सेट्टेबाजीमा ३ अर्ब ४ करोडको कारोबार, १० भारतीय नागरिकसहित २४ जना पक्राउ

‘बेटिङ एप्लिकेसन’मार्फत सट्टेबाजीमा तीन अर्ब रुपैयाँ बढी करोबार गरेको आरोपमा प्रहरीले सानेपाबाट १० भारतीय नागरिकसहित २४ जनालाई पक्राउ गरे‍को छ।

काठमाडौँ– ‘बेटिङ एप्लिकेसन’मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अवैध अनलाइन जुवा (सट्टेबाजी) लगायतमा तीन अर्ब रुपैयाँ बढी करोबारमा संलग्न २४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा १० भारतीय र १४ नेपाली नागरिक रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। 

पक्राउ पर्ने नेपालीमा प्यूठानका टंकबहादुर पछाई, रवि विष्ट, लक्ष्मण विष्ट, अविनाश जिसी, हरिबहादुर जिसी, समीर खड्का, विक्रम पछाई, अशोक जिसी, सुजन जिसी र गोपाल बिष्ट, डोटीका तेज बोगटी, सुर्खेतका भीष्म वली र हेमन्त लोहनी तथा दार्चुलाका हेमन्त धामी रहेका छन्।

पक्राउ पर्ने भारतीय नागरिकमा अजितकुमार, मुकेश मण्डल, मनोज कुमार, सुमित खत्री, प्रबात कुमार, ओमप्रकाश खत्री, रविप्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डेय र मनोजप्रकार कुमार छन्।

उनीहरूले आठभन्दा बढी ‘बेटिङ साइट’को प्रयोग गरी भारतीय बेटिङ खेल्ने ‘एजेन्ट’हरूसँग सामाजिक सञ्जालबाट सम्पर्क गरी ‘अफ लाइन’ अवैध खेल खेलाएको पाइएको छ।

यसरी हारजित भएको रकम भारतको विभिन्न बैंक खातामै जम्मा गर्ने र निकाल्ने गरी अनलाइन जुवा खेल्ने खेलाउने कार्य भइरहेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए। 

ललितपुरको सानेपास्थित दुई घर भाडामा लिएर व्यावसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने कार्य गरेको पाइएको छ। खोजतलासका क्रममा उनीहरूलाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो।

लगत्तै आइतबार नै उनीहरूलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाइएको छ। “बरामद गरिएका ल्यापटप तथा मोबाइलको प्रारम्भिक अनुसन्धान गर्दा उनीहरूले तीन अर्ब चार करोड ७३ लाख ५६ हजार रुपैयाँ बराबरको अनलाइन जुवामा कारोबार गरेको देखिएको छ,” प्रहरी उपरीक्षक आचार्यले भने।

उनीहरूमाथि मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद– ५ को दफा १२५ (जुवा खेल्न या सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा आवश्यक अनुसन्धान थालिएको छ। पक्राउ परेकाहरूका साथबाट विभिन्न मोडेलका ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान बैंकको एटिएम कार्ड, ८८ थान सिमर्कार्ड, १२ थान चेकबुक, आठ थान भारतीय आधारकार्ड र ६ थान राहदानी बरामद गरिएको छ।