नेप्से परिसूचक ६९ अंकले बढ्यो, १२ अर्ब ९५ करोडको शेयर कारोबार

आइतबार नेप्से परिसूचक ६९.८० अंक अर्थात् २.६२ प्रतिशतले बढेर २७२७.५८ को बिन्दुमा कायम भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ। आइतबार नेप्से परिसूचक ६९.८० अंक अर्थात् २.६२ प्रतिशतले बढेर २७२७.५८ को बिन्दुमा कायम भएको हो।

आइतबार २०२ कम्पनी शेयर मूल्य बढ्दा ३७ कम्पनीको घटेको छ भने तीन वटाको स्थिर रहेको छ। यस दिन विभिन्न ३३० कम्पनीको दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर एक लाख ३० हजार ९१३ पटक खरिद बिक्री भयो। जसबाट १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

यस दिन सबै समूहको उपसूचक बढेर हरियाली छाएको छ। सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक ४.९२ प्रतिशतले बढेको छ।

यस दिनको कारोबारमा सात वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटामा नकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्ने अधिकांश कम्पनी लघुवित्त छन्।

नेप्सेका अनुसार उन्नति सहकार्य लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भूगोल इनर्जी डेभेलपमेन्ट, ग्रामीण विकास लघुवित्त र एनएमबी माइक्रो फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। त्यस्तै, सामुदायिक लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

यस दिन कारोबारका आधारमा एनआरएन इन्फाइस्टक्चरको ४१ करोड ९७ हजार दुई लाख ५२ रुपैयाँको शेयर किनबेच भएको छ।