रास्वपाले गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार

बैठक शुरू भएलगत्तै रास्वपाका सांसदले उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेले कार्यसूचीमा अघि बढ्न सहयोगका लागि रास्वपा सांसदसँग अनुरोध गरेका थिए।

काठमाडौँ– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। सभामुख देवराज घिमिरेले आफूहरूको कुरा नसुनेको भन्दै रास्वपाले बैठक बहिष्कार गरेको हो। 

विरोधकाबीच सभामुखले बैठक अघि बढाएपछि रास्वपा सांसद बैठकबाट बाहिरिएका छन्। यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा सम्बोधन गरिरहेका छन्।

बैठक शुरू भएलगत्तै रास्वपाका सांसदले उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेले कार्यसूचीमा अघि बढ्न सहयोगका लागि रास्वपा सांसदसँग अनुरोध गरेका थिए। बैठकमा दलीय आधारमा समय निर्धारण गरेर विचार राख्ने व्यवस्था गरेकाले सोहीअनुसार बैठक सञ्चालनका लागि सहजीकरण गर्न उनले आग्रह गरेका थिए। 

“हामीले बैठकको कार्यसूचीबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा पर्याप्त छलफल गरेका छौँ। निर्धारण भएको कार्यसूचीअनुसार दलीय आधारमा सबैले आफ्ना कुरा राख्न पाउनुहुन्छ। तपाईंहर आफ्नो आसनमा बसेर सभा सञ्चालनका लागि सहयोग गरिदिनुस्,” सभामुख घिमिरेले भने। 

रास्वपा सांसदहरूले आफ्ना कुरा राख्न आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेका छन्। सभामुख घिमिरेले सबै दलहरूलाई बोल्नका लागि दलीय आधारमा समय निर्धारण भएकाले तोकिएको सोही समयमा आफ्ना कुरा राख्न आग्रह गरे। त्यस्तै, नियमित बैठक र अधिवेशनको शुरूआती बैठकको फरकबारे पनि उनले ध्यानाकर्षण गराएका थिए।