एआई प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र

बेलायतले यौन दुर्व्यवहारजन्य तस्वीर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणलक्षित नयाँ कानूनको घोषणा गरेको छ।

बेलायत सरकारले शनिबार यौन दुर्व्यवहारजन्य तस्वीर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणलक्षित नयाँ कानूनको घोषणा गरेको छ। ‘एआईको दुरूपयोग गरी बालयौन दुर्व्यवहारजन्य तस्वीर बनाउने’ कार्यलाई अपराध घोषणा गर्ने बेलायत विश्वकै पहिलो मुलुक बनेको हो।

बालबालिकाको यौनिक तस्वीर निर्माणका निम्ति बनाइएका एआई उपकरण राख्ने, सिर्जना गर्ने या वितरण गर्ने कार्यलाई सरकारले गैरकानूनी घोषणा गरेको गृहसचिव यवेट कूपरले बताइन्।

उनका अनुसार मानिसहरूलाई बालबालिकालाई यौन दुर्व्यवहार गर्न एआई कसरी प्रयोग गर्ने भनेर सिकाउने एआई ‘पीडोफाइल म्यानुअल’ राख्नु पनि अवैध हुनेछ। यसो गरेमा तीन वर्षसम्म जेल सजाय हुन सक्छ।

गृहसचिव कूपरले आइतबार स्काई न्यूजसँग भनिन्, “अनलाइनमा बालयौन दुर्व्यवहार सामग्री बढ्दो छ। किशोरकिशोरीलाई अनलाइनमार्फत एआईको प्रयोग गरी यौनिक गतिविधि सिकाउने कार्य पनि भइरहेको छ। यो वास्तवमा एक दुःखद कुरा हो। एआईले यसलाई ‘स्टेरोइड’मा राखिरहेको छ।”

उनका अनुसार एआई उपकरणले अपराधीलाई ‘किशोरकिशोरीको झूटो छवि तयार गर्न’ सजिलो बनाइरहेको छ। साथै, उनीहरूले बालबालिकाको छवि हेरफेर गरी किशोरकिशोरीलाई आकर्षित गर्न र थप दुर्व्यवहारमा फसाउन एआईलाई प्रयोग गरिरहेका छन्। “यो सबैभन्दा घृणित अपराध हो,” उनले भनिन्। 

नयाँ कानूनले ‘बाल दुर्व्यवहारका लागि प्रयोग भइरहेका’ केही एआई मोडेलमा प्रतिबन्ध लगाउने उनको भनाइ छ। “अन्य देशले अझै यो (कानून बनाउने काम) गरिरहेका छैनन्, तर मेरो विचारमा अब उनीहरूले यसलाई पछ्याउनेछन्,” उनले भनिन्।

बालबालिकाको वास्तविक जीवनका तस्वीरलाई ‘नग्न’ बनाएर या ‘अन्य बालबालिकाको अनुहारलाई विद्यमान तस्वीरमा जोडेर’ बालयौन दुर्व्यवहारका तस्वीरहरू सिर्जना गर्न एआई औजारको प्रयोग भइरहेको बेलायतले जनाएको छ।

नयाँ कानूनले ‘अन्य पीडोफाइल’का लागि डिजाइन गरिएको वेबसाइट सञ्चालन गर्ने व्यक्तिलाई पनि अपराधी ठहर गर्नेछ। “हालैको एक अनुसन्धानले बेलायतमा हरेक वर्ष लगभग पाँच लाख बालबालिका कुनै न कुनै रूपमा दुर्व्यवहारको सिकार हुने गरेको पत्ता लगाएको छ,” कुपरले आइतबार बीबीसीसँग भनिन्, “यी उपायलाई संसद्मा ‘क्राइम एन्ड पोलिसिङ बिल’को एक भागका रूपमा प्रस्तुत गरिनेछ।” 

इन्टरनेट वाच फाउन्डेसन (आईडब्लूएफ)ले यौन दुर्व्यवहारका घटनामा बालबालिकाको एआई तस्वीर उत्पादन भइरहेको भन्दै चेतावनी दिएको छ। सन् २०२४ मा ३० दिनको अवधिमा आईडब्ल्यूएफका विश्लेषकले एउटै डार्क वेब साइटमा तीन हजार ५१२ एआई–निर्मित बालदुर्व्यवहारसम्बन्धी छवि पहिचान गरेका थिए। सबैभन्दा गम्भीर श्रेणीका तस्वीरको संख्या पनि एक वर्षमा १० प्रतिशतले बढेको छ।