केयू भीसी छनोट समिति संयोजकमाथि कारबाही गर्न प्रधानमन्त्रीलाई पत्र

काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट समितिमाथि प्रश्न उठाउँदै उपकुलपतिका सात जना उम्मेदवारले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई पत्र बुझाएका छन्।

काठमाडौँ– काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट समितिमाथि प्रश्न उठाउँदै उपकुलपतिका उम्मेदवारले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई पत्र बुझाएको पाइएको छ। नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न बनेको खोज तथा सिफारिस समितिमाथि प्रश्न उठाउँदै सात जना उम्मेदवारले कुलपतिलाई पत्र लेखेका हुन्। पत्र माघ १५ गते प्रधानमन्त्रीको निजी सचिवालयमा दर्ता भएको छ।

उपकुलपतिका उम्मेदवार प्राध्यापक हरिप्रसाद न्यौपाने, धीरेज गिरी, वेदमणी दाहाल, बालचन्द्र लुइँटेल, श्यामनारायण लाभ, कन्हैया झा, विभूतिरञ्जन झाले समितिमाथि कारबाही गर्न माग गरेका हुन्।

उनीहरूले पत्रमा समिति संयोजकका दुई नातेदारको आवेदनमाथि प्रश्न उठाएका छन्। समितिले नयाँ उपकुलपतिका लागि आवेदन दिने १७ जनामध्ये १६ जनाको नाम सार्वजनिक गरिएको थियो। त्यसमा सिफारिस समिति संयोजकका नातेदारसमेत छन्। उपकुलपतिका लागि दरखास्त दिने प्राडा. नवीन पोखरेल छनोट समितिका संयोजक सुरेशराज शर्माका नातेदार र प्राडा. मनीष पोखरेल भान्जा हुन्। कार्यविधिको दफा १२ अनुसार समितिका सदस्यका नजिकका नातेदारले दरखास्त दिए ती सदस्य मूल्यांकन प्रक्रियामा सहभागी हुन मिल्दैन।

समितिले उनीहरूको आवेदन स्वीकृत गर्नु कार्यविधि विपरीत भएको उम्मेदवारहरूले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ। “सिफारिस समिति आफैले जारी गरेको कार्यविधिअनुसार नै सुम्पिएको कार्य गर्ने सन्दर्भमा उक्त समितिका संयोजकका दुई जना भान्जाहरू आवेदक भइरहँदा पनि प्रारम्भिक आवेदनको छनोटमा उहाँहरू पर्नुबाट समितिले कार्यविधिका परिधिमा रही कार्य सम्पन्न गरेको देखिएन,”  पत्रमा भनिएको छ।

उम्मेदवारहरूले प्रधानमन्त्रीलाई लेखेको पत्र।

उनीहरूले अर्को समितिका संयोजक सुरेशराज शर्मामाथि प्रश्न उठाएका छन्। समितिका संयोजक शर्माले प्रधानमन्त्री एवं कुलपतिलाई माघ ०४ गते पत्र लेखेर निवर्तमान उपकुलपति डा. भोला थापालाई कामु उपकुलपति बनाउन आग्रह गरेको थियो।थापाको पदावधि माघ ०७ गते सकिँदै थियो। तर समितिका संयोजक शर्माले कुलपतिलाई तीन दिनअगाडि पत्र लेखे थापालाई कामु उपकुलपति बनाउन भनेपछि ‘थापालाई भीसी बनाउन छनोट समितिका संयोजक लागेको’ भन्दै प्रश्न उठेको थियो।

कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले माघ ७ गते रजिस्ट्रार प्राडा. अच्युतप्रसाद वाग्लेलाई कामु उपकुलपतिको जिम्मेवारी तोके। यही कुरालाई उपकुलपतिका उम्मेदवारले विश्वविद्यालयको विधिविधानले स्पष्ट गरेको प्रावधानमा अनधिकृत प्रवेश गरेको आरोप लगाएका छन्। सिफारिस गर्ने संयोजकले निष्पक्षता र पारदर्शितामा गर्न नसक्ने उनीहरूले तर्क गरेका छन्।

“विश्वविद्यालयको विद्यिविधानले स्पष्ट गरेको प्रावधानमा अनधिकृत प्रवेश गरी अन्यथा सिफारिस गर्ने संयोजकले निष्पक्षता र पारदर्शिता कायम गरेर विश्वविद्यालयको हितमा हुने गरी उपकुलपतिको नाम सिफारिस गर्ने आधार देखिएन,” पत्रमा भनिएको छ।उनीहरूले पत्रमा समितिका संयोजक शर्माको कार्यशैली ‘भान्जाहरू र निवर्तमान उपकुलपति थापाको अनुकूल भएको र अन्य उम्मेदवारप्रति पूर्वाग्रही व्यवहार गरेको’ भन्दै कारबाही गर्न माग गरेका छन्।

सुरे‍शराज शर्माले प्रधानमन्त्रीलाई लेखेको पत्र। 

प्रधानमन्त्रीको निजी सचिवालय (द.नं....५८४२) दर्ता भएको पत्रमा भनिएको छ, “समितिका संयोजकको कार्यशैली तथा उहाँमा देखिएको भान्जाहरू तथा निवर्तमान उपकुलपति मोहले सिफारिस प्रक्रियामा उपकुलपतिका अन्य उम्मेदवारहरूप्रति पूर्वाग्रही व्यवहार हुने देखिँदा कुलपति तथा प्रधानमन्त्रीज्यूसमक्ष ध्यानाकर्षणसहित यस विषयमा आवश्यक कारबाहीका लागि अनुरोध गर्दछौँ।”

उनीहरूले समितिले जारी गरेको काठमाडौँ विश्वविद्यालयको ‘उपकुलपति खोज तथा सिफारिससम्बन्धी कार्यविधि २०८१’ अनुसार हालका दिनसम्म पनि प्रारम्भिक छनोट तालिकासम्म ननिकालेर ‘यदि’ ‘तर’, ‘पनि’ जस्ता ‘शब्दजाल’मा अल्झिएर प्रक्रिया थप लम्ब्याएको आरोप लगाएका छन्। यसले विश्वविद्यालय नेतृत्वविहीन बनाएर विश्वविद्यालयप्रति नकारात्मक धारणा बढेको उम्मेदवारहरूको तर्क छ।

यो पनि : केयूमा उपकुलपति नियुक्ति विवादले देखाएको विकृतिः स्वार्थ समूहको द्वन्द्व, दलीय राजनीतिको घनचक्कर