सक्खर बनाउन व्यस्त छन् पिप्लेबेँसीका किसान

२०३८ सालमा स्थानीय किसान मिलेर खरिद गरेको फलामे मेसिन छ। यही मेसिनमा हल गोरुको सहारामा उखु पेल्छन्। त्यसबाट निस्केको रस ठूलो फलामे कराहीमा पकाएर सक्खर बनाउँछन्।

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनिडाँडास्थित पिप्लेबेँसीमा १६ परिवारको बसोबास छ। सुनकोशी किनारमा पर्ने यस गाउँमा पुर्खाकै पालादेखि उखुखेती हुन्थ्यो। हाल पनि यहाँका १० परिवारले यो खेती गरिरहेका छन्। 

यहाँका किसानले उखु बेच्दैनन्। त्यसलाई पेलेर सक्खर बनाएपछि मात्रै बजारमा पठाउँछन्। २०३८ सालमा स्थानीय किसान मिलेर खरिद गरेको फलामे मेसिन छ। यही मेसिनमा हल गोरुको सहारामा उखु पेल्छन्। त्यसबाट निस्केको रस ठूलो फलामे कराहीमा पकाएर सक्खर बनाउँछन्। अचेल यस्तै काममा व्यस्त छन् यहाँका किसान।

स्थानीय कृषक बृहस्पति कार्कीले मेसिनमा पेलेर निस्किएको रस पकाउने र त्यसबाट बनेको खुदोलाई पुनः आगोको भुंग्रोमा पकाएर परम्परागत रूपमा सक्खर बनाउने काम यहाँको पुर्ख्यौली पेसाका रूपमा रहेको बताए। “फलामे मेसिन सबैको पायक पर्ने ठाउँमा जडान गरेर पालैपालो उखु पेल्ने गरिएको छ। आजपर्यन्त त्यसैको प्रयोग गरिरहेका छौँ,” उनले बताए। 

यस मेसिनमा किसानले बिहान र दिउँसो पालैपालो हल गोरुसहित उखु पेल्ने गरेका छन्। यसरी उत्पादित सक्खरको डल्ला बनाएर बिक्री गर्ने गरिएको कार्कीले जानकारी दिए। यहाँ ८०० रुपैयाँमा एक धार्नी बिक्री हुने गरेको छ। 

अर्का किसान कण्ठ कार्कीले यस वर्ष करिब ६ क्विन्टल सक्खर उत्पादन हुने अनुमान गरिएको बताए। “एक रोपनी जग्गामा लगाएको उखुबाट सक्खर बनाएर बिक्री गर्दा १ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। यसरी वार्षिक ४ लाख रुपैयाँसम्म आम्दानी हुन्छ,” कार्कीले भने, “उत्पादित सक्खर बिक्रीका लागि बजारको कुनै समस्या छैन। बरु मागअनुसार उत्पादन गर्न सकिएको छैन। उखुखेती विस्तार गर्ने योजनामा छौँ।”

सुक्खाग्रस्त क्षेत्रमा पर्ने वडा नं १ र वडा नं ११ राजापानीको भाँडबेँसीमा मात्र सक्खर उत्पादन हुने गरेको छ। यस नगरपालिकामा उखुसँगै गहत, जुनेलो, बदाम, कपासलगायत परम्परागत कृषिखेती हुँदै आएको छ। ११ वडा रहेको उक्त नगरपालिकामा परम्परागत रूपमा किसानले गर्दै आएको रैथाने बाली प्रवर्द्धनका लागि नगरपालिकाले अनुदान उपलब्ध गराउँदै आएको छ। 

सोही नीतिअनुसार भाँडबेँसीमा उखु किसानलाई लक्षित गरी नगरपालिकाले उखु पेल्ने मेसिन उपलब्ध गराएको नगर उपप्रमुख रमेश राउतले जानकारी दिए। रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई सहयोग दिने गरिएको उनको भनाइ छ।