कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते

भारतको बिहारस्थित मुजफ्फरपुरमा महाकुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना हुँदा पाँच नेपाली तीर्थयात्रीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

काठमाडौँ– भारतको बिहारस्थित मुजफ्फरपुरमा गाडी दुर्घटना हुँदा पाँच नेपाली तीर्थयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वरुणबहादुर सिंहका अनुसार उत्तर प्रदेशको प्रयागराजमा लागेको महाकुम्भ मेलाबाट फर्कने क्रममा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको र चार जना घाइते भएका हुन्।

मृत्यु हुनेहरूमा ४५ वर्षीया मन्तर्णी देवी, ३० वर्षीया अर्चना ठाकुर, ६० वर्षीया बालकृष्ण झा, ५५ वर्षीया इन्दु देवी र गाडीका चालक रहेका छन्।

त्यस्तै, ३० वर्षीया मनोहर ठाकुर, २५ वर्षीया कामिनी झा, ७ वर्षीया सृष्टि ठाकुर र ५० वर्षीया जगतरण देवी गम्भीर घाइते भएका छन्। उनीहरू सबै महोत्तरी जिल्लाका बासिन्दा हुन्।

मोटरसाइकललाई बचाउन खोज्दा ९ जना नेपाली तीर्थयात्री बोकेको भारतीय नम्बर बीआर ३२ पीए ४६६१ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकमा पल्टिएको भारतीय सञ्चालमाध्यमले जनाएका छन्। 

चालकले मोटरसाइकललाई बचाउन तीव्र रूपमा मोड्दा गाडी सडकमा पल्टिएको मुजफ्फरपुरका प्रहरी डेपुटी सुपरिटेन्डेन्ट विनीता सिन्हाले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै बताएको भारतीय सञ्चारमाध्यम पीटीआईले जनाएको छ।

“पाँच जनाको घटनास्थलमै मृत्यु भयो भने बाँकी चार जना गम्भीर घाइते भएका छन्,” उनले भनिन् “उनीहरूलाई पटनाको अस्पतालमा रेफर गरिएको छ।”