निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको छ।

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो।

निगमका अनुसार शुक्रबार मध्यरातदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोल दुई, डिजेल/मट्टितेल चार रुपैयाँ बढाइएको हो। त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका प्रतिकिलोलिटर अमेरिकी डलर ४३ का दरले बढाइएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६४.५०, दोस्रो वर्ग १६६, तेस्रो वर्ग १६७ रुपैयाँ कायम भएको छ। त्यस्तै, डिजेल/मट्टितेल पहिलो वर्षमा १५७.५०, दोस्रो वर्ग १५९, तेस्रो वर्ग १६० रुपैयाँ कायम भएको छ।

पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गमा सुर्खेत र दाङ र तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल रहेका छन्। निगमले एलपी ग्यासको मूल्य हाललाई यथावत् राखेको छ।

इन्डियन आयल कर्पोरेसनबाट शुक्रबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोल १.५९, डिजेल ३.५७ तथा हवाई इन्धन ५.७० रुपैयाँले बढेर आएको निगमको भनाइ छ।