क्रममा इजरायली सेनाले शिविरमा छापा मार्दा जुबेदीकी आमाको गोली लागेर मृत्यु भएको थियो।
उनलाई इजरायली सुरक्षा सेवाले इजरायलीविरुद्ध अति घातक, भीआईपीमाथिको आक्रमण पछाडिका व्यक्तिका रूपमा चिन्छन्।
जुबेदी सन् १९८९ मा १४ वर्षको उमेरमा जेल परेपछि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फताह पार्टीमा सक्रिय भएका थिए।
सन् १९९० मा इजरायली सेनामाथि ढुंगा र पेट्रोल बम फ्याँकेको आरोपमा पुनः पक्राउ परेका उनी पदसोपान हुँदै अन्ततः जेनिनमा फतहको सशस्त्र विङ अल–अक्सा मार्टर्स ब्रिगेडको नेता बने।
सन् १९९४ मा ओस्लो सम्झौताअन्तर्गत फेरि रिहा भएपछि उनी अन्य पूर्वकैदीसँगै वेस्ट बैंक शहर जेरिकोमा नवनिर्मित प्यालेस्टिनी प्राधिकरणको सुरक्षा फौजमा सामेल भएका थिए।
सन् २००१ मा जुबेदी एक ‘सैन्य मिसन’का क्रममा भएको आकस्मिक विस्फोटमा घाइते भएका थिए। उनको अनुहार र आँखामा अझै पनि गम्भीर जलनका खत देख्न सकिन्छ।
आफ्ना हतियार प्यालेस्टिनी प्राधिकरणलाई बुझाउन सहमत नभएसम्म निरन्तर लडाकु गतिविधिका कारण लुक्न बाध्य जुबेदी सन् २००७ सम्म फरार रहे। बीचनमा जुबेदीको नाम इजरायलको वान्टेड सूचीबाट हटाइयो। तर सन् २०११ मा इजरायलले अज्ञात कारणका लागि जुबेदीको माफी फिर्ता लियो। रमल्लाह नजिकैको बेइट इलको इजरायली बस्तीनजिकै धेरै गोली हानाहानमा संलग्न भएको आरोपमा उनलाई सन् २०१९ मा पक्राउ गरिएको थियो।
उनले इजरायलद्वारा गरिएका धेरै हत्या प्रयासबाट आफू बच्न सफल भएको दाबी गरेका छन्। यसले उनलाई लक्ष्यीकरणबाट बच्ने क्षमताका लागि ‘द ब्ल्याक र्याट’को उपनाम दिएको बताइन्छ।
प्यालेस्टिनीमध्ये जुबेदीलाई जेनिनमा एक शक्तिशाली व्यक्तिका रूपमा चिनिन्छ। साथै सन् २०२१ मा इजरायलको उच्च–सुरक्षा गिल्बोआ जेलबाट भाग्न सफल भएका केही कैदीमध्ये एकका रूपमा चिनिन्छन्।
अन्य पाँच जना कैदीसँगै उनी जेलको पर्खालमुनि खनिएको सुरुङबाट भागे तर पाँच दिनपछि पुनः समातिए।
जुबेदी जेनिन रंगमञ्चमा पनि संलग्न भए। यो सन् १९५० को दशकको शुरूमा इजरायलको निर्माणमा आफ्नो घरबाट भागेका प्यालेस्टिनीलाई आतिथ्य गर्न सिर्जना गरिएको घना शरणार्थी शिविर हो।
बालक छँदा उनी आफ्नो परिवार बस्ने भवनमा रहेको शिविरका युवाका लागि इजरायली कार्यकर्ता अर्ना मेर–खामिसले स्थापना गरेको सामुदायिक स्थान र रंगमञ्च अर्ना हाउसका गतिविधिमा सामेल भए।
सन् २००२ को छापामा इजरायली सेनाले सामुदायिक प्लेहाउसलाई नष्ट गरिदियो। यसलाई पछि पुनर्निर्माण गरी फ्रिडम थिएटरको नाम दिइयो।
सन् २००७ को माफीपछि जुबेदी जेनिन फर्किए र फेरि शिविरको रंगमञ्चमा संलग्न भए। यही अवधिमा उनी प्यालेस्टिनी प्राधिकरणको खुला आलोचक पनि बने।
जेलमा रहेका वर्षहरूमा जुबेदीका तीन भाइ र उनका छोरा मुहम्मद इजरायली सेनाद्वारा मारिए।
जुबैदीनिकट स्रोतका अनुसार रिहा भएपछि उनको पहिलो योजना आफ्नो छोराको चिहानमा पुग्ने रहेको छ। छोराको अन्त्येष्टिका बेला उनी जेलमा भएका कारण अन्त्येष्टिमा उपस्थित हुन सकेका थिएनन्। –रासस/एएफपी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
