चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएको चिरीबाबुको दाबी

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको गलत डिजाइनले कुसुन्तीमा १८ र धोबीघाटमा ३२ जनालेले ज्यान गुमाएको दाबी गरेका छन्।

ललितपुर– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएको दाबी गरेका छन्।

शुक्रबार ललितपुर महानगरको वडा नं १३ र १४ को सिमानाबाट वडा नं २५ लाई जोड्ने नख्खुखोला पुलको उद्घाटनका अवसरमा महानगरप्रमुख महर्जनले वडा नं १३ मा पर्ने कुसुन्तीमा १८ जना र वडा नं ३ मा पर्ने धोबीघाटमा ३२ जनाले ज्यान गुमाएको उल्लेख गर्दै समस्या समाधानका लागि अपांगतामैत्री पुल निर्माणका लागि महानगरपालिकाले अग्रसरता लिएको बताए।

“हामीले शुरूमै चक्रपथको डिजाइन गलत छ भनेका थियौँ, ललितपुर खण्डमा पर्ने ७.९ किलोमिटर सडकमा बत्ती नहुँदा रातको समयमा धेरैले ज्यान गुमाएका छन्, चक्रपथको धोबीघाटमा मात्रै ३२ जनाले ज्यान गुमाउनुपरेको छ, सरकारले सुधार गर्न अनुमति नदिएका कारण समस्या भएको छ, तर हामी प्रयासरत छौँ”, उनले भने। 

उनले नख्खुमा बनेको पुल उद्घाटन गर्दै सम्पदा र संस्कृतिको सहरका नागरिकलाई सहज दैनिकीका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले कुसुन्तीमा नेपालमै पहिलो पटक लिफ्टसहितको अपांगतामैत्री पुल निर्माण हुने बताए। उनले पाटन अस्पतालको मुख्य गेटमा भएको ट्राफिक समस्या समाधानका लागि पुल निर्माणका लागि डिजाइन भएको समेत जानकारी दिए।

“समस्या समाधानका लागि पुल निर्माणका लागि जग्गाका लागि सञ्चय कोष र मानसिक अस्पतालसँग कुरा भइरहेको छ”, उनले भने, “ललितपुर महानगर क्षेत्रमा पर्ने ७.९ किलोमिटरभित्र दुर्घटना अन्त्य गर्न ६ देखि नौ महिनाभित्र सडक बत्ती राख्छौँ।”

महानगरका प्रवक्ता एवं वडा नं ९ का अध्यक्ष राजु महर्जनले यस वर्ष तीन वटा पुल निर्माण हुने जानकारी दिए। वडा नं १४ का अध्यक्ष अमृजङ्ग महतले पनि नख्खु खोलामा निर्माण भइरहेको पुल छिट्टै सम्पन्न हुने बताए। वडा नं १३ का अध्यक्ष गणेश केसीले यो पुल निर्माणले नख्खुको जाम कम गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरे।

महानगरका इन्जिनियर प्रदीप पौडेलले विसं २०७९ भदौ १३ मा पुल निर्माणका लागि सम्झौता काम शुरू भई गत मंसिर २० गते सम्पन्न भएको जानकारी दिए। निर्माण कम्पनी तामाङ मरिन कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको मोटरेबल पुलको लागत तीन करोड तीन लाख ६१ हजार आठ सय ५३ रुपैयाँ ३१ पैसा छ।