टिपतालासम्मको मोटरसाइकाल यात्रा सफल भएसँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए।
फुङ्लिङ– समुद्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिपताला भन्ज्याङसम्म मोटरसाइकल यात्रा गरिएको छ। ताप्लेजुङका स्थानीय चन्द्र माबोले तमोर करिडोरबाट पहिलोपटक तिब्बतसँगको सीमाना टिपतालासम्म मोटरसाइकल यात्रा गरेका हुन्।
तमोर करिडोरले नेपाललाई भारत र चीनसँग जोडेको छ। भारतको जोगबनीबाट शुरू हुने यो करिडोर टिपतालामा चीनको तिब्बतसँग जोडिन्छ। हालै ओलाङचुङगोला बोलेरो गाडी सञ्चालनमा आएपछि थप २४ किलोमिटर कठिन हिमाली सडक पार गर्दै टिपताला भन्ज्याङसम्म मोटरसाइकल पुगेको हो।
फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका स्थानीय तथा कार्यपालिका सदस्य टासी शेर्पाले टिपतालासम्म गाडी पहिल्यै पुगे पनि मोटरसाइकलले पहिलोपटक पुगेको बताए। “ओलाङचुङगोलासम्म मोटरसाइकल आइपुगेका थिए, तर टिपताला पुग्न सकेका थिएनन्,” उनले भने।
मोटरसाइकलयात्री माबोका अनुसार सुकेपानीबाट ओलाङचुङगोला खण्डसम्म मोटरसाइकल चलाउन कठिन छ। अझ ओलाङचुङगोलाबाट माथि थप जटिल छ। उच्च हिमाली क्षेत्र भएकाले अक्सिजन कम हुने, चिसो अत्यधिक हुने हुँदा चुनौतीपूर्ण हुने उनले बताए।
“अहिलेसम्म टिपताला भञ्ज्याङमा मोटरसाइकलमार्फत यात्रा गरेको छैन भन्ने सुनेको छु, यदि हो भने म नै पहिलोपटक टिपतालासम्म मोटरसाइकल यात्रा गर्नेमा पर्छु।”
टिपतालामा मोटरसाइकाल यात्रा सफल भएसँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा विकास हुने फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए। टिपताला क्षेत्र एक व्यापारिक केन्द्रसँगै पर्यटकीय गन्तव्य हो। यस क्षेत्रमा पहिलोपटक मोटरसाइकल पुग्नुले साहसिक पर्यटकको समेत नयाँ गन्तव्य बन्ने लिम्बूको भनाइ छ।
टिपताला भञ्याङ जाने क्रममा मौमाटार (चार हजार २०० मिटर) हुँदै उकालो यात्रा गर्नुपर्छ। सो क्षेत्रको सडक अप्ठ्यारो भएकाले गाडीसमेत चलाउन कठिन हुने चालक आइतराज थेबेले बताए। सडकमा हिउँ जमेर रहेकाले गाडी चिप्लिने जोखिम हुने गरेकाले सावधानीपूर्वक यात्रा गर्नुपर्ने थेबेको भनाइ छ।
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने टिपतालासम्म नेपाली गाडी र मोटरसाइकल पुगेपछि स्थानीय हर्षित भएका छन्। विशेषगरी ओलाङचुङगोला, याङ्मा र घुन्साका स्थानीयले सडक विस्तारले यातायात सहज बनाउने आशा राखेका छन्।
विराटनगर रानीबाट तमोर करिडोर हुँदै उत्तर–दक्षिण लोकमार्गमार्फत तिब्बतसँगको सिमाना टिपताला जोडिएको छ। २९२ किलोमिटर लामो यो सडकलाई भारत, नेपाल र चीन जोड्ने छोटो मार्गका रूपमा लिइन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
