डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई किन दिए चेतावनी?

दक्षिण अफ्रिकाले मानवअधिकार उल्लंघन गरेको भन्दै स्थितिको अनुसन्धान पूरा नभएसम्म सबै प्रकारका सहयोग रोक्का गर्ने बताएका छन्।

काठमाडाैँ– डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल सम्हाल्नेबित्तिकै धेरै देशमा कर लगाएका छन् र विदेशलाई दिइने सहायता रोकेका छन्।

अब ट्रम्पले दक्षिण अफ्रिकालाई सहयोग रोक्न चेतावनी दिएका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै यस्तो बताएका हुन्।

ट्रम्पले भनेका छन्, "दक्षिण अफ्रिकाले जमिन कब्जा गरिरहेको छ र केही वर्गका मानिसहरूलाई नराम्रो व्यवहार गरिरहेको छ। यो एकदमै नराम्रो अवस्था हो, जसबारे कट्टर वामपन्थी मिडियाले धेरै कुरा गरिरहेको छैन।"

उनले भनेका छन्, "सबैसामु ठूलो मात्रामा मानवअधिकार उल्लंघन भइरहेको छ, अमेरिकाले यो सहने छैन, त्यसविरुद्ध कारबाही गर्छ।"

राष्ट्रपति ट्रम्पले भनेका छन्, "स्थितिको अनुसन्धान पूरा नभएसम्म म दक्षिण अफ्रिकालाई दिँदै आएको सबै सहयोग रोक्का गर्नेछु।"

यसअघि डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाएका थिए। अमेरिकी सरकारको तथ्यांक अनुसार अमेरिकाले सन् २०२३ मा दक्षिण अफ्रिकालाई ४४ करोड डलर सहयोग गरेको थियो।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले गत महिना राष्ट्रपति ट्रम्पसँग दक्षिण अफ्रिकाको सम्बन्धको बारेमा आफू चिन्तित नभएको बताएका थिए। राष्ट्रपति रामाफोसाले जनवरीको अन्त्यमा चुनाव जितेपछि राष्ट्रपति ट्रम्पसँग कुरा गरेको र ट्रम्प प्रशासनसँग काम गर्न आतुर रहेको बताएका थिए।

आफ्नो पहिलो कार्यकालमा राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानको कथित ठूलो मात्रामा हत्या र भूमि अतिक्रमणको अनुसन्धान गर्ने वाचा गरेका थिए।