काभ्रेका ३ नगरमा खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख लाग्ने

धुलिखेल, बनेपा र पनौतीले असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त आयोजना मर्मतका लागि संघीय सरकारसँग २८ करोड ६५ लाख ३१ हजार ६४८ रुपैयाँ सहयोग माग गर्ने निर्णय गरेका छन्।

काभ्रेपलान्चोक– जिल्लाका तीन नगरपालिका समेटिएको काभ्रे–उपत्यका एकीकृत खानेपानी आयोजना मर्मतका लागि संघीय सरकारसँग सहयोग माग गर्ने निर्णय गरिएको छ।

जिल्लास्थित धुलिखेल, बनेपा र पनौतीका नगरप्रमुखको संयुक्त बैठकले गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त आयोजना मर्मतका लागि संघीय सरकारसँग २८ करोड ६५ लाख ३१ हजार ६४८ रुपैयाँ सहयोग माग गर्ने निर्णय गरेको हो।

धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जू, बनेपाका शान्तिरत्न शाक्य र पनौतीका रामशरण भण्डारीबीच भएको बैठकले सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजनामा भएको क्षतिको मर्मतका लागि भएको मूल्यांकनअनुसार संघीय सरकारअन्तर्गत खानेपानी मन्त्रालयमा बजेट व्यवस्थापन र कार्यान्वयनका लागि अनुरोध गर्ने निर्णय गरेको हो।

केही दिनमा सरकारसँग बजेट माग गर्ने प्रक्रिया अघि बढाइने आयोजनाको बोर्डका संयोजकसमेत रहनुभएको नगरप्रमुख ब्याञ्जूले बताउनुभयो । उहाँका अनुसार आयोजनाको पनौतीमा रहेका गुड्गुडे, खारखोला, बैरा–महादेव र मूलडोलको पानी संकलन गर्न बनाइएको इन्टेक र वितरण प्रणालीका मुख्य तथा शाखा पाइप लाइनमा बाढीले क्षति पुर्‍याएको थियो। 

निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले क्षतिग्रस्त भएपछि पुनः निर्माणका लागि एशियाली विकास बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिए। तीन नगरका उपभोक्तालाई खानेपानी पुर्‍याउने उद्देश्यले निर्माण थालिएको उक्त आयोजनाको यसअघि करिब ९८ प्रतिशत काम सकिएको थियो। करिब एक अर्ब रुपैयाँको लगानी रहेको उक्त आयोजनामा बाढीले क्षति पुर्‍याएपछि निर्माण ढिलाइ भएको हो।

संघीय सरकार र एशियाली विकास बैंक (एडीबी)बीच सन् २०१२ डिसेम्बर १९ मा सन् २०१५ जुन १२ मा निर्माण सक्नेगरी ऋण सम्झौता गरिएको उक्त आयोजना समय सकिएको १० वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। आयोजना सम्पन्न भएपछि तीन नगरका करिब ९३ हजारले खानेपानी सुविधा पाउनेछन्।

यसैबीच, धुलिखेल नगरमा सञ्चालित खानेपानी आयोजनालाई जर्मन सरकारले एक लाख युरो सहयोग गर्ने भएको छ। जर्मन सहयोग नियोग (जीआईजेड)मार्फत नेपालस्थित दूतावासले एक करोड ४२ लाख २५ हजार रुपैयाँ रकम सहयोग गर्न नगरप्रमुख ब्याञ्जू र जीआईजेडका तर्फबाट तीर्थ सिन्हाले गत पुस अन्तिम साता सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

ब्याञ्जूका अनुसार उक्त रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ। बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता तथा सदरमुकामस्थित सरकारी कार्यालय तीन महिनादेखि खानेपानीविहीन अवस्थामा छन्।